
-हरिविनोद अधिकारी
अनि भर्खर जन्मेको बच्चालाई बगाउनु भन्दा पहिले मलाई के विचार आयो भने यसै उसै बगाउने नै भएँ । हुन त त्यस्तोमा बच्चा मार्ने चलन पनि हुन्छ । म आफैं आफ्नो सबैभन्दा निर्णयकर्ता । तर अचानक भएको यो घटना घटाउने पनि सूर्य र अहिले सबै हेरिरहेका पनि सूर्य । उनले एउटा कुरामा भने मलाई सतर्क गराएका थिए-यसलाई नमार्नू किनभने तिमीले मारेर पनि यो मर्दैन । यो एउटा कुनै खास उद्देश्यले यो संसारमा आएको छ जुन कुरो मलाई थाहा छ, व्यासलाई थाहा छ, दुर्वासालाई थाहा छ र पछि तिम्रो भदाहालाई पनि थाहा हुनेछ । अब विस्तारै देवव्रतलाई पनि थाहा हुनेछ किनभने उनकै वंश नाशका लागि यो आएको हो । तर यो कुरा तिमीले बिर्सने छ्यौ । यो बाँच्ने छ । जे गर, अहिले यो मर्दैन । यसलाई हतियारले पनि काट्दैन । आगाले पनि पोल्दैन । पानीले पनि डुबाउँदैन । र तिमीले अहिले जे गर, यसलाई चिन्न सजिलो छ । यसका कानमा कुण्डल छन् । शरीरमा कबच छ र त्यो कबच नै छाला हो । उसका इच्छाबाहेक त्यो कसैले काड्न सक्दैन । भन्दै थिए तर अलप भए ।
सूर्य हेरिरहेका छन । म पहिलेभन्दा पनि ताजा महसुस गरिरहेकी थिएँ । एकदम ताजा तर मनमा चिन्ता छ कि अरुले देख्ने हुन् कि ? अघि खरायोका सानो बच्चाजस्तै उफ्रिंदै आएकी म अहिले एउटा बच्चासहित अनि एउटी वालिग महिलाजस्तै भएर कसरी अवतार लिई भनेर सबै छक्क पर्न सक्थे । मै भएकी भए पनि अरुलाई कसो भन्थेँ हुँली ? मलाई सूर्यले बलात्कार गरेको पनि होइन । मेरो मन्त्रको शक्ति बताएका मात्र थिए । प्रकृतिको लीला अनुशासनको पालना भगवान सूर्यले गर्नैै पर्ने । दुर्वासाले सूर्यसँग सल्लाह गरेर त मलाई तत्कालै वर माग्न भनेका थिएनन् होला नि ? तर साँच्चै गणित हो त मेरो जीवन ? पछि अरु तीनओटा छोरा पनि पाएँ । सबै एकभन्दा अर्को साहसी, वीर, दानशील र योद्धा । पछि माद्रीबाट जन्मेका पनि मेरै अंश हुन् किनभने माद्रीका लागि नभएर मेरो आह्वानमा अश्विनी कुमार आएका थिए । मलाई नै भनेर दुईओटा छोराहरु माद्रीमार्फत् कुरुकुललाई उपहार दिएका थिए । वास्तवमा मैले कहिले पनि कसैबाट पनि पति कामसुख पाएको छैन । म अहिले पनि विश्वास दिलाउन चाहन्छु आफैँलाई म अक्षता हुँ । सबैभन्दा विश्वास आफैंलाई दिलाउने हो आफैँले । अरुलाई त जसो भने पनि हुन्छ , पत्याउलान् , अपत्याउलान् । त्यो उनीहरुको विवेक र आफ्नू प्रस्तुति र प्रमाणका आधारम हुनेगर्छ ।
त्यो बेला जन्मंदाको कर्ण । अधिरथर र राधाले पालेको कर्ण । हस्तिनापुर दरबारमा सारथीको छोरो कर्ण । दुर्योधनको अनन्य साथी कर्ण । अर्जुनको महाशत्रु कर्ण । अनि दानशील कर्ण, अंग नरेश कर्ण । मलाई भेट्दाको दुर्वासा जस्तै कर्ण अनि मैले माग्ने बित्तिकै ४ ओटा अमोध अस्त्र दिने दानवीर कर्ण अनि इन्द्रले माग्दा छाला काडेर दिने कर्ण । अर्जुनको वाणले विधित कर्ण जसलाई पृथ्वीले पनि अन्याय गरेकी थिइन् । यदि पृथ्वीले अन्याय गरेर रथलाई नसमाएकी भए अहिले अर्जुन हुँदैनथ्यो । कर्णमात्र स्मृतिमा छ । अर्जुन हस्तिनापुरमा छ । तर दुवै मेरा लागि स्मृतिमा मात्र छन् । आखिर दुवै उस्तै भए मलाई त । केही महिना पहिले उनीहरु आएका थिए हामीलाई भेट्न । साँच्ची म त कस्ती सुद्धी हराएकी । विदुर त त्यही बेलामा परमधाम गएका थिए । युधिष्ठिर आएको थियो, अरु भाइहरु पनि आएका थिए । खासमा मलाई र विदुरलाई फकाएर हस्तिनापुर लैजान । विदुर त महामन्त्री नै त हुन् कुरु राज्यको ।
