
फाइल फोटो
वीरगन्ज, मंसिर १३ । वीरगन्ज–१० लिंकरोडस्थित कृषि विकास बैंकबाट करिब रु. ४० लाख मूल्य बराबरको सुनचाँदी चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार मध्यरात बैंकको दक्षिणतर्फ रहेको फलामको ग्रील निकाली दराज खोलेर रु. ३९ लाख २३ हजार ६७९ मूल्य बराबरका ७२ दशमलव ६ तोला सुन र रु. २१ हजार ८१३ मूल्य बराबरको २७ दशमलव ४४ तोला चाँदी चोरी भएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले सो बैंकका सुरक्षागार्ड बृजकिशोर चौहान, उमेशप्रसाद र फुनेरा राजकुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।
सो दराजको तीनओटा साँचोमध्ये एउटा साँचो बैंक प्रबन्धक, अर्को लेखापालसँग थियो भने एउटा साँचो क्षेत्रीय कार्यालयमा पठाउनुपर्नेमा त्यहाँ नपठाइ प्रबन्धकले आफ्नै कोठामा रहेको दराजमा राखेका थिए ।
चोरले पहिले दराजमा राखेको साँचो झिकेर सुनचाँदी राखिएको दराज खोली चोरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धाबाट खुल्न आएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्