
ईश्वरी बराल ।
काठमाडौं, असोज २३ । बडादसैं सुरु भएदेखि नै नवरात्रभर शक्तिपीठ, भगवती मन्दिर, दसैंघर तथा पूजाकोठामा मालश्री धुन बजाउने परम्परा छ । देवी–दुर्गाको मनपर्ने धुन मालश्रीले दसैंलाई थप रोमान्चित बनाउँछ ।
नेवारी भजनमा आधारित मालश्री धुन मल्लकालदेखि बजाउन सुरु गरिएको संगीतकार चण्डिप्रसाद काफ्लेले बताएका छन् ।
मल्लकालीन राजा जयस्थितिको पालामा तीव्रा रागमा आधारित रहेर सिर्जना गरिएको मालश्री आज आएर दसैंको पर्यायवाचीजस्तै भएको उनको बुझाइ छ ।
अर्का संगीतकार राजु सिंहलाई मालश्री धुन, दसैंपर्व, असोज महिना र सिङ्गो शरद ऋतु नै एक–अर्काका अभिन्न अंगजस्तो लाग्छ । यसलाई रुचाउनेहरु अथाहा छन् ।
करिब तीन सय वर्षपहिले सिर्जना गरिएको मालश्रीको दसैंमा विशेष महत्व त छ नै साथै अन्य शुभकार्यहरु पनि योबिना अपुरोजस्तो लाग्छ । यसले आफ्नै सांस्कृतिक महत्व बोकेकाले नसा–नसामा मालश्री धुन बगिरहेको गायक आनन्द कार्कीको प्रतिक्रिया छ ।
उनको विवाहमा पनि बजाइएकाले मालश्री धुन सुन्नेबित्तिकै विवाहको रमाइलो पलको पुर्नताजकी हुने बताउँछन् ।
यसलाई विभिन्न तालमा पुराना सर्जकदेखि संगीतमा रुचि राख्ने नयाँ कलाकारसम्मले रेर्कड गराउन भ्याइसकेका छन् ।
विदेशमा रहेका नेपालीहरुले पनि दसैंकोबेला रातो टिका, पहेंलो जमरा, लिंगे पिङ घर–गाउँ आफन्त सबैको झल्को मालश्री धुन सुनेर नै मेटाउने अनुभव सुनाउँछन् ।
किम्बदन्तीअनुसार देवी–दुर्गाको गुनगानका लागि बजाइने यो धुन ठाउँ र जातजातिअनुसार फरक–फरक भएको गायिका संगीता प्रधान रानाको बुझाइ छ ।
तर, पछिल्लो समय प्रविधिको सहजतासँगै आफूखुसी रेकर्ड गरिएका मालश्री धुनले असली धुन खतरामा पर्नेतर्फ सचेत हुन जरुरी छ ।
प्रस्तुतकर्ता बराल नेपाल एफएम नेटवर्कमा आवद्ध छिन्–सम्पादक ।
प्रतिक्रिया दिनुहोस्