
काठमाडौं, मंसिर १९ । स्वास्थ्यकर्मी, पत्रकार तथा समर्थकहरुका माँझ अनशन तोडदै जुस पिउन उठेका डा. गोविन्द केसीको शरिर कमजोर भइसकेको थियो । बेडबाट उठ्न उनलाई कठिन भइरहेको थियो ।
सहमति पत्रमा हस्ताक्षरपछि डा. केसीले भूकम्पमा परेका अढाई बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै सबैले गुणस्तरिय स्वास्थ्य सेवा पाउनुपर्ने माग दोहोर्याए ।
आइतबार विहान स्वास्थ्य शिक्षा र चिकित्सा क्षेत्र सुधारका लागि दशौं चरणको आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. केसीले सरकारसँग १२ बुँदे सहमति गरेका छन् ।
चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा वरिष्ठताका आधारमा डीन नियुक्तिलगायत दश बुँदे माग राखेर डा. केसीले अनशन गरेका थिए ।
केसीले उठाएका माग समेट्ने गरी सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच १२ बुँदे सहमति गरिएको छ ।
डा. केसीको माग सम्बोधनका लागि यसअघि नियुक्त डिन डा. केपी सिंहले राजीनामा दिएका छन् भने नयाँ डिनमा डा. जगदिशप्रसाद अग्रवाल नियुक्त भइसकेका छन् ।
आफूले एउटा व्यक्तिका लागि नभई पद्धतीका लागि संघर्ष गरेको दावी पनि उनले गरे । सहमति अनुसार अब चिकित्सा ऐन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा कुनै पनि नयाँ कार्यक्रम ल्याइने छैन ।
त्रिवि उपकुलपतिको बर्खास्तगीसम्बन्धि मागमा भने अध्ययन गरी सुझाव दिन त्रिविका पूर्वउपकुलपति डा. केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ ।
एमबीबीएस अध्ययनका लागि ३८ लाख शुल्क लिन पाउने व्यवस्था गरिएको छ भने उपत्यका बाहिरका लागि ४२ लाख तोकिएको छ ।
यता, आईओएम बचाउ संघर्ष समितिको नाममा डिन कार्यालयमा तालाबन्दी गरिएको छ । आफूहरुको सहमति बेगर डिनमा जेपी अग्रवाललाई नियुक्त गरेकोमा विरोधमा उनीहरुले तालाबन्दी गरेका हुन् । संस्थानकै डा. केसी विरोधी पक्षधर चिकित्सकले तालाबन्दी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्