१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


राजाको निधनबाट थाइल्याण्डका जनता शोकाकुल, सडकमै रुवाबासी (फोटोफिचर)


0
Shares

बैंकक, असोज २८ । उपचारको क्रममा निधन भएका थाइल्याण्डका नरेश भूमिबोल अदुल्यादेजको पार्थिव शरीरलाई सिरिराज अस्पतालबाट शुक्रबार ग्रान्ड प्यालेसमा लगिएको छ ।

उनको पार्थीव शरीरलाई दरबारमा लग्ने क्रममा हजारौं थाई नागरिक अस्पताल परिसरदेखि दरबारसम्मको बाटोमा भेला भएका थिए । कालो पहिरन लगाएका थाई नागरिकहरु गहभरी आँसु बोकी सडकमा भेला भएका हुन् ।

दिवंगत नरेशको पार्थिव शरीरलाई शुक्रबार इमराद मन्दिरमा राखिने छ भने थाई परम्मपरा अनुसार उनको पार्थीव शरीरलाई युवराज महा भाजिरालोङकोङले स्नान गराइदिएपछि अन्त्येष्टि गरिने छ ।

यसैबीच थाइल्याण्डका राजाको निधनमा शोक मनाउन देशको झण्डा एक महिनासम्म आधा झुकाइने भएको छ । लामो समयदेखि अस्वस्थ रहेका ८८ वर्षीय नरेश अदुल्यादेज उपचारको क्रममा बिहीबार बैंककस्थित सिरिराज अस्पतालमा निधन भएको हो । उनी रक्तचाप, श्वासप्रश्वासलगायतका समस्याबाट पीडित थिए ।

सन् १९४६ देखि राजगद्दीमा रहेका थाई नरेश जनतामाझ निकै लोकप्रिय थिए । थाई नरेशको निधनपछि ६३ वर्षीय युवराज महा भाजिरालोङकोङ नयाँ थाई नरेश बन्ने थाई प्रधानमन्त्री प्रयुत चान ओचाले जानकारी दिएका छन् ।

उनले मुलुकभर एक वर्षसम्म शोक मनाउने र एक महिनासम्म कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम नगरिने जानकारी दिए ।

संवैधानिक राजतन्त्र रहेको थाईल्याण्डमा सन् २०१४ को कु पछि सेनाले सत्ता सम्हालेको छ । (एजेन्सी)