
-पेशल आचार्य
साँचो कुरा हो –देश त्यसै हावामा चल्दैन । तर नेपाललाई हावामा चलाइन खोजिँदैछ । अतुल सम्भावना भएर पनि नेपाललाई कसैले अघि लैजान सकेन । हामीले प्रजातन्त्र र संविधान भनेर रटेकै पनि ६६ वर्ष भैसक्यो । सत्तामा आएका र देशलाई अघि बढाउन चाहने नायकलाई कहिले काम गर्न दिइएन । कहिले सत्तालिप्साका कुनायकलाई कुनै विकासै चाहिएन । देश चलाउन सुदूर भिजन, खम्भीर आँट र निर्लोभी तथा निस्पाप व्यक्तित्व मिसिएको ‘हल्का तानाशाह’ नै चाहिन्छ । हामी कहिलेकाही ‘नेपालमा दोस्रो जङ्गबहादुरको खाँचो छ’-भन्ने गर्छौं । संसारका नाम चलेका धेरै देशहरूमा समयक्रममा त्यस्ता व्यक्तित्वहरूको उदय भएको थियो । जसले कठोर शासन र बेहद् तपस्या गर्दै आफ्ना देश बनाए अनि विश्व रङ्गमञ्चमा सगौरव उभ्याए । हामीसँगै स्वतन्त्र भएका धेरै मुलुक अहिले विकसित भैसके ।
सन्दर्भ, क्युबाका हालै दिवंगत भूपू राष्ट्रपति फिडेल क्यास्ट्रो, उनको ‘विवादास्पद’(?), कठोर शासन शैली र ठूलो देश सामु झुक्दैनझुक्ने गरिब देशको स्वाभीमानी पनको हो । संयोग, नेपालमा प्रजातन्त्र आउँदाताका उनी आफ्नो देशमा रेहेको ‘फाशिष्ट सरकार’ विरुद्ध लडिरहेका थिए । पछि सफल भएर सत्ता हत्याए ।
गएको नोभेम्बर, २५ तारिखमा उनै क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भयो । अमेरिकाको नाकैमुनि रहेर पनि फिडेलले सानो र अल्पविकसित देशको अस्मितालाई जोगाएर ६ दसकभन्दा बढी समय शासन गरे । उनको मृत्यु विश्वभरका सञ्चार माध्यमका लागि ‘बे्रकिङ् न्यूज’ बन्यो । साम्राज्यवादी देश भनिने अमेरिकाले लामो समयदेखि लगाएको नाकाबन्दीको कहरलाई खेपेर उसका ‘सबै किसिमका असहयोगी जहर’ का बाबजुद् पनि क्युबालाई विश्व राजनीतिको रङ्गमञ्चमा टिकाइरहनु क्यास्ट्रोको महानता हो । ‘इख, इज्जत र इमान भनेको सानाको पनि हुन्छ, चाहे त्यो व्यक्ति होस् या राष्ट्र’ भन्ने पाठ पढाएर उनी बिते पनि भविष्यका सन्ततीले उनलाई स्वाभीमानी अन्तर्राष्ट्रिय राजनीतिक व्यक्तित्वका रूपमा अनन्त कालसम्म पनि पढिरहनेछन् ।
सन् १९२६ मा सम्पन्न परिवारमा जन्मिएका क्यास्ट्रो बहुसंख्यक क्युवालीहरूको गरिबी देखेर क्रान्तिकारी बने । भ्रष्टाचार, सामाजिक असमानता र पछौटेपनाका लागि तात्कालीन ‘वाशिष्ट शासन’लाई जिम्मेवार ठानी उक्त सरकारलाई हटाई छाड्न क्रान्तिमा होमिए । क्युबाको सियरा मिष्ट्रा पहाडलाई आधारक्षेत्र बनाई छापामार युद्ध पनि लडे । क्यास्ट्रोको उदय अमेरिकालाई रत्तिभर मन परेन । आफ्नो देशमा समाजवादी कार्यक्रम लागू गर्न खोजिरहेका क्यास्ट्रोलाई तत्कालीन अमेरिकी राष्ट्रपति आइजन हावरले उनी रूसीहरूको अँगालोमा पुगेको आरोपसमेत लगाए । जसको फलस्वरूप सन् १९६१ को अप्रिलमा निर्वासनमा रहेका क्युबाली निजी सेना बनाएर क्यास्ट्रो नेतृत्वको सरकारलाई हटाउन खोजियो । तर सो कार्य सफल भएन ।
