१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


कोलम्बियामा शान्ति सम्झौता अस्वीकृत भए पनि युद्धविराम अवधि लम्बिने


0
Shares

कोलम्बिया, असोज २८ । कोलम्बिया सरकार र फार्क विद्रोहीबीचको युद्धविराम सम्झौता यस वर्षको अन्त्यसम्म लागू हुने भएको छ ।

फार्क विद्रोहीसँगको शान्ति सम्झौता जनमत संग्रहबाट अस्वीकृत भएपछि कोलम्बियाका राष्ट्रपति जुयान म्यानुएल सान्तोसले शान्ति सम्झौतालाई बचाइ राख्ने उद्देश्यले युद्धविराम यस वर्षको अन्त्यसम्मलाई लम्ब्याइएको बताएका छन् ।

यसबीचमा राष्ट्रपति सान्तोसले फार्क विद्रोहीसँग क्युवाको राजधानी हवानामा भेट गर्ने र सोही क्रममा केही शर्तहरु पेश गर्ने जनाउ दिएका छन् ।

यसअघि कोलम्बिया सरकार र वामपन्थी फार्क विद्रोहीबीच हालै भएको ऐतिहासिक शान्ति सम्झौता जनमत संग्रहद्वारा अस्वीकृत भएको थियो ।

राष्ट्रपति जुवान म्यानुअल सान्तोष र फार्क विद्रोहीका नेता तिमोलियोन जिमेनेजले शान्ति सम्झौतामा हस्ताक्षर गरेकोमा जनमत संग्रहद्वारा अस्वीकृत भएको थियो । फार्क विद्रोहीसँग शान्ति सम्झौताको पहलका लागि राष्ट्रपति सान्तोसलाई यस वर्षको शान्तितर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

आधा शताब्दीभन्दा बढी समय चलेको गृहयुद्धका कारण कोलम्बियामा २ लाख ६० हजार मानिस मारिएका थिए भने ६० लाख मानिस आन्तरिक रुपमा विस्थापित बनाइएका छन् ।