१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी


0
Shares

सोलुखुम्बु, मंसिर ३ । दिनप्रतिदिन बढिरहेको चिसोले इलाका प्रहरी कार्यालय नाम्चेमा कार्यरत् प्रहरीलाई नागरिक सुरक्षाभन्दा पनि बढी जाडोबाट आफ्नो शरीरलाई कसरी सुरक्षित बनाउने भन्ने चिन्ता छ ।

गर्मी समयमै पनि ज्याकेटबिना बाहिर निस्कन र बाक्लो सिरकबिना रात बिताउन नसकिने नाम्चेका प्रहरीलाई हिजोआज दिन त जसोतसो बित्छ तर रात कसरी बिताउने भन्ने चिन्ता हुन्छ ।

चारैतिर हिमालले घेरेको तीन हजार ६०० मिटर उचाइमा रहेको नाम्चेका प्रहरी जाडोमा थरथर काँपेरै दिनरात बिताउनुपर्ने कारण हो भवनको अभाव ।

‘क’ वर्गको इलाका प्रहरी कार्यालय भनेर साइनबोर्डमा लेखिएपनि आफ्नो भवन नहुँदा त्यहाँका प्रहरी जस्ताको टहरामा बस्दै आएका छन् । भएको भवन पनि डेढ वर्षअघिको भूकम्पले भत्काएपछि उनीहरूको यस्तो बिजोग भएको हो ।

‘प्रहरीको हालत देखेर बिचरा भन्दै हिँड्छन् देख्नेहरू पनि’–नाम्चेस्थित इलाका प्रहरी कार्यालयका निरीक्षक तेजनारायण यादवले भने–‘कतिले त नेपालको पुलिसको हालत साह्रै खराब हुनेरहेछ पनि भन्छन् ।’

सोलुखुम्बुको सबैभन्दा माथिको प्रहरी एकाइ हो नाम्चे इलाका । १७ जनाको दरबन्दी भएको सो कार्यालय वर्षौंदेखि राष्ट्रिय निकुञ्जको जग्गामा छ । तर, आफ्नो जग्गा नभएको भने होइन ।

नाम्चे–३ मै १४ आना क्षेत्रफलको जग्गा प्रहरीको नाममा छ । ‘तर उपयुक्त चाहिँ अहिले बसेको ठाउँमै छ’–निरीक्षक यादव भन्छन्–‘जहाँ भएपनि आफ्नै भवन भएको भए बस्न सजिलो हुने थियो । अरूको सुरक्षाका लागि बस्ने प्रहरी आफैं असुरक्षित छौं ।’

नाम्चेमा २०५४ सालमा प्रहरीचौकी स्थापना भएको हो । सीमा प्रशासन, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको गुल्मलगायतका कार्यालय केही व्यवस्थित भएपनि प्रहरीको भने बेहाल छ ।

खासगरी वर्षको ६ महिना पर्यटकको ठूलो भीड हुने खुम्बु क्षेत्रमा प्रहरी र सरकारी निकायको उपस्थिति कमजोर भएको गुनासो बारम्बार सुनिँदै आएको छ ।

सोलुखुम्बुका प्रायः सबै चौकीको हालत उस्तै छ । तर, अत्यन्तै चिसो हुने नाम्चेका प्रहरीलाई भने रात बिताउनै मुस्किल पर्ने गरेको छ ।

स्वास्थ्यसंस्था, विद्यालयजस्ता अरु निकायलाई विभिन्न देशी–विदेशी संस्थाले सहयोग गरेपनि प्रहरीलाई भने कसैले सहयोग नगर्ने हुँदा पनि सबैले उपेक्षा गरेजस्तो बनेको स्थानीयवासीको भनाइ छ । रासस