
मोरङ, कात्तिक २५ । मोरङको उर्लाबारी क्षेत्रमा डेंगुबाट संक्रमित हुनेको संख्या पाँच पुगेको छ ।
उर्लाबारी–६ स्थित मंगलबारे अस्पतालका अनुसार थप एकजना पथरी शनिश्चरे–८ का विक्रम सुनारलाई डेंगु संक्रमण पुष्टि भएपछि यस क्षेत्रमा डेंगु संक्रमितको संख्या पाँच पुगेको हो ।
यसअघि उर्लाबारी–१ की रामकुमारी राई, कमला श्रेष्ठ, उर्लाबारी–४ की सरिता थापा र लक्ष्मी साहको रगत परीक्षणमा डेंगु संक्रमण भेटिएको थियो ।
ज्वरो आएपछि मंगलबारे अस्पतालमा र गोदावरी अस्पतालमा उपचारका लागि पुगेका उनीहरुमा डेंगु संक्रमण देखिएपछि जिल्ला जनस्वास्थ्य मोरङको टोलीले रगत परीक्षण गरेको थियो ।
रगत परीक्षणबाट डेंगु प्रमाणित भएको जनस्वास्थ्यका ल्याब टेक्निसियन राजु राउतले जानकारी दिए ।
चिकित्सकका अनुसार एडिस एजेप्टाई जातको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु सर्छ । यो लामुखुट्टेले जमेको सफा पानीमा लार्भा हुर्काउँछ ।
यसैबीच, उर्लाबारी क्षेत्रमा डेंगुका बिरामी फेलापरेपछि उर्लाबारी नगरपालिका, मंगलबारे अस्पताल र जिल्ला जनस्वाथ्य कार्यालयले लार्भा नस्ट अभियान सुरु गरेको भेक्टर कन्ट्रोल सुपरभाइजर रामकुमार लामाले जानकारी दिए ।
लामखुट्टेको लार्भा नस्ट गर्ने अभियानअन्तर्गत् उर्लाबारीको ३ र ४ नम्बर वडामा विषादी छर्किन सुरु गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्