
नयाँ दिल्ली, चैत १५ । बेरोजगार भएर घरमै बसिरहेको अवस्थामा विश्वकै अग्रणी सर्च इन्जिन ‘गूगल’बाट तपाईलाई रोजगारीको प्रस्ताव आयो भने के गर्नुहुन्छ ? त्यसमा पनि करोडभन्दा माथिको पारिश्रमिकको प्रस्तावसहित !
भारतको मुम्बई बस्दै आएका २१ वर्षीय युवकले यस्तै आश्चर्यजनक प्रस्ताव पाएका छन् । अब्दुल्ला खान नाम गरेका ती युवकले ‘आइआइटी’मा भर्ना हुनका लागि प्रवेश परीक्षा दिएका थिए । तर उत्तीर्ण हुन नसकेर निराश बनेका उनलाई ‘गूगल’ले आकर्षक रोजगारीको प्रस्ताव गरेको छ ।
उनलाई यसै साता गूगलले वार्षिक पारिश्रमिक एक करोड २० लाख भारतीय रुपैयाँ दिनेगरी रोजगारीको प्रस्ताव गरेको हो ।
गूगलले एलआर तिवारी इन्जिनियरिङ्ग कलेज, मीरा रोडका छात्र खानको अन्तरवार्तासमेत लिइसकेको छ ।
कसरी आयो प्रस्ताव ?
खानका अनुसार सुरुमा गूगलबाट रोजगारीको प्रस्ताव आउँदा उनलाई विश्वास नै लागेको थिएन । उनले आफूलाई गूगलबाट आएको इमेल आफ्ना साथीहरुलाई देखाए । त्यसपछि भने उक्त प्रस्ताव वास्तविक नै भएको ठहर गर्दै उनी उत्साहित भए ।
समाचार एजेन्सीहरुले उल्लेख गरेअनुसार खानले आफ्नो प्रोफाइल एउटा वेबसाइटमा राखेका थिए । प्रोग्रामिङ्ग सम्बन्धी प्रतियोगिता आयोजना गर्ने उक्त साइटमा रहेको खानको प्रोफाइल हेरेर नै गूगलले उनलाई चयन गरेको बताइन्छ ।
गूगलका कर्मचारीले उनको प्रोफाइल अध्ययन गरेपछि सम्पर्क गरेका थिए । अनलाइनबाट नै उनको अन्तरवार्ता लिइएको थियो । त्यसपछि उनलाई लन्डनस्थित कार्यालयमा बोलाइयो ।
खानले साउदी अरबबाट विद्यालय तहको शिक्षा हासिल गरेको बताइन्छ । हाल उनी भारतमा बीई (कम्युटर साइन्स) अन्तिम वर्षमा अध्ययनरत छन् । उनी आगामी सेप्टेम्बरदेखि गूगलमा आवद्ध हुने बताइएको छ ।
गूगलमा रोजगारी सुनिश्चित भएपछि उनले भने, ‘मैले यसरी पनि प्रस्ताव आउँछ भन्ने सोचेकै थिइनँ ।’ आफूले रमाइलोका लागि प्रोग्रामिङ्ग सम्बन्धी प्रतियोगितामा भाग लिने गरेको उल्लेख गर्दै उनले भने, ‘गूगलजस्तो ठूलो कम्पनीले यस्ता वेबसाइटमा प्रोग्रामरको प्रोफाइल हेरेर जागिरका लागि प्रस्ताव गर्छ भन्ने सोचेकै थिइनँ ।’ (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्