
म्यानहाट्टन, न्यूयोर्क, कात्तिक २३ । विश्वविख्यात पप गायिका म्याडोनाले सोमबार साँझ न्यूयोर्कको अति व्यस्त व्यापारिक इलाका म्यानहाट्टनको मुटु वासिंगटन स्क्वायरपार्कमा अप्रत्यासितरुपमा संगीत कार्यक्रम आयोजना गरी गायनकला प्रस्तुत् गरिन् ।
कुनै पूर्वप्रचारबिना वा कसैलाई सुइँकोसम्म नदिइ आयोजित उक्त संगीतमय साँझमा उनले ‘एक्स्प्रेस योरसेल्फ’, ‘डन्ट टेल मी’, ‘लाइक अ प्रेयर’जस्ता अतिलोकप्रियका साथै अरु केही गीतहरु गाएर स्रोताहरुलाई मक्ख पार्दै हिलारी क्लिन्टनका पक्षमा मत मागिन् ।
म्याडोनाको संगीत सुन्न तँछाड्–मछाड् गर्दै तत्कालै जम्मा भएका स्रोताहरुको भीडलाई सम्बोधन गर्दै ‘हामीले अमेरिकालाई फेरि–फेरि महान् बनाइरहनुपर्दैन, बरु अमेरिकी महानतालाई सदैव कायम राख्न हामी सबै एकढिक्का हुनु जरुरी छ । कसैलाई भेदभाव नराखी सबैलाई एकताको सूत्रमा बाँध्ने राष्ट्रपतिलाई जिताउन हामी गइरहेका छौं’–उनले भनिन् ।
अमेरिकी झन्डाको चित्र (स्टार एन्ड स्ट्रिप) अंकित ‘ह्याट’मा सजिएकी यी गायिकाले आफ्नो प्रस्तुति दिउन्जेल सबै स्रोताहरुले उनलाई घेर्दै सँगसँगै गीत गाए ।
आधाघन्टासम्म सन्चालित सो कार्यक्रममा हिलारीका पक्षमा मत माग्दै केही स्रोताले ‘एलबिजिटी फर एच’ अंकित प्लेकार्ड प्रदर्शन गरे ।
मतदान केन्द्र खुल्न १४/१५ घन्टा बाँकी रहेको यस अवधिमा हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प दुबैजना एक–एक भोटलाई महत्व दिँदै आफ्नो पक्षमा पार्ने तीव्र होडबाजीमा लागेको पाइन्छ । रासस/एपी
प्रतिक्रिया दिनुहोस्