
-हरिविनोद अधिकारी
कर्णको नाम सम्झना हुने बित्तिकै एउटा रोमाञ्चक पैदा हुन्छ अझै पनि मेरो शरीरमा, मनमा एउटा कुतुहल पैदा हुन्छ र महसुस गर्छु कि म अझै त्यही सानी राजकुमारीको रुपमा कुन्तीभोजको दरबारको भित्री खोपीमा नै छु र दुर्वासा ऋषिका साठी हजार शिष्यको सेवा सुश्रूषामा नै छु अनि …….। कुनै पनि उर्वर महिलाका लागि सन्तान सुख पहिलो कर्तव्य पनि हो र हृदयको एउटा लालसा पनि हो । शारीरिका लालसा र मानसिक लालसा । सामाजिक कर्तव्य हुनाले त होला, सन्तति वृद्धिका लागि पनि त होला, भविष्यमा मानवविहीन नहोस् यो पृथ्वी भनेर त होला । वैवाहिक रीतिका लागि पिता माता चिन्तित हुन्छन् र प्रत्येक युवतीमा एउटा कामना हुन्छ पतिको जो शैशवकालदेखि नै तयारी गरिएको हुन्छ मानसिक रुपमा । तर मेरो हकमा त्यस्तो हुन पाएन । जुन छोरो जन्मियो, भन्नै नमिल्ने गरी जन्मियो । अचानक सूर्य जीवित ईश्वर, देखिने ईश्वरलाई मैले बोलाएँछु ।
त्यो पनि कसरी भने विहानको कलिलो घाम मिठो थियो । हाम्रो ब्रजमा तुवाँलो लागेको बिहान पनि घाम रातो नाङ्लो जस्तो, गोरो अनुहारमा हल्का रातो रङ् लाएर सिँगारे जस्तो देखिने हुन्छ । सायद अहिले पनि विहानै उदाउने सूर्य भगवान त्यस्तै नै हुनुहुन्छ होला । त्यो दिन म एक्लै घाम ताप्दै जस्तो गरी बाहिर अट्टालिकामा बसेर यसो सूर्य स्नान गर्दै थिएँ । बाहिरको वातावरण पनि बडो रमाइलो थियो । सत्य भन्छु मलाई अरु केही पनि थाहा थिएन र त्यो मन्त्रको पनि कुनै सम्झना थिएन । तर अचानक मेरो मनमा एउटा जिज्ञासा जन्म्यो, त्यसै त्यसै काउकुती लाग्यो त्यो बाल सूर्यको दर्शनले । सम्झें हनुमानजीलाई जसले सूर्यलाई कुनै खाने कुरा सम्झेर खान आकाशमार्ग हुँदै सूर्य निल्न गएका थिए रे त्रेतायुगमा । मलाई पनि ठ्याक्कै त्यस्तै भयो सूर्यलाई नजिकैबाट समाउन पाए कस्तो हुन्थ्यो होला । पोल्थ्यो होला कि पोल्दैन थियो होला । मैले विहानै पूजा गर्ने र अघ्र्य चढाउने गर्दा र चर्को घाममा पनि त्यो कुरा मनमा कहिल्यै आएको थिएन । तर म एक्लै कसरी भएँ, त्यो पनि थाहा भएन । कसरी त्यति बिहानै बार्दली भनौं, या अट्टालिका भनौं । त्यहाँबाट के देखें भने सूर्य भगवान विस्तारै आमाको गर्भबाट बच्चा आएझैं सुस्त सुस्त गरी क्षितिजको उपल्लो कुनाबाट आकाशतिर बढ्दै गरेको अवस्था । थाल भनौं वा के भनौं कसैले तानेको नदेखिए पनि आफैं मास्तिर आउँदै गरेको जस्तो । अपूर्व दृश्य देखियो । कलिलो सूर्य, विहानी बेला, मन्द मन्द हवा अनि भर्खर नुहाएर आएकी म ।