अमेरिकी गुप्तचर एजेन्सी सिआईएले पटकपटक (भनिन्छ, उनको ६३९ पटक असफल हत्या प्रयास गरिएको थियो तर ती विफल भए) उनको हत्या प्रयास गरे पनि उनी संयोगले बाँचे । क्युबाले शीतयुद्धकालीन विश्वमा वार्सा सन्धि संगठनको समर्थन गर्यो । रूससँग निकटता बढाएका क्यास्ट्रोले असंलग्न मुलुकहरूको आन्दोलनमा नेतृत्वदायी भूमिका खेले । नेपाल पनि जसको सदस्य राष्ट्र थियो ।
संसारमै सबैभन्दा लामो समय सत्तामा रहेका क्यास्ट्रो अन्तर्राष्ट्रिय कम्युनिष्ट क्रान्तिका नायक चे ग्वेभारासँग मिलेर केही समय बोलिभियामा समेत क्रान्ति गर्न पुगेका थिए । क्यास्ट्रोको शासनकालमा देशले क्रमशः गरिब र विकासोन्मुखबाट आत्मनिर्भर हुनेतर्फ पाइला चाल्यो । उनकै शासनमा सबै क्युबाली जनताका लागि निःशुल्क गुणस्तरीय चिकित्सा सेवा दिइनुका साथै निरक्षरता उन्मूलन र बाल मृत्युदर उल्लेख्य मात्रामा घटाइयो । सन् २००६ मा उनले ८० वर्ष पुग्नु केही दिनअघि मात्र आफ्ना भाइ राहुल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरे ।
सन् २००८ मा उनले राष्ट्रपति र सेनाको कमाण्डर इन चिफ जिम्मेवारी नलिने घोषणा गरे । आफ्नो लामो शासन कालमा उनले १० वटा अमेरिकी राष्ट्रपतिको कार्यकाल देखे । करिब नौ दसक लामो, सादगी र सफल जीवन बिताएर गत् २५ नोभेम्बरमा उनको मृत्यु भयो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित उनलाई त्यहाँको टेलिभिजनले देखाएको थिएन । उनलाई लागेको रोगबारे क्युबाली सरकारले सञ्चार माध्यममा बताएकै छैन । उपचारकै क्रममा उनको मृत्यु भएको बताएको छ ।
क्युबाको जनसंख्या करिब १ करोड २० लाख रहेको छ । जलपरिवेष्टित राष्ट्र क्युबा अमेरिकाको नाकाबन्दीका बाबजुद् पनि आफ्नो सानो राष्ट्रको अस्तित्व जोगाएर राख्न सफल भयो । सामुद्रिक जलयात्रा सुविधाको उपयोग गर्दै क्युबाले दक्षिण अमेरिकी मुलुकहरूसँग न्यानो सम्बन्ध गाँसेको थियो । जसले गर्दा त्यो राष्ट्र अमेरिकासँग जुधेरै पनि टिक्न सफल रह्यो ।
