
महोत्तरी, कात्तिक २४ । दाजु र भतिजाले नै ‘जग्गा देउ नत्र मारिदिन्छु’ भन्दै पटक–पटक कुटपिट गर्दै ज्यानै लिनेसमम्मका धम्की दिएकाले लामो समयदेखि साधु रामनन्दन राय आत्मरक्षाका लागि घरै छोडेर अन्यत्र बस्दै आएका छन् ।
जिल्लाको सुन्दरपुर गाविस–६ निवासी उनका दाइ, भाउजु र भतिजोले पैत्रिक सम्पति हडप्न कुटपिट गर्दै आएकाले ज्यान जोगाउन भाग्दै हिँडेको तीन वर्ष भइसकेको छ ।
ब्रह्माचारी जीवन बिताइरहेका राय आत्मरक्षका लागि विगत तीन वर्षदेखि उजुरी गर्दै आएपनि स्थानीय प्रहरी र प्रशासनबाट सुनुवाइ नभएको गुनासो गर्छन् ।
आफ्ना नाममा घरसहित करिब १७ कठ्ठाजग्गा रहेपनि उपभोग गर्न नपाएपछि उनले विगत तीन वर्षमा जिल्ला प्रशासन कार्यालयमा १२ पटक, जिल्ला प्रहरी कार्यालयमा तीनपटक र प्रहरीचौकी मगरथानामा तीनपटक सुरक्षाका लागि निवेदन दिइसकेको तर सुरक्षाको अनुभूति नभएपछि डरले गाउँ छोडेर बस्नुपरेको बताए ।
प्रशासन र प्रहरीले भने विपक्षी दाजु र भातिजोलाई पटक–पटक समातेर अब आइन्दा कुटपिट नगर्ने भन्दै कागज गराएपनि पुनः बारम्बार मरणासन्न हुनेगरी कुटपिट गर्ने गरेको साधु रायको गुनासो छ ।
न्यायको लागि पुनः विगत तीन महिनादेखि प्रहरीमा धाउँदै गरेका उनले ‘आफू मरेपछि सबै सम्पत्ति उनीहरुले नै पाउने हुन् तर आफू बाचुन्जेल दुईछाक खान कसैको मुख ताक्नु नपरोस् भनेरमात्र न्याय खोजेको’ बताउँछन् । रासस
प्रतिक्रिया दिनुहोस्