
पेशल आचार्य –
एकदिन चिया गफमा बौद्धिक साथीले कुरा उप्काए –‘लोकमानका पक्ष÷विपक्षमा लेखिएका अखबारीय समाचार, रेडियो÷टिभीमा बोलिएका÷देखाइएका आवाज र दृश्य साथै अनलाइनमा पोष्ट भएजति सबै चिजहरूको तौल गरिएको थियो भने सयौं टन अखबारी कागज, हजारौं केजी टेप रेकर्डर र लाखौं भर्चुअल पाना हामीले विना काममा खर्च ग¥यौं । नेपाली समाजले ती वस्तुहरू दीगो आर्थिक विकास, नीतिनिर्माण र गरिब नेपालीका लागि उन्नतिमा खर्च गरेको भए धेरै सार्थक परिवर्तन हुन्थ्ये होलान् ।’ सामान्य मानिस लोकमानका विपक्षी कित्तामा उभिएर सूचना ग्रहण गर्न मात्रै लागेका छन् । साथीको कुरो भने गहिरो थियो । हो पनि नेपाल कवि भूपिले भनेझैँ ‘हल्लै हल्लाको देश हो’ ।
लोकमानको विषय अब राजनीतिक विषयमा मात्र सिमित रहेन । मानिसहरू बहु दृष्टिकोणले समेत हेर्न थालेछन् –राष्ट्रिय विषय वस्तुलाई । नेपालमा जब स्वतन्त्र समाज र खुला अर्थ नीतिका लागि प्रजातन्त्रको आगमन भयो अनि नेपालीहरूको सोच्ने शैली मै परिवर्तन भयो । कारण र प्रभावका हेरी नेपालीहरू पनि ‘सोसियल इस्सु’ मा पाँचौ आयामले बहस गर्न सक्ने भैसकेका छन् ।
राजनीतिको आरन यतिखेर लोकमान नामक ‘मेटल’ ले तताएको जो छ । अख्तियार प्रमुख लोकमान सिँह कार्कीमाथि महाभियोगको प्रस्ताव संसदमा दर्ता भएपछि नेपाली राजनीतिमा एकाएक बहुतरङ्ग पैदा भयो । माओवादी–एमाले मिलेर प्रस्ताव दर्ता गराएपछि काँग्रेस पनि पक्षमा उभिन बाध्य भएको छ । कार्तिक ९ गतेको संसद छलफलले त्यो कुरा ‘एहसास’ गरायो ।
‘भारतीय ग्राण्ड डिजायन’ अनुसार अख्तियार प्रमुख बनाइएका लोकमानमार्फत् शक्तिकेन्द्रको स्थापना गरी भारत नेपाली लोकतन्त्रमाथि सँधै ‘डोमोक्लिसको तरबार’ झुण्ड्याइरहन चाहन्थ्यो । उसको सपना त्यतिखेर पूरा भयो । त्यसयता नेपालमा केकस्ता घटनाहरू घटे सचेत नेपालीमा जगजाहेर छ । काँग्रेसलाई अहिले लोकमान ‘फालुम कि पालुम’ भैरहेको छ । ऊ ‘विधि’मा चलेको रहेछ भने ‘फालुम पट्टि’ जानेछ तर ‘निधि’ले चलेको रहेछ भने ‘पालुम’ पट्टि जानेछ । फुकीफुकी पाइला चाली र सोची सम्झीकन काँग्रेसले निर्णय लिन सकेन भने लोकमान ‘इस्यु’ मा काँग्रेसमा फुट हुने र आउने निर्वाचनमा उसको पत्तासाफ हुने तर्क काँग्रेसी हितचिन्तक बुद्धिजीवीहरू नै गर्न थालेका छन् ।
नेपाली राजनीतिमा भारतीय हस्तक्षेपशृङ्खला नयाँ भने होइन । मधेशी मोर्चाको लोकमान प्रकरणमा साँधिएको मौनताले धेरै ‘अर्थ’ राख्छन् । भन्न त मधेशी नेताहरू ‘मधेशको मागबमोजिम संविधान संशोधनको कार्यलाई पछि धकेल्न या गुमराहमा राख्न कार्की प्रकरण उछालिएको’ भन्दैछन् । तर भित्री अर्थमा कुरा त्यति मात्र होइन । भारतद्वारा पालित, पोषित र प्रशिक्षित कैँयौँ मधेशी नेताका अन्तर्यमा लोकमानका विपक्षमा जाँदा भारत आफूहरूसँग रिसाउँछ भन्ने हो ।
