
छत्तीसगढ, कात्तिक ९ । भारतको छत्तीसगढको सुकमा, बस्तर र दन्तेवडाका प्रहरी जवानले राजनीतिक दलका नेता तथा सामाजिक कार्यकर्ताको पुत्ला दहन गरेका छन् ।
भारतीय संचारमाध्यमका अनुसार प्रहरीले सामाजिक कार्यकर्ता स्वामी अग्निवेश, बेला भाटिया, हिमांशु कुमार, मालिनी सुब्रह्मण्यम, बस्तरका पूर्व विधायक तथा आदिवासी महासभाका महासचिव मनीष कुन्जाम, आम आदमी पार्टीकी नेतस सोनी सोरी र दिल्ली विश्वविद्यालयकी प्राध्यापक नन्दिनी सुन्दरको विरुद्ध नारावाजी गर्दै पुत्ला दहन गरेका हुन् ।
विपक्षी दल कांग्रेसले यो घटनालाई संवैधानिक व्यवस्था भङ्ग भएको उदाहरणका रुपमा चित्रण गरेको छ । सत्तारुढ दल भारतीय जनता पार्टीले भने यसलाई प्रहरीको भावनासँग जोडेको छ ।
भारतीय जनता पार्टीका छत्तीसगढ राज्यका प्रवक्ता तथा विधायक श्रीचन्द सुन्दरानीका अनुसार बस्तरका शुभचिन्तकहरु सडकमा ओर्लिएका छन् । यसमा केही प्रहरी पनि सामेल भएको उनको भनाइ थियो ।
सन् २०११ मा सुकमा जिल्लाको ताडमेटला, मोरपल्ली र तिम्मापुरमा आदिवासीका दुई सय ५२ घर प्रहरीको संलग्नतामा जलाइएको प्रतिवेदन प्रकाशमा आएपछि यो घटना भएको हो ।
बस्तरका प्रहरी प्रमुख शिवराम प्रसाद कल्लुरीले उक्त प्रतिवेदन झुठो रहेको दाबी गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्