१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


क्लिन्टनले लागुऔषध खाएको ट्रम्पको आरोप, भने–‘विजयी भएमा जेल हाल्छु’


0
Shares

पोर्टस्माउथ, (संयुक्त राष्ट्रसंघ) असोज ३० । अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई लागुऔषध परीक्षण गर्न माग गरेका छन् ।

अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्यासी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच आगामी प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम भन्दाअगाडि हिलारीको परीक्षण हुनुपर्ने शनिबार ट्रम्पले माग गरेका हुन् ।

ट्रम्पले आफ्नो प्रतिस्पर्धी क्लिन्टनले यसअघि भएका संयुक्त बहस सुरु हुनुभन्दाअगाडि पनि लागुऔषध प्रयोग गरेको आरोप लगाएका छन् ।

बहसकाक्रममा क्लिन्टनको प्रस्तुति राम्रो हुनुमा लागुऔषधको प्रभाव हुनसक्ने ट्रम्पको आरोप छ । उनले क्लिनटनलाई मतदान नगर्नसमेत आह्वान गरेका छन् ।

रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पलाई यौनदुर्व्यवहारको आरोप लागिरहेकाबेला ट्रम्पले क्लिनटनलाई लागुऔषध प्रयोग गरेको आरोप लगाएका छन् ।

विदेशमन्त्री भएकाबेला गोप्य इमेलहरुको दुरुपयोग गरेकाले आफू विजयी भएमा क्लिन्टनलाई जेल हाल्ने ट्रम्पले बताएका छन् ।

क्लिन्टनलाई जेलहाल्ने बताएपछि उनका समर्थकहरुले ‘क्लिनटनलाई थुन’ भन्दै नाराबाजी गरेका थिए ।

पछिल्लो बहसमा सहभागी भएकाबेला क्लिन्टनले लागुऔषध सेवन गरे वा नगरेकोबारेमा परीक्षण गर्न पनि ट्रम्पले माग गरेका छन् । आफ्नो पनि परीक्षण गराउन आफू तयार रहेको उनले बताएका छन् ।

पोर्टस्माउथमा आयोजित एक चुनावीसभामा सम्बोधन गर्दै ट्रम्पले ‘क्लिन्टन बहसको सुरुमा निकै उत्तेजित देखिएकी थिइन्, तर अन्तिममा भने निकै कमजोर देखिइन् र आफ्नो कारसम्म पुग्न पनि निकै गाह्रो भएको थियो’ भने दाबीसमेत गरेका समाचारमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्यासी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच एक हप्ताअगाडि दोस्रोपटक प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रभरि नै ट्रम्प र क्लिन्टनले एक–अर्कामाथि हिलो छ्याप्ने र सकेदेखि एक–अर्कालाई उम्मेदवारीबाटै सिध्याइदिनेसम्मको आक्रामक प्रयासमा लागे ।

कार्यक्रममा वर्तमान राष्ट्रपति बाराक ओबामाले अवलम्बन गरेको अमेरिकी रणनीतिहरु, इराक, सिरिया, अफगानिस्तानलगायतका मुलुकहरुमा गरिएको सहयोग इत्यादिबारे पनि ट्रम्पले तीव्र आलोचना गर्न भ्याए ।

दर्शकका प्रश्नका उत्तर दिनेक्रममा ट्रम्पले हिलारीउपर अलि बढी नै रिस पोखी आक्रामक भएर प्रस्तुत् भए भने हिलारी पनि के कम, ट्रम्पलाई व्यंग्यबाणको वर्षा गरी आच्छु–आच्छु पारिन् ।

ट्रम्पले हिलारीको निन्दा गर्नेक्रममा उनका पति बिल क्लिन्टन धेरै वर्षअघि एकपटक यौनकान्डमा मुछिएको घटनालाई उछाले ।

जवाफमा हिलारीले पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रव्यदृष्य (भिडियो टेप) सार्वजनिक गरिदिइन् ।

सन् २००५ मा रेकर्ड गरिएको उक्त टेपमा स्थानीय एक बसमा अमेरिकी एनबीसी टेलिभिजन कार्यक्रम प्रस्तोता बिल्लि बुश र ट्रम्पसँगै यात्रा गरिरहेकोबखत कुराकानी भएको दृष्य देखाइएको थियो ।

कुराकानीकोक्रममा ट्रम्पले ‘तिमी चलचित्र (हलिउड)का एउटा नायक हुने हो भने तिमीले महिलालाई जे गरेपनि हुन्छ’ भनेका रहेछन् ।

‘महिलालाई जे गरे पनि हुन्छ’ भन्ने अभिव्यक्तिले कोहीपनि महिलालाई उनको स्वीकृतिबिना अंगालोमा कस्ने वा चुम्बन गर्नेजस्ता यौनजन्य दुर्व्यवहार गरे हुन्छ भन्ने अर्थ लाग्छ भन्ने अडान लिइ क्लिन्टनले कस्सिएर ट्रम्पलाई आच्छु–आच्छु पारिन् ।

क्लिन्टनको यस अडानले दर्शकबाट समर्थनको ओइरो पायोे र ट्रम्प तत्काल सो विगतको घटनाका लागि माफी माग्न बाध्य भए ।

डेढघन्टा चलेको सो प्रत्यक्ष बहस कार्यक्रममा दर्शकका प्रश्नका उत्तर दिनेक्रममा दुबैजनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलाका धेरै विषयमाथि आ–आफ्नो धारणा व्यक्त गरे तापनि हिलारीमाथि ट्रम्प अलि बढी आक्रोशित भएर प्रस्तुत् हुँदा दर्शकहरुले मन पराएका थिएनन् ।

निर्वाचनको ठीक एक महिनापूर्व सन्चालित यस कार्यक्रमले विजयको गन्तव्यतर्फ क्लिन्टनको थप कदम बढेको अनुमान भएपछि ट्रम्पको लागुऔषध जाँच गर्नुपर्ने माग आएको बताइएको छ । रासस/एएफपी/एपी