११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


हत्या आरोपित दुई नेता एमालेबाट निस्कासित


0
Shares

अर्घाखाँची, कात्तिक ५ । नेकपा एमाले अर्घाखाँचीले धनचौर निवासी पार्टीको धनचौर गाउँ कमिटीका पूर्वसदस्य कल्पना भुसालको हत्याका आरोपित दुई नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।

धनचौर गाविसका भूतपूर्व अध्यक्ष खेमराज भुसाल र निवर्तमान अध्यक्ष गणेशकुमार भुसाललाई एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताए ।

अध्यक्ष आचार्यद्वारा जारी विज्ञप्तिमा एमालेले हत्याको निष्पक्ष छानबिन गरी हत्यारालाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।

हराएको भनिएकी धनचौर–५ रातामाटाकी कल्पना भुसालको हत्या भएको खुलासा भएको छ ।

हत्याको अभियोगमा पक्राउ परेका गणेशकुमार भुसालले हत्या आफैंले गरेको बताएपछि कल्पना भुसालको हत्या भएको खुलासा भएको हो ।

गत असोज १८ गते धनचौर–९ देउराली पसलबाट सामान किनेर साँझ ५ बजेतिर घर जान्छु भनेर हिँडे पनि घर नपुगेपछि आफन्तले खोजतलासकोनिम्ति जिप्रकामा निवेदन दिएका थिए ।

सोहीअनुसार असोज १९ गतेदेखि स्थानीय, आफन्तजन र प्रहरीको टोलीले भुसालको खोजी अभियानलाई तीव्र पारेको थियो ।

खोजतलासकाक्रममा कल्पनाको हत्या भएको हुनसक्ने र हत्यामा संलग्न रहेको आशंकामा असोज २२ गते धनचौर–५ निवासी खेमराज भुसाल र निजका छोरा गणेशकुमार भुसाललाई जिप्रका, अर्घाखाँचीले हिरासतमा लिइ घटनाको थप अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानकाक्रममा जिल्ला प्रहरी प्रमुख नवरत्न पौडेलको नेतृत्वमा खोजतलासमा गएको टोलीले हराएको सात दिनपछि असोज २४ गते दिउँसो जलुके गाविस–२ को छेकुवा जंगलनजिकै झिम्रुक नदीमुनि राप्ती नदीको किनारमा कल्पनाको मृत शरीर भेटाएको थियो ।

अभियुक्त दुबैजनालाई जिप्रका, अर्घाखाँचीमा थुनामा राखी आवश्यक कानुनीप्रक्रिया अगाडि बढाएको जिप्रका अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । रासस