८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


क्यान्सर अस्पतालमा ‘प्रसाद’ शीर्षकमै दुई लाख खर्च


0
Shares

चितवन, कात्तिक २९ । गरिब बिरामीलाई उपचारमा सहुलियत दिन बजेट अभाव भएको जनाउँदै आएको चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अनावश्यक खर्च प्रशस्त भएको पाइएको छ ।

अस्पतालमा दसैं, तिहार र विश्वकर्मा पूजामा प्रसादका लागिमात्रै रु एक लाख ९५ हजार ५७७ खर्च भएको छ ।

अस्पतालभित्र रहेको प्रहरी बिटले गरेको पूजा खर्चको बिल भने आउन बाँकी रहेको अस्पतालको लेखा शाखाले जनाएको छ ।

अस्पताल परिसरमा जलदेवीको मन्दिर छ । मन्दिरमा पूजा गर्न सुरक्षागार्ड, कर्मचारी, सवारी–चालकलगायतलाई प्रसादका लागि अस्पतालले रकम बाँड्ने गर्दछ ।

अस्पताल स्रोतले दिएको जानकारीअनुसार दसैंमा मन्दिरमा पूजा र प्रसाद शीर्षकमा कर्मचारीका लागि रु एक लाख २५ हजार, सुरक्षागार्डका लागि रु ३० हजार, सवारी पूजाका लागि रु २० हजार र विश्वकर्मा पूजा गर्न चालकलाई रु २० हजार ५७७ दिइएको छ ।

गत वर्ष सोही पूजाका लागि रु ८७ हजार ५०० खर्च गरिएको थियो । अस्पतालका कार्यकारी निर्देशकको सोझोपनबाट फाइदा उठाउँदै कर्मचारी, सुरक्षागार्ड र चालकले मनोमानी रकम लगेको अस्पतालभित्रकै अन्य कर्मचारी बताउँछन् ।

त्यसैगरी, अस्पतालका कर्मचारीले मैत्रीपूर्ण फुटबल खेल्ने भन्दै जुत्ता, टीसर्ट, मोजा, ट्याकसुटलगायतमा रु एक लाखभन्दा बढी खर्च गरेको, धरानमा चिकित्सक संघको कार्यक्रमका लागि भन्दै रु एक लाख लगेको, हरेक वर्षझैं यस वर्ष पनि वृत्तचित्र बनाउने भन्दै बिनाप्रतिस्पर्धा रु एक लाख ५० हजार दिइएको, एपोलो अस्पतालका चिकित्सकहरुसँग दुई वर्षअघि अन्तरक्रिया गर्दा होटल होलिडेजमा भएको खर्च विभिन्न शीर्षक बनाएर भुक्तानी गर्न थालिएको स्रोतले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. चीनबहादुर पुनले आफूकहाँ आएका बिलको कतिपयको भुक्तानी भएको र कतिपय भुक्तानी हुनेक्रममा रहेको बताए । अनावश्यक खर्च भएको भए समिति बनाएर छानबिन गर्ने उनले बताए ।

पछिल्लो समय व्यवस्थापन चुस्त–दुरुस्त नहुँदा एसियाकै नमुना अस्पतालकारुपमा चीन सरकारले निर्माण गरिदिएको चितवनको क्यान्सर अस्पताल अस्तव्यस्त बन्न थालेको चिन्ता व्यक्त गर्न थालिएको छ । रासस