‘सत्ता समिकरण भत्कन्छ’ कि भन्ने डरले काँग्रेस केन्द्रीय समितिको बैठकले लोकमान महाभियोगका पक्षमा निर्णय लिन सकेन । अर्कोकुरा भारतीय राजदूतको लोकमान पक्षमा गरिएका कूटनीतिक प्रतिरक्षात्मक गोप्य व्यवहारले पनि लोकमान मुद्दा लर्तरो रहेनछ भन्ने पुष्टि गर्दछ । २ हप्ताका लागि गरिएको संसद् स्थगनले ‘कतै यो इसुले ‘लहरो तान्दा पहरो गर्जने’ त होइन ?’ भन्नेहरू यसो पनि भन्दैछन् । नेपाली राजनीतिमा सतहमा आएका कुरा सही नहुने तर भित्री कुराले बढी प्रभावी भूमिका खेल्ने ‘कडवा सच’ २०४६ को परिवर्तन पछि राजनीतिमा भएका धेरै परिघटनाहरूले पुष्टि गरिसकेका छन् ।
संसद्मा रहेका ससाना दलहरू अलमलको स्थितिमा भए पनि तिनीहरू माओवादी–एमाले प्रस्तावको विपक्षमा जानसक्ने स्थिति छैन । आफ्नो राजनीतिक साखकै लागि तिनीहरूले महाभियोग पक्षमा भोट दिने निश्चित छ । ९ गते भएको छलफलका क्रममा संसद्मा त्यसको प्रतिछायाँ देखिइसक्यो ।
रह्यो कुरा काँग्रेसको । ‘काँग्रेस इतिहासमा रमाउने र वर्तमानमा डराउने र भविष्यमा हराउने पार्टी’ हो । यसले समयको पदचापलाई बुझेर आम जनमानसका पक्षमा खरो निर्णय लिन सकेन भने लोकमान त यसै जान्छन् उसै जान्छन् । उनीसँगै सती गएका खण्डमा काँग्रेसको भएको रहलपहल साख सबै तुरिन्छ । गगन, धनराज, प्रदीप र रामहरिजस्ता युवा काँग्रेसीहरू कुनै पनि हालतमा लोकमानलाई राख्नै नहुने तर्क गर्दैछन् । धनराजले त भनिसके –‘बरू सांसद पद त्याग्छु तर लोकमानलाई बचाउनु हुँदैन ।’ संसदमा गगनको भाषणले पनि ठूलो अर्थ बोलेको छ ।
अब जनता जागरूक छन् । लोकमानको नियुक्ती जस्तोसुकै प्रभाव र जहाँसुकैको दवावमा गरिएको भए पनि उनले पावर आडमा नेपाली राजनीति र प्रशासनमा मच्चाएको ‘कोहराम’ नेपाली सबै पार्टीका नेताहरू ऐनमौकामा चुप लागेर बस्दा यस्तो अवस्था निम्तिएको हो । नत्र उनलाई ‘साँढे’ बन्न दिने नेताहरू र नियुक्तिका लागि मोहर लगाउनेहरूप्रति पनि अनुसन्धान र कार्यवाही गर्नु बाञ्छनीय छ । यस मानेमा विभिन्न कोण, प्रतिकोणहरूबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै आवाजहरू बुलन्द हुँदैछन् । संसद्मा मात्र शक्ति निहित छैन अब समाजमा पनि शक्ति संप्रेषित भैसक्यो ।
नेपाली सबैजसो पार्टीमा भारतको भलो र हुँदो गर्ने केही नेताहरू छन् । भारतले उसका छिमेकीहरूलाई चैनको सास फेर्न कहिल्यै दिएन । अनेक प्रकारका सूत्रधारको प्रयोग गरेर नेपाली राजनीतिलाई सात सालदेखि गिजोल्ने कुप्रयत्न गर्यो । गिरिजा शासनकालमा अर्थमन्त्री महेश आचार्य हुँदा नै लोकमानको शक्ति उदय भयो । ऊ बेलाको टिबडेवाला एल्सी काण्ड हुँदै काठमाडौँ विश्व विद्यालय भर्ना परीक्षा, किष्ट मेडिकल