
फाइल फोटो
काठमाडौं, मंसिर ३ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले कुनैपनि निजी वा सरकारी अस्पतालले (परिचारिका)नर्सलाई भोलेन्टियर राख्ने परम्पराको अन्त्य गर्नुपर्ने बताएका छन् ।
शुक्रबार निजी अस्पतालको छाता संगठन ‘एसोसियसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन)’ को १९औं वार्षिक साधारणसभामा मन्त्री थापाले ठूलो लगानी गरी पढेका नर्स र अन्य पारामेडिक्सलाई भोलेन्टियर राखी उनीहरुको श्रमशोषण बन्द गर्न आग्रह गरेका हुन् ।
उनले भने–‘नर्सलाई भोलेन्टियर राख्ने कार्य आजैबाट बन्द गरौं । अब अस्पतालको अवलोकनका क्रममा सो कुरा पनि अनुगमन हुनेछ ।’
उनले नर्सलाई सित्तैमा काम गराएको पाइएमा त्यस्ता अस्पताललाई नवीकरण नगरिने चेतावनी पनि दिए ।
उनले निजी अस्पतालले गुणस्तरीयताको दाबी गर्दैगर्दा अस्पतालको सेवाको पारदर्शीताबारे पनि बिरामीलाई विश्वस्त गराउनसक्नुपर्ने उल्लेख गरे ।
उनले बाहिरबाट सफा देखिने निजी अस्पतालले पनि सरसफाइ व्यवस्थापन गर्न नसकेको भन्दै भित्री इन्फेक्सन व्यवस्थापन गर्नुपर्नेतर्फ सचेत गराए ।
आफू निजी अस्पतालका समस्या समाधानका लागि तयार रहेको बताउँदै मन्त्री थापाले त्यसका सरकारले जनस्वास्थ्य ऐन ल्याउन लागिएको जानकारी दिए ।
उनले भने–‘सरकारले निजी अस्पतालले १० प्रतिशत निःशुल्क सेवा गरिब तथा विपन्नलाई दिनुपर्ने, शल्यक्रिया गर्दा मापदन्डअनुसार दक्ष चिकित्सक र स्वास्थ्यकर्मी राख्नुपर्नेलगायतका कुरा कडाइका साथ लागू गर्नुपर्छ ।’
एसोसियसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन)का अध्यक्ष वसन्तकुमार चौधरीले निजी क्षेत्रका पनि थुप्रै कमजोरी रहेको भन्दै पारदर्शिता कायम गर्नका लागि सरकारसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
अफिनका सुदूरपश्चिमाञ्चल उपाध्यक्ष गजेन्द्रवीर सिंहले सरकारले नवीकरणका नाममा निजी अस्पताललाई ‘दुहुनो गाई’ बनाएको आरोप लगाए ।
शनिबार (भोलि)सम्म चल्ने साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गर्नेछ ।
ओम अस्पतालको अध्यक्षमा पौडेल
वरिष्ठ चलचित्रकर्मी उद्धव पौडेल ओम हस्पिटल एन्ड रिसर्च सेन्टरको अध्यक्ष पदमा सर्वसम्मत् चयन भएका छन् ।
बिहीबार सम्पन्न अस्पतालको साधारणसभाबाट निर्वाचित ११ सदस्यीय सन्चालक समितिमध्येबाट पौडेल सर्वसम्मत् अध्यक्षमा चयन भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष पौडेलले अस्पताललाई विश्वसनीय, गुणस्तरीय र सुविधा सम्पन्न बनाउन प्रयत्नरत् रहने, कार्यरत् चिकित्सक, कर्मचारीको उच्च मनोबल राख्ने र अस्पतालको प्रतिस्पर्धी क्षमताको विकास गर्ने बताए । रासस
प्रतिक्रिया दिनुहोस्