अर्जुन त युधिष्ठिरलाई कसरी छोडोस् । उनीहरुको पालो छ द्रौपदीसँग । अर्जुन त ऊ युवराजको भीमको सेनापतिको रुपमा छ साँच्चो अर्थमा सहयोगी युधिष्ठिरको । तर कर्ण यदि भाइहरुको पक्षमा लागेको भए ? यो नियतिलाई सायद मन्जुर थिएन र त मानेन । भन्थ्यो-म तपाईबाट त्यजित भए पनि दुर्योधनले राजा बनाएकोले र विश्वास गरेकाले म विश्वासघात गर्दिन । मलाई सबै थाहा छ सपनामा सूर्य भगवानले भनेकोले । सूर्य साँच्चै छोराको माया गर्थे होलान् ? संसारका सबै बच्चा त सूर्यकै कारणले त गर्भमा रहन्छन्, जन्मन्छन् र हुर्किन्छन् अनि परलोक जान्छन् जसलाई सूर्यले मात्र अनुगमन गर्न सक्छन्। कर्णले भन्यो रे हामीलाई वार्णावर्तमा पठाउँदा । सबै मिलेर हस्तिनापुरमा नै हामीलाई मार्ने कुरा थियो रे । तर कर्णले भन्यो रे-शकुनि मामा , तपाईँ त गान्धारको राजा । खोइ किन यहाँ अड्डा जमाएर बस्नु भएको हो । म बुझ्छु तपाईँ यहाँ किन बस्नुभएको हो तर तपाईँले नभनिकन मैले अनुमान मात्र गर्ने हो । तपाईँ यो कुरुकुल समाप्त नभई जानुहुन्न बरु आफैँ यहीँ समाप्त हुनुहुन्छ । मेरो कुरो बेग्लै हो मामा । म कसैलाई जिउँदै मार्ने कुरामा विश्वास गर्दिन । युधिष्ठिरलाई मारौं तर उसकै कलाको विज्ञता भएको तरबार लडार्इँमा , भीमलाई मारौँ कुस्ती र गदायुद्धमा, अर्जुनलाई मारौं धनुष युद्धमा नहकुल सहदेव सबैलाई मारौं युद्धको भूमिमा । खेलौं कुस्ती, पछारौं मारौं तर सुतेको बेलामा आगो लगाएर, बाँधेर नदीमा बगाएर साँपले डसाएर नमारौं । म त्यसको पक्षमा छैन र त्यस्ता कुरामा मसँग सल्लाह पनि नमाग्नुस् । म जे छु, सत्यवाणीमा अडिएकोले छु । म जेछु अहिलेको वीरवरताको क्षमताले छु । सत्यभन्दा मसँग ठूलो अस्त्र छैन किनभने सत्यलाई एकछिन पन्छाउँदा र मेरो सही परिचय थाहा नपाउँदा मेरो मनमा कस्तो हलचल थियो र आज पनि श्रापितस्वरुपमा म बाँचिरहेको छु । म त्यो श्राप त भन्दिन तर सत्यलाई अलिकति रोष देखाउँदा मेरो मनमा तूफान चलेको छ, त्यसैले मलाई गलत काममा फसाएर मेरो भविष्यमा कालो नपोत्नोस्, पो भनेको थियो रे । अनि सबै भएर हामीलाई वार्णावर्तमा पठाएका थिए दूरदेशमा निरापद हत्याका लागि । त्यसमा पनि कर्णले त्यो पाप हुन्छ भन्यो रे तर विदुरले जेठालाई हतियारले पनि होइन तर हत्या हुने कुराको सूचना दिएकाले हामीले सुरुङ खनेर भाग्नु परेको थियो । त्यो बेलामा भीमले कस्तो बल र बुद्धि लगाएको थियो ।
