
सुुरजवीर बज्राचार्य
नेपाल सम्वत् राष्ट्रिय सम्वत् घोषणा भएको ८ वर्ष भयोे । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारकै पालामा यो घोषणा भएको हो । तर, नेपाल देशको नामबाट स्थापित, यहाँको माटो र मौसमसापेक्ष संस्कृति र जीवनशैलीको आधार भइकन पनि यो सम्वत् नेपालको सम्वत् नेपाल सम्वत् बन्न सकिरहेको छैन ।
नेपाल सम्वत् नेपालको नामले यो नेपालको आफ्नो सम्वत् हो भन्छ, नामै काफी छ । सरकारी एवं दैनिक कामकाजमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा काम गर्न कञ्जुस्याइँ गर्दै आएको सम्वत् संरक्षक समुदाय नेवारहरुकै अग्रजहरु, जो नेपाल सम्वत्को आन्दोलनको नेतृत्वपंक्तिमा देखापर्छन् र नेपाल सम्वत्को नयाँ वर्ष फेरिएको पहिलो दिन कछलाथ्व पारुका दिन आयोजना हुने विभिन्न सभामा लोकप्रिय घोषणा गरी कार्यान्वयन बिर्सने सरकार प्रमुखहरु, नेताहरुकै कारण नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वा राष्ट्रिय विभूति घोषणा भइकन र नेपाल सम्वत् राष्ट्रिय सम्वत् घोषणा भइकन पनि राष्ट्रिय सम्वत्को अर्थ अनुभव गराउने कार्य जहाँको त्यही छ ।
त्योबेला रहेको आर्थिक असमानता शंखधरले हटाए र ऋणी, दुःखीहरुलाई ऋणमुक्त गराइ आर्थिक असमानता हटेको त्यो खुसियालीको साक्षी नेपाल सम्वत् बन्यो । यो शंखधर सम्वत् बन्न सक्थ्यो, त्योबेलाका शासकहरुको नामबाट वा अन्य कुनै प्रभावबाट प्रभावित नामले यो सम्वत् छोपिन सक्थ्यो शक्ति र कार्यको दृष्टिकोणले । तर, यो नेपाल सम्वत् बन्यो । नेपाल देशको नामबाट स्थापना भयो र प्रचलनमा आयो ।
नेपालको इतिहासका पानाहरुमा विभिन्न घटनाको साक्षी सम्वत् बनेको नेपाल सम्वत्अनुसार यस वर्ष लक्ष्मीपूजाको दिन (कात्तिक १४) नेपाल सम्वत् ११३६ को कौलागाः अमाइ (औंसी) अर्थात् अन्तिम दिन र ने.सं. ११३७ कछलाथ्व पारु (कात्तिक १५) अर्थात् फेरिएको नयाँ वर्षको पहिलो दिन हो । लक्ष्मीपूजा, म्हपूजा र किजा पूजा (भाइटीका) यिनै तीन दिन भनेको नेवार समुदायको स्वन्ति, स्वन्हु तिथि (तीन दिनको तिथि) हो भने नेवार समुदायभित्रै यो समयलाई यमपञ्चकको रुपमा पनि मनाउने पनि गरिन्छ ।
भाषाले बाँधेको वृहत नेवारभित्रको विविधता यसले प्रष्ट्याउँछ । नेपाल सम्वत् चन्द्रमाको गतिसँग गणना हुन्छ । वि.सं. सूर्यको गतिमा । वृहत ज्योतिषसारमा उल्लेख भएको छ–पृथ्वीले सूर्य परिक्रमा गर्दा ३६५.२४२१९९१ दिन अर्थात् ३६५ दिन ५ घण्टा ४८ मिनेट लिन्छ । यसरी २४ घण्टाको एक दिनको गणना गर्दा सौर्यमासमा दिन गणना गर्नेहरुले ४ वर्षमा एकपटक फेब्रुअरी महिनामा एकदिन बढी राखी २९ दिन गर्ने गर्दछ ।
