
काठमाडौं, असोज २४ । अमेरिकी राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा गरिने सार्वजनिक टेलिभिजन बहसको दोस्रो चरणमा दुई उम्मेदवार हिलरी क्लिन्टन र डोनाल्ड ट्रम्पले आफ्ना योजना र प्राथमिकताहरु सार्वजनिक गरेका छन् ।
यसक्रममा रिपब्लिकन उम्मेदवार ट्रम्पले महिलाकाबारेमा गरेको अश्लील टिप्पणीप्रति सार्वजनिकरुपमा माफी माग्दै महिलाप्रति आफनो सधैं सम्मान रहेको बताए ।
बरु ट्रम्पले यस मामलामा पूर्वराष्ट्रपति एवं हिलरी क्लिन्टनका पति बिल क्लिन्टन खराब रहेको टिप्पणी गरे ।
ट्रम्पले इमेल प्रकरणप्रति हिलरीमा लज्जा हुनुपर्ने भन्दै क्लिन्टनको नियत नै खराब भएका आरोप लगाए ।
हिलरीले भने इमेल प्रकरणप्रति माफी माग्दै लामो अनुसन्धानपछि यसबारे प्रतिवेदन आइसकेकाले यो विषय तन्काउनुको कुनै अर्थ नहुने जिकिर गरिन् ।
अमेरिकी दुई टेलिभिजन ‘एबीसी’ र ‘सीएनएन’ले प्रत्यक्ष प्रसारण गरेको बहस करोडौं मानिसले हेरेका थिए ।
दुई नेतालाई निर्वाचनकाक्रममा उठाइएका आप्रवासी मुद्दा, ओबामा हेल्थ केयर, ‘आइएसआइ’सहितका आतंकवादी समूहले विश्वमा मच्चाएको हिंसा नियन्त्रणलगायतका विषयमा प्रश्नहरु सोधिएको थियो ।
क्लिन्टन डेमोक्रेटिक पार्टी र ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति बन्ने दौडमा छन् ।
यता, अमेरिकी राष्ट्रपति बराक ओबामाले डोनाल्ड ट्रम्पको आलोचना गर्दै उनले महिलाकोमात्रै नभइ समग्ररुपमा अल्पसंख्यक, आप्रबासी र अमेरिकी सेनाकोसमेत अपमान गरी मनोबल घटाउने काम गरेको प्रतिक्रिया दिएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्