१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


उरुग्वेका पूर्वराष्ट्रपतिको निधन


0
Shares

मोन्टेभिडियो (उरुग्वे), कात्तिक ९ । उरुग्वेका पूर्वराष्ट्रपति जर्ज ब्याटलको ८८ वर्षको उमेरमा निधन भएको अस्पताल स्रोतले मंगलबार जनाएको छ ।

उनी २०औं शताब्दीका उरुग्वेका राजनीतिक हस्तीहरुमध्ये एक प्रमुख पात्रकारुपमा परिचित थिए ।

अक्टोबर महिनाको सुरुतिर आफ्नो राजनीतिक दलः कोलोर्‍याडो पार्टीमा आयोजित एक जमघट कार्यक्रममा सामेल भएकाबखत पूर्वराष्ट्रपति ब्याटल एकपटक अकस्मात् लडेर नराम्ररी टाउको बज्रिइ बेहोस भएका थिए ।

उनलाई तत्कालै स्थानीय सानाटोरियो अमेरिकानो अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल स्रोतले बताएअनुसार टाउको बज्रिएको कारण उनको मस्तिष्कमा अधिक रक्तश्राव भएकोले मस्तिष्कको अपरेसन गरिएको थियो ।

तर, उनी बाँच्न भने सकेनन् । उपचारकैक्रममा उनलाई गत सोमबार अबेर राति मृत घोषित गरियो ।

पूर्वराष्ट्रपति ब्याटल बाह्यपक्षलाई बढी ध्यान दिने ‘बहिर्मुखी’ र ‘मनमोजी’ प्रबृत्तिको व्यक्ति भनी परिचित थिए ।

उनीबाट पटक–पटक राजनीतिक त्रुटिहरु हुने गरेकाले बारम्बार विवादमा तानिएपनि मृत्यु हुनुअघिसम्म राजनीतिक जीवनमा सक्रिय नै रहेका थिए ।

उनले सन् २००० देखि २००५ सम्म मुलुकको राष्ट्रपतिको पदभार सम्हालेका थिए ।

उनले आफ्नो कार्यकालभरि मुलुकलाई ‘सुखदायी र आनन्दित’ बनाउने दाबी गरेपनि त्यसैबखत राष्ट्र कडा आर्थिकमन्दीको चपेटामा परेको थियो । रासस/एपी