८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


रुपन्देहीमा ३६ जना डेंगुबाट संक्रमित


0
Shares

लुम्बिनी, मंसिर १ । रुपन्देहीमा मंगलबारसम्ममा ३६ जना डेंगु रोगबाट संक्रमित भएको पाइएको छ । जिल्लाका विभिन्न अस्पतालमा भएको परीक्षणमा यति धेरै संक्रमित फेलापरेको यो पहिलोपटक हो ।

संक्रमितमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका छन् । बुटवलभित्रमात्रै झन्डै २० जना बिरामी फेलापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

ती बिरामीको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, लुम्बिनी अञ्चल अस्पताल, बुटवल हस्पिटल प्रालि, मर्सिसिटी अस्पताल, आम्दा अस्पताललगायतका निजी अस्पतालमा उपचार भइरहेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको लक्षण थाहा पाएपछि अस्पताल पुगेका बिरामी सफल उपचारपछि घर फर्किएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । जिल्लामा पछिल्लो तीन वर्षयता सबैभन्दा बढी डेंगु रोगका संक्रमित फेलापरेका हुन् ।

निरीक्षक शाहका अनुसार रूपन्देहीमा २०७१ मा ९ जना र २०७२ सालमा पाँचजनामात्रै डेंगु रोगी फेलापरेका थिए ।

यो वर्ष भने यो संख्या अझै बढ्न सक्ने जानकारहरू बताउँछन् । डेंगुका बिरामी अप्रत्याशित तरिकाले बढेपछि कार्यालयले रोगबाट बच्ने उपाय र सोको लक्षणबारे जानकारी दिँदै आएको छ ।

कार्यालयले सम्बन्धित नगरपालिका तथा महिला स्वास्थ्य स्वयंसेविकासँग समन्वय गर्दै घरदैलो अभियानलाई तीव्र पारेको छ ।

कार्यालयका अनुसार महिला स्वयंसेविकामार्फत् बुटवल उपमहानगरपालिकाअन्तर्गतका वडा नम्बर–१ देखि १५ सम्म घरदैलो कार्यक्रममा सो रोगका लक्षण बच्ने उपायकोबारेमा जानकारी दिइएको छ ।

रुपन्देहीमा डेंगु रोगका बिरामी अप्रत्याशितरुपमा बढेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका जनरल फिजिसियन डा. प्रवीन खत्रीले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा दिनहुँ उपचारका लागि आइरहेका बिरामीमा एनएसवानएजी रियाक्टिभ देखिएको र ती बिरामी रोगको सुरुआती अवस्थामा छन् भने कतिपय बिरामीमा आइजीएम पोजिटिभ देखिएको छ । रासस