
झापा, कात्तिक १ । ‘काम कर, फलेर आश नाकर !’– राजवंशी भाषामा ‘श्रीमद्भागवत गीता’को सार हो यो ।
लोकप्रिय हिन्दू धार्मिकग्रन्थ ‘गीता’का सम्पूर्ण उपदेशलाई राजवंशी भाषामा अनुवाद गरेका छन्, झापा, कनकाई–९ निवासी पवन राजवंशीले ।
यतिबेला पवनले राजवंशी भाषामा अनुवाद गरेको गीता नेपाल, भारत र बंगलादेशमा बसोबास गर्ने एक करोड राजवंशी भाषीका लागि अनुपम उपहार भएको छ ।
स्वर्गीय कुलदीप राजवंशी र आमा जलेश्वरी देवी राजवंशीको कान्छो सन्तानकारुपमा झापाको कनकाईमा जन्मिएका ४७ वर्षीय पवन राजवंशी समुदायबाट नेपालका पहिलो प्राज्ञसमेत हुन् ।
उनलाई नेपाल ललितकला प्रतिष्ठान काठमाडौंले २०६९ सालमा प्राज्ञ मनोनयन गरेको हो ।
प्रायः यतिबेला झापाका दर्जनौं विद्यालयमा चित्रकला पढाउँदै आएका पवन राजवंशी भाषाको पहिलो पत्रिकाका ‘बिचन’को संस्थापक सम्पादकसमेत हुन् । तर, अर्थाभावका कारण केही वर्ष सो पत्रिका प्रकाशित गरेर बन्द गर्नुपरेको उनको भनाइ छ ।
उनले भने–‘जातीय भाषामा पहिलो पत्रिका त निकालें तर त्यसलाई निरन्तरता दिन मसँग पैसा भएन, बन्द गरिदिएँ ।’
चित्रकलामा विशेष दखल राख्ने पवन साधा जीवन जिउँछन् । राजवंशी समुदायको ‘कला शिरोमणि’कै उचाइ नापिसकेका उनी आमनेपालीका उत्तिकै प्रिय र प्रेरक व्यक्तित्व बनेका छन् ।
उनले ‘अनुभूति’ नामक रंगीन कार्टुन चित्रसंग्रहसमेत प्रकाशित गरिसकेका छन् । यतिबेला उनी झापाबाटै प्रकाशित हुने विभिन्न पत्रपत्रिकामा कार्टुन चित्र बनाउँदै आएका छन् ।
कुनैबखत उनी झापाको विर्तामोडबाट प्रसारित कन्चनजंघा रेडियोमा राजवंशी भाषामा समाचारवाचन गर्थे ।
त्यसैबेला रेडियोका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’लाई राजवंशी भाषामा उल्था गर्न हौस्याएका रहेछन् ।
उनी भन्छन्–‘आखिर त्यही हौसलाबाट प्रेरित भएर मैले जातीय भाषामा ‘गीता’ नै अनुवाद गरें ।’ रासस
प्रतिक्रिया दिनुहोस्