१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


सुर्खेतमा प्रहरीचौकीमै आक्रमण, हतियार लुटियो, सातजना समातिए


0
Shares

                                                                   फाइल फोटो
सुर्खेत, कात्तिक १७ । मदिरा सेवनको विषयमा विवाद हुँदा सुर्खेतको आग्रीगाउँ प्रहरीचौकीमा स्थानीय युवाले आक्रमण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मदिरा सेवन गरेका स्थानीय युवा र प्रहरीबीच विवाद भएको थियो ।

उक्त विवादले उग्ररूप लिएपछि स्थानीयले घरेलु हतियारसहित मंगलबार राति चौकीमा आक्रमण गरी चौकीमा भएका तीनओटा राइफल, एउटा पेस्तोल र १५० राउन्डभन्दा बढी गोली लुटेका थिए ।

करिब ३० जनाको संख्यामा रहेका स्थानीयले बन्चरो, हँसियालगायतका घरेलु हतियारले चौकीमा आक्रमण गरेका हुन् ।

प्रहरीले लुटिएका सबै हतियारहरु फेलापारिएको दाबी गरेको छ । लुटिएका केही हतियार स्थानीय खोला र गाउँलेको घरमा फेलापरेको प्रहरीले जनाएको छ ।

चौकी आक्रमण र हतियार लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले सातजनालाई पक्राउ गरेको छ ।

चौकी आक्रमणपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक मोहन आचार्यको नेतृत्वमा घटनास्थलमा थप प्रहरी टोली पुगेको छ ।