७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


महिलामा स्तन क्यान्सरको समस्या बढ्दो, यस्तो छ कारण(भिडियो हेर्नुहोस)


0
Shares

-प्रज्ञा तिमिल्सिना

काठमाडौं, कात्तिक ९ । महिलामा स्तन क्यान्सरको समस्या बढ्दै गएको छ । सामान्य जानकारीको अभावमा कयौं महिलाको स्तन क्यान्सरबाटै मृत्यु हुने गरेको छ ।

नेपालमा कति महिला स्तन क्यान्सरबाट पीडित छन् भन्ने एकिन तथ्यांक भने छैन ।

स्तन क्यान्सरबारे जानकारी दिन अक्टोबर महिनाभर विभिन्न कार्यक्रम गरी विश्वभर विश्व स्तन क्यान्सर दिवस मनाईंदै छ ।

अधिकांश मुलुकमा स्तन क्यान्सर पीडित महिला रहेकाले एक महिनासम्म यससम्बन्धी जानकारी दिन विश्व क्यान्सर दिवस मनाइएको हो ।

तर नेपालमा कति महिला स्तन क्यान्सरबाट पीडित छन् भन्ने तथ्यांक नै छैन । पाठेघरको मुखको क्यासरबाट पीडितपछि स्तन क्यान्सर पीडित महिला नै बढी भएको चिकित्सकहरु बताउँछन् ।

हाल नेपालमा ४० देखि ५० वर्षसम्ममा महिलामा स्तन क्यान्सर बढी देखिने गरेको छ । तर २० वर्षमाथिका महिलामा पनि स्तन क्यान्सर देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले बच्चा नजन्माउने, धेरै उमेरमा बच्चा जन्माउने, स्तनपान नगराउने शरीरको वजनमा अत्याधिक वृद्धि तथा रक्सीको अत्याधिक सेवन गर्ने महिलामा स्तन क्यान्सरको जोखिम बढी हुने गरेको जनाएको छ ।

बदलिँदो जीवनशैली, अस्वस्थकर जीवनयापन, औषधिको अत्याधिक प्रयोग गर्ने महिलामा पनि स्तन क्यान्सर देखिने चिकित्सकहरुले बताएका छन् ।

स्तनमा गाँठागुँठी आउनु, स्तनको टुप्पो रातो हुनु वा त्यसबाट पिप जस्तो पदार्थ बग्नु, स्तन सुन्निनु तथा थिच्दा दुख्नु स्तन क्यान्सरका लक्षण हुन् । स्तन क्यान्सर बंशाणुगत रोग हो ।

नेपाल क्यान्सर हस्पिटलले स्तन क्यान्सर भएर उपचार गराउन नसकेका महिलालाई महिनाको एक पटक निःशुल्क उपचार गराउने व्यवस्था सुरु गरेको छ ।

नेपाली महिलामा बढ्दो स्तन क्यान्सरप्रति सजगता अपनाउन यो सेवा सुरु गरिएको नेपाल क्यान्सर हस्पिटलका अध्यक्ष सुदिप श्रेष्ठले बताए ।

सामान्य लक्ष्यण तथा दुखाई हुँदा अर्थात् क्यान्सरको सुरुवाती अवस्थामा हेलचेक्र्याइँ गर्नाले स्तन क्यान्सर घातक स्तरमा पुग्ने गर्दछ ।

यसरी घातक अवस्थामा पुगिसकेपछि मात्र महिलाहरु उपचारका लागि पुग्ने गरेको पाइएको छ । त्यसकारण ग्रामीण क्षेत्रका महिलामा स्तन क्यान्सरबारे जनचेतना मूलक कार्यक्रम बढाउनु जरुरी छ ।