१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी गुरुङसहितको टोली कोरलातर्फ


0
Shares

सुन्दर कुमार थकाली

मुस्ताङ, असार २४ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, आन्तरिक मामला तथा कानुन मन्त्री हरिबहादुर चुमान, प्रतिनिधि सभाका सांसद प्रेमप्रसाद तुलाचन, प्रदेश सभा सदस्यद्वय ईन्द्रधारा बिष्ट र महेन्द्रबहादुर थकाली, मुख्य मन्त्रीका स्वकीय सचिव सुर्य गुरुङ लगायतको टोली कोरला नाकाको भ्रमणको क्रममा आईतबार बिहान हिमालपारीको जिल्ला मुस्ताङ आईपुगेको छ ।

उत्तरी चीनको बहुचर्चित कोरला नाकाको बस्तुगत अध्ययन÷अवलोकन तथा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घिलिङमा सोमबारदेखि सुरु हुने फुटबल खेल उद्घाटनका लागि मुख्यमन्त्रीसहितको टोली मुस्ताङ आएको मुख्यमन्त्रीका स्वकीय सचिव सुर्य गुरुङले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्रीको बहुचर्चित उत्तरी कोरला भ्रमणको शिलशिलामा कालिगण्डकी करिडोर अन्तर्गतको बेनी– जोमसोम–कोरला सडकखण्डको १ सय ८६ किलोमिटर निर्माणाधीन सडकको समेत निरीक्षण गर्ने कार्यक्रम छ ।

मुख्यमन्त्री गुरुङसहितको टोलीलाई जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो गुरुङ, उपप्रमुख राजेन्द्र शेरचन, मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल, घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङ, मुस्ताङका प्रहरी प्रमुख महेन्द्र खड्का, नेपाल सेनाका कर्नेल पंकज पोख्रेल, सशस्त्र प्रहरी नायव उपरीक्षक सरोजसिह खड्का लगायत जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरु तथा जोमसोम पुथाङ आमा समुहको टोलीले जोमसोम विमानस्थलमा भब्य स्वागत गरेको थियो ।

जोमसोम विमानस्थलको अतिविशिष्ट कक्षमा भ्रमणबारे संक्षिप्त प्रतिक्रिया दिदै आन्तरिक मामला तथा कानुन मन्त्री हरिबहादुर चुमानले कोरला नाकाको अवलोकन तथा ४ नम्बर गण्डकी प्रदेशसँग सरोकार राख्ने विषय भएकाले त्यहाँको विद्यमान अवस्थाबारे जानकारी हासिल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको जानकारी दिए ।

मुख्यमन्त्री सहितको टोली आईतबार नै सडकमार्ग हुँदै कोरला नाका तर्फ प्रस्थान गरेको मुुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।

टोली आज उपल्लो मुस्ताङको लोमान्थाङ बस्ने र भोलि बिहान कोरला नाकातर्फ जाने कार्यक्रम रहेको प्रजिअ पौडेलले बताए ।