
इनरुवा, कात्तिक २३ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवाबाट नक्कली नेपाली नागरिकतासहित दुई बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
इनरुवा–६ स्थित रहेको एक होटलबाट दुई विदेशीलाई नक्कली नेपाली नागरिकतासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको गस्ती टोलीले कात्तिक १९ गते शंकास्पद अवस्थामा दुईजना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुको साथबाट नेपाली नागरिकताको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका बंगलादेशको ट्याङग्याल स्थायी ठेगाना भएका हयात मियाँ भन्ने आसान मियाँले पश्चिम कुशहा–९ का इनुस भन्ने व्यक्तिलाई बुबा बनाइ वंशजका आधारमा २०६३ सालको नागरिकता टोलीबाट ३०४५/२५६६ नम्बरको नेपाली नागरिकताको नक्कली प्रमाणपत्र लिएका थिए ।
त्यसैगरी, बंगलादेशको पावना जिल्ला स्थायी ठेगाना भएका शमशेर भन्ने सिजारोल मल्लिकले सुनसरीको पश्चिम कुशहा–४ का सुलेमान मियाँलाई बुबा बनाइ वंशजको आधारमा ३०४५/२८८४ नम्बरको नक्कली नेपाली नागरिकता प्रमाणपत्र लिएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय सुनसरीबाट जारी भएको नपाइएकाले निजलाई नागरिकता कीर्तेमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको घिमिरेले बताए ।
प्रहरीले पक्राउ परेकालाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । रासस
प्रतिक्रिया दिनुहोस्