कलेज सिटवृद्धि, मालदार अड्डामा कर्मचारी सरुवा र प्रहरीको बढुवामा ‘लोकमान शैली’, एनसेलको मुनाफा विदेश लैजान राष्ट्र बैँकलाई दिएको अनुचित दवाव र अनेकौं साना माछा पक्रेर ‘शेरगुल’ मच्चाई ठूला माछासँग गरेको आर्थिक बार्गेनिङ्जस्ता सैयौं हर्कतहरूले जनतामा उनी प्रतिको विरोधी मानसिकता बनेको हो । जुनकुरा बुझ्न वर्तमानका छापा र अनलाइन माध्यम काफी छन् ।
लोकमान महाभियोग मुद्दा दलहरूले सोचजस्तो सजिलै ‘वार कि पार’ गर्न सकिने परिस्थितिमा छैन पनि । कुराको चुरो यहीँनेर अल्झिएको छ । रोग अब महारोग भैसकेको छ । महाभियोग प्रस्ताव दर्ता भैसके पछिको प्रधानमन्त्री प्रचण्डको ‘मलिन मुहार’ र ऊर्जामन्त्री जनाद्र्धन शर्मालाई उनले ‘एकान्तमा हप्काएको’ भनिएको दृश्यले लोकमानका बहुरूप र तुरूपहरू नेपाली राजनीतिका जरा जरासम्म पुगेर ‘जरासन्ध’ भैसकेका रहेछन् भन्ने बुझाउँछ ।
एमाले अध्यक्ष केपी ओलीले ‘एक गोली से दो सिकार’ गर्ने शैलीले जुन परिवेशमा यो प्रस्तावलाई संसद्मा दर्ता गराउन गतिलो भूमिका खेले जसले एमालेलाई फाइदाजस्तो देखिए पनि महाभियोगको सेफ ल्याण्डिङ् सही र बुद्धिमानी तबरले हुन सकेन भने लोकमानरूपि अश्त्र नेपाली राजनीतिमा ‘बुम¥याङ्’ शैलीमा फर्कनेछ । त्यतिबेला त्यसले कसकसलाई कसरी प्रहार गर्ने छ त्यो अहिल्यै कल्पना गर्न सकिने स्थिति छैन । भनिन्छ –‘मर्ता क्या नही कर्ता’ ।र बाँकी रह्यो काँग्रेसको कुरा । ऊ ‘हगी सकेपछि दैलो देख्ने’ लोककथाको त्यस्तो ‘ज्वाइँ विम्ब’ मा उभिएको पात्र हो जो आफूले सही निर्णय लिन नसकेपछि पार्टी सभापति भारतको ‘जरूरी’ ३ दिने भ्रमणमा हान्निएका छन् । अब हेर्नु छ लोकमान व्यक्ति, विकृति हुँदै प्रवृत्तिमा मौलाएको एउटा अदृश्य र ठूलो शक्तिको कसरी अवसान हुनेछ ? जनता आँखा तीखा पारेर यो परिदृश्य हेरिरहेका छन् ।
आसन्न निर्वाचनहरूलाई परिलक्षित गर्दै काँग्रेसले ठोस र सही निर्णय लिन सक्यो भने उसको साख समाजमा रहन्छ नत्र लोकमानको ‘यु टर्न’ गराउन ऊ यो वा त्यो बहानामा उधत्त भयो भने नेपाली लोकतन्त्र मात्र होइन सम्पूर्ण राजनीतिक प्रक्रिया पुनः भारतीय प्रभावको सुनामीमय चक्करमा पर्ने निश्चित छ । ‘दृश्यअदृश्य पावर एक्सरसाइज’ गर्दै गरेका तीन ठूला दलका पावर किङ्हरूले बेलैमा सोच्ने बेला भएको छ ।
राजनीतिक पार्टीहरूमै सहमति र समझ्दारी खोज्ने भन्ने नाममा दुई हप्ता लामो संसद् विदा दिइएको परिदृश्यले नै साफासाफ गरी बताइसकेको छ –‘रात रहे अग्राख पलाउँछ’ ।
लोकमानलाई अख्तियारमा पुर्याएर सिंगो मुलुकलाई अपमान गर्नेहरुलाई कस्तो कारवाही हुन्छ र कहिले हुन्छ, आमा नेपालीले खोजेको जवाफ हो यो । लोकमानलाई कारवाही गरेर आफ्नो अपराध दलहरुले लुकाउन पाउदैनन् ।
प्रतिक्रिया दिनुहोस्