
गौर, कात्तिक २९ । रौतहटको देवाही–८ मा सोमबार बिहानै प्रहरी र अज्ञात समुह बीच भएको दोहोरो भिडन्तमा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार प्रहरी र हतियारधारी समूहबीच भएको दोहोरो गोली हानाहानमा हतियारधारी समूहका एक जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीका अनुसार लालबकैया खोलाको बाध हुँदै हतियार लिएर एक समूह आउँदै गरेको विशेष सुचनाको आधारमा मध्य क्षेत्रीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त समूहले प्रहरीमाथि गोली चलाएको थियो ।
सोही क्रममा प्रहरीले जवाफी कारवाही गर्दा अज्ञात समूहका एकजना घाइते भएका थिए । उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान ६ बजेतिर हतियारसहित आएका अज्ञात व्यक्तिहरु र प्रहरी बीच दोहोरो भिडन्त भएको प्रहरी नायव उपरिक्षक भण्डारीले बताए । प्रहरीले घटनास्थलबाट एक–एकवटा इन्सास राइफल, कटुवा पेस्तोल, चाइनिज पेस्तोल र १५ राउण्ड गोली बरामद गरेको छ ।
दोहोरो भिडन्तमा क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएका छन् । घाइते चौधरीको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हतियारधारी समूहका अन्य सदस्यहरु फरार भएको उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्