एउटा दुःखद संयोग हो कि सुखद हो । अहिले पनि म ठम्म्याउन सक्दिन । तर भयो यो सुघटना या दुर्घटना । मलाई त्यो बाल सूर्यसँग खेल्न मन लाग्यो । कसरी त्यो पाइन्छ होला मेरो हातमा, मेरो यही अट्टालिकामा, यहीं अहिले, यत्तिबेरै चाहियो । यो बाल हठ पनि थियो, राजहठ पनि थियो, स्त्री हठ पनि थियो । म बालिका नै थिएँ । चाहियो भनेपछि चाहियो । एउटी गाउँकी मुखियाकी छोरीबाट म राजकुमारी भएकी थिएँ । ममा राजहठ पनि त थियो । म स्त्री जाति नै त थिएँ जन्मँदै, स्त्री हठ पनि थियो । अहिले सम्झन्छु, त्यतिबेर मलाई सूर्य चाहियो खेल्न ,समाउन र अनुभूत गर्न । चाहियो भनेपछि चाहियो । त्यहाँ कोही पनि थिएनन् र मलाई थाहा थियो सूर्यलाई कसैले भेट्न सक्दैनन् तर सधैं भेट्छन् र छुट्टिन्छन् । विहान संसारले भेट्न सुरु गर्छ र साँझमा नचाहँदा नचाहँदै पनि विदा गर्नु नै पर्छ दिनकरलाई । मैले कतिपटक सूर्य भगवानको ब्रत पनि लिएकी छु, नुन नखाएर, साँझमा मात्र आहारा लिएर । आमाले भन्नुहुन्थ्यो सूर्य जस्तै पतिका लगि, सूर्य जस्तै सन्तानका लागि पनि किशोरी,युवती र स्त्रीजातिले ब्रत बस्नु पर्छ । शरीरमा कुनै पनि प्रकारको रोग नलागोस् भनेर पनि । छालाको कुनै रोग नलागोस् भनेर पनि सूर्य उपासना र ब्रत बस्ने चलन कहिलेदेखि थियो । हाम्रो ब्रजमा कसैलाई पनि थाहा छैन । मैले सुरुमा यो जिज्ञासा पनि आमासँग राखेकी थिएं । हामीले त देवीको पो उपासना गर्ने त, किन देवताको गर्ने र ? त्यो पनि सूर्वको किन ? आमाले भनेकी थिइन-छोरी, साँच्चै देखिने भगवान त सूर्यमात्रै त हुन् । अरु त आराधना, उपासना र यज्ञको भाग खानेमात्र हुन् । कसैले देखेको पो कहाँ छ र ? उनीहरु पनि हामीजस्तै मान्छे भएर आए भने मान्छेको रुपमा देखिने हो । नत्र सूर्यमात्र त्यस्तो देवता हुन् निःस्वार्थी जो ठिक बेलामा आउँछन्, सबैलाई ज्योति दिन्छन् । अन्धकारबाट बाटो भुलेका र पिल्सिएका, चोरबाट प्रताडित र जाडोबाट कठ्याङ्ग्रिएकाहरुलाई मुक्ति दिनका लागि सूर्य सधैं एकै समयमा आउँछन् र फेरि भोलि आउने गरी जान्छन् एउटै समयमा । एकहजार वर्ष अघिको समय र आजको समयमा कुनै फरक पर्दैन । समयको पालनामा सूर्यको जत्ति अनुशासन कसैको छैन । त्यसैले छोरी सूर्य नै एकल त्यस्ता देवता, आराध्य हुन् जसको भक्ति गर्नु अनिवार्य छ र उनले दिने फल भनेको जीवन हो, जुन हामीले पाएका छौँ ।