त्यसरी नै चन्द्रमास अनुसार २४ घण्टाको एक दिन गणना गर्दा चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न २९.५३ दिन लिने गर्दछ । यसकारण चन्द्रवर्षमा ३५४ दिनको हुन्छ । यसरी ११ दिनको कमी हुन जान्छ । यो दिनको कमीलाई समायोजन गर्नको निमित्त तीन वर्षमा एकपटक अधिक मास (अनाला/मलमास/मनमास) राखी १३ महिनाको एक वर्ष हुन्छ । यो मासमा धार्मिक गतिविधि गरिन्न तर मत्स्यनारायणको मेला यही महिनाभरी मच्छेगाउँमा लाग्ने निकै प्रचलित मेला हो ।
नेपाल सम्वत्अनुसार पनि तिथिमा दिनहरु गणना हुन्छ । तिथिमा दिन गणना हुने अरु पनि सम्वत्हरु छन् । नेपाल सम्वत्अनुसार भने १२ महिनाको नामाकरण कछला, थिंला, पोहेला, सिल्ला, चिल्ला, चउला, बछला, तछला, दिल्ला, गुंला, ञंला, कौला हो ।
शुक्ल पक्ष र कृष्ण पक्षलाई थ्व र गाः भनिन्छ जसले ‘थ्व’ले महिनाको अगाडिको १५ दिन र ‘गाः’ले पछाडिको १५ दिन बुझाउँछ । तिथि गणना गर्दा कहिले एउटै तिथि दुई दिन देखिने त कहिले तिथि हराउने वा टुट हुने गर्दछ । यसरी टुट हुनु वा सौर्यमासअनुसारको दुई दिनमा चन्द्रमासअनुसार एउटै तिथि देखिनुले दैनिक कार्यालयहरुमा प्रयोग गर्न सजिलो नभएको तर्कहरु हुने गरेको छ । तीन वर्षमा एकपल्ट १३ महिना हुने कारणपनि यसमा थपिन्छ ।
यही कारण चन्द्र शम्शेरले तिथि प्रचलनबाट हटाएर विक्रम सम्वत्को प्रयोग सुरु गरे । राज्यले आफ्नो नमानेपछि नेवार समुदायमा सिमित नेपाल सम्वत् दवाउन पञ्चायतकालमा पनि गतिविधिहरु निकै भए । तर पनि नेपाल सम्वत् प्रचलनबाट हराएको छैन । नेपाल सम्वत् जीवितै छ, प्रचलनमा छ । यसको प्रयोग र संरक्षण जनस्तरबाटै भयो ।
राणाकाल, पञ्चायतकालमा राज्यले सम्वत् मास्न गरेको प्रयासहरुकै कारण सम्वत्बारे प्रचार र गतिविधिले एउटा आन्दोलनको रुप लियो । ‘नेपाल सम्वत् राष्ट्रिय सम्वत्, न्हूदँया भिंतुना’ यिनै आवाजहरु पञ्चायतकालमा गुञ्जियो । यही आवाज व्यवस्था परिवर्तनमा पनि उर्जा थप्यो ।
आज नयाँवर्ष मनाउने प्रचलन यति भव्य बनेको छ कि नयाँवर्ष मनाउनकै घरभित्र परिवारबीच हुने ‘म्हपूजा (मन्दः – मण्डला अगाडि बसी आफ्नै शरीरको पूजा गरी शरीरले सधैं साथ देओस् भनी शक्ति उपासना गर्ने) गर्ने चलनसँगै जनस्तरबाटै पात्रो निर्माण, प्रभातफेरी, सांस्कृतिक र्याली, सांगीतिक एवं सांस्कृतिक कार्यक्रम, मैनबत्ती र्याली, मन्दः (मण्डला) प्रदर्शनी एवं प्रतिस्पर्धा, खेलकुद गतिविधि, साइकल, मोटरसाइकल र्याली, शुभकामना आदानप्रदानका लागि विभिन्न स्थानमा जाने, ती स्थानका वासिन्दाहरुले भव्य स्वागत गर्ने, भिंतुना (शुभकामना) आदानप्रदान कार्यक्रम आयोजनादेखि हाल विस्तार भइरहेको चियापान समारोह मात्र नभइ सर्जकहरुले आफ्ना सिर्जनाहरु पुस्तक, क्यासेट, सिडी, चलचित्र बजारमा ल्याउने साइतसमेत बन्न गयो ।