नेपाल र क्युबामा केही कुरामा समानता खोज्न सकिन्छ । क्युबा अमेरिकाको नाकै मुन्तिर रहेको देश हो । महाशक्ति राष्ट्रको नजिक भएर पनि क्युबाले आफ्नो देशको शासनसत्ता र अस्तित्वलाई गुम्न दिएन । नेपालको तीनतिर विशाल देश भारत छ । नेपालले पनि आजका मितिसम्म आफ्नो स्वतन्त्र अस्तित्वलाई बँचाएर राख्न सफल भएको छ । बहुदल आएपछिका विगत् दुई दसकदेखि नेपालको स्वतन्त्र अस्तित्व मै विभिन्न प्रकारका खतराका सङ्केतहरू मडारिन थालेकाले अब भविष्यमा के हुने भन्ने शंका नेपाली जनतामा सर्वत्र चुलिन पुगेको छ ।
क्युबाको मुख्य आय स्रोत उखु, माछा र गहूँ हो । नेपाल पनि केही दशक अघिसम्म कृषिप्रधान मुलुक थियो । अहिले पनि राष्ट्रिय आयको ठूलो हिस्सा र कूल गार्हस्थ उत्पादनको धेरै भाग कृषिजन्य वस्तु र सेवाबाट प्राप्त हुन्छ । क्युबाका लागि सामुद्रिक शक्ति अपराजेय भयो भने नेपालका लागि यहाँको जल विद्युत्लाई ‘ह्वाइट डलर’ भनिन्छ । जब दुवै देश असंलग्न राष्ट्रका रूपमा विश्व रङ्गमञ्चमा उदाए त्यसबेला विश्व राजनीति दुई ध्रुवमा बाँडिएको थियो । क्युबाको राजधानी हवानामा भएको असंलग्न राष्ट्रहरूको विश्व शिखर सम्मेलनमा नेपालले सक्रिय सहभागिता देखाएको थियो । पञ्चायतकालीन परराष्ट्र नीतिमा असंलग्न परराष्ट्र नीति र पञ्चशीलका सिद्धान्तहरू प्रमुख मानिन्थे । अहिले ‘स्यालका सिँङ’ झैँ हराएका छन् ।
छिमेकमा भएको धनी र ठूलो राष्ट्रको तप्क्यान क्युबाले भलिभाँती भोगेको छ । तर त्यहाँ सम्पन्न छापामार क्रान्तिपछि क्युबा क्रमशः उन्नतिको शिखरमा लम्कँदै गएको छ । यद्यपि क्युबाको खेलकुद अन्तर्राष्ट्रिय जगत्मा चम्किएको सुनिएको छैन । क्युबा र उत्तरकोरियाजस्ता मुलुकहरू आजको समयमा अमेरिकाको टाउको दुखाइको विषय भएका छन् । क्युबाको जस्तो अवस्था नेपालले नभोगे पनि लामो समयदेखि भारतसँग नेपालको ‘दिल खुस’ छैन । नेपाल भारतसँग टेक लिन सक्ने अवस्थामा पनि छैन । भौगोलिक भूपरिवेष्टित भनिने नेपाल भूराजनीतिमा भने ‘भारतपरिवेष्टित’ हुनु नै यसका आर्थिक र राजनीतिक तमाम समस्याहरू हुन् । सत्ताको छिनाझप्टीमा हुने खुलेयाम भारतीय दादागिरी र फोहोरी कूटनीतिलाई हेर्दा नेपालमा पनि क्यास्ट्रोजस्तै स्पाति व्यक्तित्वको ‘तानाशाह’ जन्मिनु पर्ने हो कि भन्ने धेरैलाई लागेको छ । देशको राजनीतिक भाग्य र भविष्यका लागि लुर नभएका, पिपलपाते, दहीचिउरे, ‘लालीका पित्र’ मात्र गाउने कठपुतली र अरौटेभरौटे चरित्रका नेताहरूले नै नेपालको राजनीतिलाई बिगारेका छन् ।
