८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्ने खालका चलचित्र निर्माणमा जोड


0
Shares

काठमाडौं, मंसिर २७ । सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विदेशी चललिचत्रसँग प्रतिस्पर्धा गर्नसक्ने खालका नेपाली चलचित्र निर्माण गर्नेतर्फ ध्यानकेन्द्रित गर्नुपर्ने बताएका छन् ।

नेपाल चलचित्र विकास बोर्डको सोमबार निरीक्षणका क्रममा उनले ‘नेपालको भौगोलिक स्थिति, रहनसहन, हावापानी र विविध भाषाशैलीका कारण यहाँ जुनसुकै चलचित्र पनि उत्कृष्ट बनाउन सकिन्छ’–भने ।

पुराना चलचित्र संग्रह गर्नेतर्फ पनि विशेष ध्यान जानुपर्नेमा जोड दिँदै मन्त्री कार्कीले ‘बक्स अफिस’ निर्माणका लागि आवश्यक बजेट तर्जुमा भइसकेकाले यसतर्फ बोर्डको ध्यानाकर्षण गराए ।

सो अवसरमा सन्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले चलचित्र क्षेत्रमा लाग्नेहरुका लागि चलचित्रकर्मी वृत्तिकोष स्थापना गर्न जरुरी रहेको बताउँदै कोषमा रहेका रकमले वृद्धवृद्धा चलचित्रकर्मीका लागि मासिकरुपमा अनुदान दिने व्यवस्था गर्न सकिने बताए ।

उनले ज्येष्ठ कलाकारलाई अस्पताल, यातायातजस्ता सार्वजनिक संस्थामा सुविधा दिने गरी कोषको स्थापना हुनुपर्ने बताए ।

विकास बोर्डका कार्यकारी अध्यक्ष राजकुमार राईले नेपाली चलचित्रको संग्रह र बक्स अफिस निर्माण छिट्टै थालिने प्रतिबद्धता व्यक्त गरे । रासस