यी गतिविधि हालसम्म पनि निरन्तर छ र यसले नयाँ विकसित संस्कृतिको रुपमा पाइसकेको छ । सबै हुँदाहुँदै पनि दैनिक व्यक्तिगत एवं सरकारी कामकाजमा प्रयोगमा ल्याउने शब्दमा सीमित प्रयासहरुले आजपनि अल्मलाइरहेको छ ।
संस्कार, संस्कृति र जीवनशैलीको आधार बनेको तिथि परम्परा अंगालेको नेपाल सम्वत्लाई वि.सं. तथा इ.सं. जस्तै दैनिक कार्यमा प्रयोगमा ल्याउने भनेर गरिएको वाचाहरु पूरा नहुनाले नेपाल सम्वत् अझै संकुचित भएको अनुभव हुन्छ । अर्को कारक भनेको यसलाई नेवार समुदायमा सीमित गरेर हेर्ने चलन हो ।
माथि उल्लेख गरेजस्तै भन्न निश्चित रुपमा सकिन्छ कि नेवारहरु नेपाल सम्वत् संरक्षणमा अग्रणी छन् । नेवार समुदायले त्यति मनमा नलिएको भए राणाकालले निलेका धेरै महत्वपूर्ण सन्दर्भहरुमा नेपाल सम्वत् पनि पर्ने थियो । तर, परेन । त्यसैले यो समुदायलाई संरक्षक भन्न सकिन्छ । तर, सम्वत् नै नेवार सम्वत्का रुपमा बुझिदिँदा, बुझाइदिँदा अन्याय हुन जान्छ, दुःखद बन्न जान्छ ।
नेपालभित्र बोलिने प्रत्येक भाषा नेपाली हो, प्रत्येक भेष नेपाली हो, प्रत्येक संस्कृति नेपालको संस्कृति हो, प्रत्येक धर्म नेपालको धर्म हो भन्ने भावनाविपरीत हुन जान्छ ।
यो संकुचनबीच पनि नेपाल सम्वत्ले व्यापकता पाउँदै गएको अर्कोपक्ष पनि छ । घरभित्र, टोल–बस्ती, काठमाडौं उपत्यका, अन्य नेवार बस्तीहरुमा नयाँवर्ष मनाउन गरिने गतिविधिले समुदाय र भूगोलको सीमा नाघेको छ ।
देशभित्रै पनि नेपाल सम्वत्अनुसार नयाँवर्ष मनाउने क्रममा हुने गतिविधि एक स्थान र समुदायको घेरा वा पर्खाल नाघेर विभिन्न संघसंस्था, दल हुँदै सरकारसम्म पनि पुगेको छ । अझ यतिमात्र होइन, समुद्रपारी धेरै देशहरुमा न्हूदँया भिंतुना (नयाँ वर्षको शुभकामना) आवाज गुञ्जिने क्रम निकै बढेको छ यतिबेला । अन्तर्राष्ट्रिय जगतमा धेरै चिन्तममनन, कार्यक्रम हुन थालेका छन् ।
यदि सरकार र सरोकारवालाले शंखधर साख्वा र साख्वाको कृति चिनाउन, प्रचारप्रसार गर्न तथा नेपाल सम्वत्लाई सरल रुपमा नेपाल र नेपालीको दैनिकीभित्र प्रवेश गराउन आवश्यक पहलकदमी बढाए नेपालले आफ्नो नामबाट स्थापित सम्वत् पाउँथ्यो । नेपाल सम्वत् सबै नेपालीको सम्वत् बन्थ्यो, नेपालको सम्वत् बन्थ्यो ।
यतिमात्र होइन, यो संसारकै लागि उदाहरणीय बन्थ्यो किनभने देशको नामबाट स्थापित र प्रचलनमा रहेको सम्वत् संसारकै दुर्लभ घटना हो ।
प्रतिक्रिया दिनुहोस्