नेपाली भूमिमा पनि दस वर्ष ‘छापामार युद्ध’ भयो । ‘दीर्घकालीन जनयुद्ध’ नामकरण गरेर थालिएको सशस्त्र विद्रोध एकदसक नबित्दै ‘दिल्लीमा षडयन्त्रस्वरूप भएको बाह्र बुँदे सम्झौता’मा गएर टुङ्ग्याइयो । त्यसपछिका दिनमा ‘नेपाली माओवादी क्रान्ति’ दिग्भ्रमित देखिएको छ । नेपालमा पनि नेताहरू नभएका होइनन् । पञ्चायतले धेरै सम्भावना भएका नेतालाई मार्यो । कैंयौंलाई जेलनेल हाल्यो । धेरै निर्वासनमा भासिए । ऊर्जा र उमेर बिताए । जोदाहा मोहनचन्द्र अधिकारीजस्ता पूर्व नेकपा मालेका नेताले बहुदल आएपछि कुनै विशेष जिम्मेवारी नपाएर बुढेशकालमा विवाह गरी पलायन भए र धर्मकर्मतिर लागे । विद्वान् औ प्राज्ञिक मोदनाथ प्रश्रितजस्ता प्रखर र धुरन्धर वामपन्थी नेताको उत्तरार्ध ‘माक्र्स टु महादेव’ यात्रामा तुरियो । मदन भण्डारीको रहस्यमय अवसान भयो । काँग्रेसमा पनि वीपी कोइराला, सुवर्ण शमशेर, राम–लक्ष्मण, कामेश्वर–कुशेश्वर, सरोज कोइराला र बोध बाबुजस्ता लडाकु क्यारिस्मेटिक नेता नभएका होइनन् । पार्टीले संरक्षण गर्न नसकेर केही असमयमै र केहीलाई सत्ताले कोपभाजनको सिकार बनायो । पञ्चायत गएपछि कैंयौं हुती हुनेले अवसर पाएनन । जसलाई सत्ता सुन्दरीको अकण्टक भोग गर्न दिइयो तिनमा बर्कत नै देखिएन । कति त स्वास्नी र सन्तानका लागि कमाउ पनि बने । यसरी देशको ऊर्जाशील समय नै ‘लिँडीबुची’ भयो ।
लरबर भएको नेपाली क्रान्ति देख्दा कहिलेकाँही ‘नेपालमा पनि ‘सफ्ट तानाशाह’को उदय भएको भए हुन्थ्यो’ भन्ने जोश नेपालीहरूमा हुने गर्छ । नेता जन्माएर जन्मिँदैनन् । समयले नै नेताको जन्म गराउँछ । अहिलेको राजनैतिक नौटङ्कीभित्र देशलाई सोलोडोलो गरेर लैजाने स्पाति नेता त देखिएनन् तर यसो भनेर भविष्यमा पनि नेताको खडेरी पर्ला भनेर हामीले अहिल्यै सोची हाल्नु हुँदैन । कुनै समय यस्तो आउने छ कि नेपालमा पनि क्युबाका जस्ता फिडेल क्यास्ट्रो, चीनका झैँ डा.सन् यात्सेन, इराकका झैँ सद्दाम हुसेन, मलेसियाका झैँ डा.महाथिर महमद र सिङ्गापुरका झैँ लि क्वेन नजम्नालान् भनी भन्न सकिन्नँ ।
नेता जन्मिनका लागि नेपालको राजनीतिक वातावरण बिस्तारै तात्दै छ । राष्ट्रियता र अखण्डताको रक्षाका लागि भविष्यमा राजनेताको उदय हुन सक्छ । अहिलेलाई देश संकटमा परेका बेला यही कामना गरौं । अवश्य त्यस्तो करिश्मायुक्त नेता जन्मनेछ । कवि गोपालप्रसाद रिमालले भनेझैँ –‘एक दिनमा एक युग एकचोटी आउँछ ।’ त्यो दिन नेपालमा आउन अब ढिलो छैन । परिस्थिति निर्माण हुँदै जाँदो छ । चित्त नबुझे पनि सबैमा चेतना भया ।
प्रतिक्रिया दिनुहोस्