
बिराज रोस्यारा (इमेज)
कैलाली, असार २३ । धनगढी उपमहानरपालिकाको आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट शनिबार पारित भएको छ ।
उपमहानगरपालिकाको तेस्रो नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।
गत असार १० गतेदेखि सुरु भएको धनगढी उपमहानगरपालिकाको तेस्रो नगरसभा बजेट पारित गर्दै शनिबार सम्पन्न भएको छ ।
धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि १ अर्ब ७९ करोड ३४ लाख रुपैयाँ बराबरको अनुमाति आयव्यय प्रस्तुत् गरेको थियो । जसमा चालूतर्फ ८० करोड ४९ लाख र पुँजीगततर्फ ९ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन गरेको १६ करोड बजेट चालू खर्चमा समावेश गरिएको धनगढी उपमहानगरले जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमले कृषि आधुनिकीकरण तथा व्यवसायीकरणलाई मुख्य प्राथमिकता दिएको नगरप्रमुख नृप वडले जानकारी दिए ।
यस्तै, पूर्वाधार विकास (सुधारिएको सडक), शिक्षा क्षेत्रमा गुणात्मक सुधार, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना–प्रविधि तथा सन्चारमा विकासका लागि पनि बजेट तथा कार्यक्रमले प्राथमिकता दिएको उनले बताए ।
यसैगरी, उद्यम र सहकारीताको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धन, सामुदायिक वनको संरक्षण तथा व्यवस्थापन र प्राकृतिक विपद् व्यवस्थापन पूर्वतयारीलाई बजेट तथा कार्यक्रममा प्राथमिकता दिइएको जनाइएको छ ।
‘भादा होमस्टे’लाई थप प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणका केन्द्रकारुपमा विकास गरिने, थारु संग्रहालयको प्रवद्र्धनको कार्यलाई निरन्तरता दिइने, धनगढी विमानस्थलमा स्वागत गेटको निर्माण गरिने बुँदा नीति तथा कार्यक्रममा थप गरेको धनगढी उपमहानगरले जनाएको छ ।
यसैगरी, आगामी आर्थिक वर्षदेखि किशोरकुमार बम विकास पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि ५१ हजार रुपैयाँको व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगारमा जाने नेपाली कामदारको वैदेशिक रोजगार यात्रालाई सुरक्षित र उपलब्धिमूलक बनाउने तथा उनीहरुको कमाइ र परिवारको सुरक्षा गर्ने नीति लिइने र नयाँ बसपार्क निर्माणका लागि सार्वजनिक निजी साझेदारी ऐनअनुसार सन्चालनमा ल्याइने नगरप्रमुख वडले बताए ।
प्रतिक्रिया दिनुहोस्