
काठमाडौं, चैत १८ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न नभइ व्यवस्थित गर्न सूचना प्रविधिसम्बन्धी ऐन ल्याउने तयारी गरेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत् विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न र करको दायरामा ल्याउने उद्देश्यले ऐन ल्याउन लागिएको प्रस्ट पारे ।
उनले सूचना–प्रविधिको दुरुपयोग रोक्नका लागि सरकारले ऐन ल्याउने तयारी गरेपनि सामाजिक सञ्जाल नै बन्द गर्न लाग्यो भनेर गलत प्रचार–प्रसार भइरहेको टिप्पणी गरे ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सूचना, सन्चार तथा प्रविधि मुलुकको अर्थतन्त्रको खम्बा भएकाले सरकारले डिजिटल नेपाल निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको जिकिर गरे ।
यसैबीच, समितिले विधेयक सम्बन्धमा सम्बन्धित विज्ञसँग छलफल गर्न ७ सदस्यीय उपसमिति गठन गरेको छ ।
उपसमितिले सूचना, सन्चार र प्रविधि क्षेत्रका विज्ञसँग छलफल गरेर समितिलाई सुझाव पेस गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्