कर्णलाई जमुनाजीले बगाउँदै बगाउँदै जब हस्तिनापुर पुर्याइछन्, अनि एउटा स्नान गर्न गएको व्यक्तिले के रहेछ भनेर हेर्दा एउटा बालक हाँसिरहेको छ र धपधप बलेको छ अनि कुनै कमी उसमा थिएन रे । म पनि त त्यो सन्दुुसजस्तै भाँडो जस्मा कर्ण थियो । चियो गर्न मान्छे नदी छेउछेउ पठाएकी थिएँ । एकदम गोताखोर तर विश्वासिला । उनीहरुलाई त्यो तालाबन्दी जस्तै भाँडोमा के छ थाहा थिएन तर खोल्नै अधिकार थिएन, कसले लान्छ मात्रै पत्ता लगाउने कर्तव्य थियो । अधिरथ रहेछन् ती, तिनले लगेर घरमा पालेको थाहा भयो र अर्को कुरा पनि थाहा भयो अहिलेसम्म अधिरथ र राधाका सन्तान जन्मेका रहेनछन् । एकातिर सुन, चाँदी, गहना र स्वयं आफैँ सुनैसुनको मान्छे । न आगोले पोल्ने, न पानीले भिजाउने, न हावाले छिचोल्ने, न सर्पले डस्ने । कस्तो अनुपम व्यक्ति पाएकी थिएँ तर ……।
अधिरथको घरमा राधाले पालेकोले सबेले राधेय भनेछन् तर राधाले र अधिरथले चाहीं वसुसेन भनेछन् नामाकरणमा । म ढुक्क भएँ त्यो मेरो पहिलो सन्तान मरेको छैन भनेर तर म मेरो सन्तान भनेर न त छातीमा टाँसेर नै माया गर्न सक्थें, न मेरो हो राधा खोइ मलाई देऊ भनेर उनको काखबाट खोस्न नै सक्थें । इज्जत प्रतिष्ठा र अनायास घट्ने घटनाका बिचमा यस्तो उग्र मन्थन पहिले मन्दोदरीलाई परको थियो रे भन्थे तर त्यो के हो थाहा भएन, तर मलाई त एउटी असहाय नारी पनि आफ्ना सन्तानको भविष्यमा आफ्नो तर्पण त जोहो भएको ठान्छे होली, मलाई त त्यो बेलामा त्यो पनि सुरक्षित देखिएको थिएन । बाँचेको छ भन्दा पनि खुसी त लाग्यो तर त्यो खुसी कतिबेरसम्म टिक्ला जब त्यो सन्तान नै मेरो भनेर भन्न सकिने अवस्था हुँदैन । अनि मैले पनि सबैकुरा नियतिको जिम्मामा नै छोडिदिएँ । जसका पिता नै सँसारका मालिक सूर्य छन् , अब त्यसको चिन्ता कति लिनू । अनि राज्यकी युवराज्ञीसँग ती कुरामा अल्झिने फुर्सद पो कहाँ भयो र ? आफैंमा चिन्ता लिने अनि आफैले आफैंलाई सम्झाउने । कस्तो विडम्बना । आफैं बोक्सी, आफैं झाँक्री । कहिले त लाग्थ्यो मभन्दा त्यो आफ्नो पिठ्युँमा बच्चा बोकेर जमुनामा लुगा धुने धोबिनी दिदी धेरै नै भाग्यमानी । ऊ रजक हो । उसको पति पनि रजक हो र उसको बच्चा पनि रजक हो । त्यहाँ लुकाउने पनि केही छैन, मेरो सन्तार भन्ने बाबु छ, मेरो बच्चा भन्ने आमा छे अनि बच्चाले निस्फिक्री आमा बाबा भन्ने घर छ अनि बेलुका अँगेनाका छेउमा खोले खाँदा र जाडोमा अँगेना वरिपरि सुत्दा पनि उनीहरु बाबुआमाकै काखमा छोराछोरीकै रुपमा स्वीकृत हुन्छन् र तिनैको बच्चाको रुपमा पहिचान पाउँछन् ।
म सूर्य र मेरो सद्य सन्तान कर्णको यो कस्तो नियति । तर म भन्न पनि नसक्ने ,बिर्सन पनि नसक्ने र सम्झन पनि नसक्ने । कस्तो नियति । कस्तो क्रूर नियतिको फेला परेकी थिएँ । त्यसमा मेरो यस जुनीको कुनै कारणले केही गरेको पनि होइन । तर जब मेरो स्वयंवरको तिथि तय भयो र हस्तिनापुर चक्रवर्ती महाराज पाण्डु पनि मेरो स्वयंवरमा आउने आशयको खबर लिएर दूथ आयो पितामहको तर्फबाट , हामी धेरै नै खुसी भयौं र मलाई सबैले उसैलाई छान्नका लागि दबाब दिन थाले । मैले पनि कतै केही नहेरी अविवाहित चक्रवर्तीलाई स्वयँवर गरेँ र बिहे भयो महाराज पाण्डुसँग, त्यसपछि ………(क्रमशः)
प्रतिक्रिया दिनुहोस्