त्यस्ता आराध्य सूर्य मेरो आँखामा यसरी गढे कि मलाई अहिले नै चाहियो । त्यही बेलामा मैले दुर्बासा ऋषिको मन्त्र सम्झें । किनभने कुनै पनि देवता यो मन्त्रको सम्झना गर्ने बित्तिकै आउँछन् र चाहेको जस्तो पुत्र पाउन सकिन्छ । मलाई पुत्रको कुराभन्दा पनि हामी नश्वर शरीरवालाले बोलाएर देवता कसरी आउँछन् भन्ने त लागको हो । त्यही बेलामा जुन बेलामा ऋषिशीर्षले भनेका थिए तर एकप्रकारले विश्वास अविश्वासको बिचमा नै म दीक्षित भएकी थिएँ । भनिएको थियो अरुलाई नसिकाउनू । सिकाउने बित्तिकै यो मन्त्र निष्प्रभावी हुन्छ यदि अर्कोले यसको प्रयोग गरेमा । खोइ केके भनेका थिए गुरुले । उनी पनि हतारमा थिए । मैले केही नमागेकोले उनले सेवा सुश्रूषाको लागि दिएको वरदान जस्तै थियो तर मेरालागि त्यो वरदान भिल्लका देशमा मणि जस्तै थियो । थाहा थिएन त्यस्को महत्व । अनि बाल सूर्यको चाहनाले मलाई लाग्यो हेरौं न सूर्य आउँछन् कि आउँदैनन् । तत्काल मन्त्र सम्झें । आँखा चिम्लेर मन्त्र जपें । विश्वास थियो तर देवता कसरी आउलान् मेरो छेउमा भन्ने पनि कुतुहलता थियो मेरो मनमा । तर के भएको आज, सूर्यको दर्शनले मात्र पनि ममा एउटा भावना बढ्दै थियो किन सूर्यको उपासना साक्षात्कारमा नै नगर्ने ?
नभन्दै मैले सूर्यको के उपासना गरेकी मात्र थिएँ, एक सरस र दिव्य पुरुष आफ्नै अघिल्तिर देखें हाम्रै दरबारका कुनै वलिष्ठ दिव्य पुरुषजस्तै । आँखा खोल्दा उनले मलाई किन बोलायौ भनेर सोध्दा म तीन छक परें र भनें— हजुर सूर्य भगवान हो र ? मैले त सूर्य भगवानको पो नजिकैबाट साक्षात्कार गर्न खोजेको । उनी हामी मान्छेजस्तै हाँसे र भने-पृथा, म नै सूर्य हुँ । म नै आदित्य हुँ । अहिले हेर त आकाशतिर, त्यहाँ सूर्यको तापमात्रै छ, आभा छैन । म नै आभा हुँ, ताप हुँ अनि म नै विश्वब्रह्माण्डको रक्षक हुँ । ऋषिको वचन पूरा गर्नका लागिमात्र तत्काल आएको हुँ मान्छेको स्वरुपमा । म वास्तवमा प्रकुतिपुरुष हुँ । म नै प्रकृति हुँ । म नै वातावरण हुँ । म नै स्त्री जातिको गर्भमा बसेर बालक हुने प्राण हुँ । दुर्वासाले मलाई तिमीले बोलाएको बेलामा गएर एउटा पुत्रको यज्ञ संयोजन गर्नु भनेका थिए आजैलाई । र म तिम्रो मनमा काउकुती लगाएर मलाई सम्झन बाध्य गराएर आएको । अनि म त छक्क परेँ र भनें–भगवान, वृष्णिवंशीमा कुमारी आमा अहिलेसम्म कोही भए र ? अनि मलाई बरु क्षमा दिनुस् । यो गल्तीका लागि तर मजस्ती अक्षतालाई कसरी आमा हुने व्यवस्था हुनसक्छ । त्यो पनि आजै , अहिल्यै र भर्खरै ? मलाई त ऋषिले कुनै पुराणको अन्त्यमा साङ्गेमा नैवेद्य दिएजस्तै केही मिठो कुरा दिए होलान् भन्ने लागेको थियो । तर यो त कहाँको भाउँतो पो आइलाग्यो भगवान् । भगवान हाँस्नुभयो । त्यसबेला बिजुली चम्केजस्तो भयो, सबैतिर उज्यालो झन उज्यालो । एक त अचानक मन्त्र सम्झें , अचानक सूर्य भगवान आए अनि भने—आमा हुन तयार होऊ । छोराको आमा हुन तयार होऊ । हुनै पर्छ आमा त, यो मन्त्र त त्यस्तो पो छ त । तिमीलाई तिम्रो