११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


भूमिगत गिरोहका १३ जना पक्राउ, पूर्वमाओवादी लडाकुद्धारा तालिम, बबरमहल बमकान्डमा संलग्न


0
Shares

काठमाडौं, कात्तिक ८ । मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत गिरोहका अध्यक्षसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रोल्पा, सिन्धुपाल्चोक र काठमाडौंबाट पक्राउ परेकामध्ये ८ जनालाई महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीले सोमबार पत्रकार सम्मेलन सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएकाहरुमा सो समूहका अध्यक्ष उपेन्द्र घर्तीमगर, पृथ्वीनारायण लिम्बु, टेण्डी शेर्पा, सुवास राई, सचिन पालुङ्वा लिम्बू, रविन श्रेष्ठ, बनबहादुर स्याङ्वो र अजय तामाङ रहेका छन् ।

यस्तै, रोल्पाबाट पक्राउ पर्नेहरुमा रामबहादुर बुढामगर, चन्दवीर घर्तीमगर, दुजमान घर्तीमगर र जोगबहादुर घर्तीमगर रहेका छन् । उनीहरुलाई रोल्पामै मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ ।

सो समूहले राजनीतिक आवरणमा हातहतियार तथा विस्फोटक पदार्थ संकलन गर्ने, बैंक तथा वित्तीय संस्था लुट्ने, यार्सागुम्ब लुट्ने, जबर्जस्ती चन्दा उठाउनेजस्ता आपराधिक क्रियाकलाप गर्दै आएको र प्रहरीको हतियार लुट्ने योजनासमेत बनाएको प्रहरीले भनाइ छ ।

पक्राउ परेकाहरुको साथबाट पेस्तोललगायतका हातहतियार, विस्फोटक पदार्थ, पार्टीको कागजातहरु बरामद भएको जनाइएको छ ।

रुकुममा गठन भएको सो समूहका सदस्यहरुलाई पूर्वमाओवादी लडाकुहरुले तालिम दिएको थाहा भएको पनि प्रहरीले बताएको छ ।

पक्राउ परेका घर्तीमगर २०६७ सालमा रुकुमबाट फरार भएको, लिम्बू २०७२ सालमा झापामा जबर्जस्ती चन्दा असुलीमा पक्राउ परेका र शेर्पा २०६७ सालको बबरमहल बमकान्डमा संलग्न रहेको पनि प्रहरीले जनाएको छ ।