भविष्य थाहा छैन । यो तिम्रो पहिलो सन्तान हुनेछ, भद्र पुरुष हुनेछ । महावीर, महादानी, यशस्वी तर गुमनाम जीवनमा बाँच्ने हुनेछ । लौ तयार होऊ । मलाई छिटो जानु छ । कुनै प्रसव वेदना पनि हुने छैन । कसैले तिमीलाई प्रसूता भन्ने पनि थाहा पाउने छैनन् र यो बालकको रक्षा आफैं हुनेछ प्रकृतिबाट । कानमा कुण्डल, शरीमा अभेद्य कबच र पानीले पनि नभिजाउने, आगोले पनि नडढाउने शरीर हुनेछ । कुनै हतियारले पनि नकाट्ने । तर ऊ आफैँले बाहुनलाई मात्र दान दिन थाल्यो भने शरीरको छालारुपी कबच काटिने छ । कुण्डल पनि काटिन सक्छ । लौ तयार होऊ । अझ भनौं बच्चा त तिम्रै गर्भबाट जन्मिने छ तर तिमीलाई पनि विश्वास हुने छैन मैले नै जन्माएको हो भनेर । झन राम्री हुनेछ्योै । झन ताजा हुनेछ्यो । विश्वकै चक्रबर्ती राजासँग तिम्रो विवाह हुनेछ । अरु त तिमीले भोग्दैजाँदा थाहा पाउने कुरा हो । कति रोमाञ्चकता, कति छिटो, कति सौहार्द, कति विश्वस्ता, कति गोप्य । छिनमै म आमा भएँ । एउटा वीरवर योद्धाका लागि चाहिने सबै सामान उसले जन्मँदैं ल्याएको थियो । सूर्य जस्तै झलझली धपक्कै बलेको अनुहार, निर्दोष शरीर, निष्छल आँखा अनि मायाको पोको । तर कुमारी आमाको गर्भबाट जन्मेको , छिनको घटना र त्यो पनि कसैले पत्याउने हुन् या होइनन् भन्ने त्रास । राजा कुन्तीभोजको प्रतिष्ठा , राजा शूरसेनको प्रतिष्ठा । शूरसेनको प्रतिष्ठा कसरी भने छोरी त म वृष्णि शूरसेनकी नै थिएँ , मेरा दाजु वसुदेव , भाउजु देवकी र भदो कृष्ण वासुदेव ।
छिनमा जन्मेको छोरो कर्ण हो । तर मैले न त त्यसलाई काखमा राखेर माया नै गर्न पाएँ । न एकपटक च्वाप्प म्वाईँ नै खान भ्याएँ । न त आफ्ना छिनभरमा पुष्ट भएका स्तनबाट दशधारा दूध नै पिलाउन नै पाएँ । सूर्य भगवानको कृपाले होला, ममा झन कुमारित्व देखियो । विहानसम्म एउटा अबोध बालिका अहिले तत्काल परिपक्व आमा भएँ त्यो पनि अरुले सम्झने अवैध बालक जन्माएको अपराध छोप्न तयारी एउटा अपराधबोधी स्त्रीजस्तै । हतार भयो बाबुहरुको प्रतिष्ठा बचाउन, सूर्य भगवानको नामलाई कलङ्क लाग्नबाट बचाउन, दुर्बासाको मन्त्रको लाज राख्न, र आफू कलङ्कित नहुनका लागि सद्य प्रसूता पुत्रलाई भक्कानिँदै जमुनामा बगाएँ । आमाले नै बगाएपछि कस्को के लाग्दो रहेछ र ? मुटुमाथि तिखो किलोले घोप्दै बगाएँ । सूर्य त्योबेलासम्ममा हेर्दै थिए र सायद मनमनै मेरो त्यो अपराधी कार्यलाई सरापेर गाली गर्थे होलान् तर उनकै अनुशासनका कारणले छिटै तत्कालै गएको मैले महसुस गरेँ जब बालक नदेखिने गरी बग्दै बग्दै गयो । जब म त्यो बेलालाई सम्झन्छु………..((क्रमशः)
प्रतिक्रिया दिनुहोस्