१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


ट्रम्पलाई तनाब ! महिलाविरुद्धको आपत्तिजनक अभिव्यक्तिले वरिष्ठहरुको साथ गुमाउँदै


0
Shares

काठमाडौं, असोज २३ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले महिलाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएकोमा प्रष्टीकरण दिँदै माफी मागेपनि आसन्न निर्वाचनमा एकपछि अर्को गर्दै आफ्नै पार्टीका वरिष्ठहरुको साथ गुमाउन थालेका छन् ।

अघिल्लो निर्वाचनमा राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार जोन मेक्कन र पूर्वविदेशमन्त्री कन्डोलिजा राइसले ट्रम्पले ‘अति गरेको’ भन्दै समर्थन गर्न नसक्ने प्रस्ट गरेका हुन् ।

सुरुमा शर्तसहितको समर्थन दिएका मेक्कनले अब समर्थन कायम राख्न नसक्ने प्रस्ट गरे ।

अब अति भएको भन्दै राइसले पनि ‘ट्रम्प कुनै हालतमा राष्ट्रपति बन्नु हुँदैन र उम्मेदवारी त्याग्नुपर्छ’ भनेकी छन् ।

न्यू हाम्पसाएरका सिनेटर केली अयोट्टेले महिलाविरुद्ध तथानाम बोल्नेलाई समर्थन गर्न नसक्ने भन्दै हिलारी क्लिन्टनलाई पनि आफूले भोट नदिने बताएकी छन् ।

चुनावी मैदानबाट हट्दिनँ
ट्रम्पले भने आफूलाई चुनावी मैदानबाट धकेल्न सन्चारमाध्यम र पार्टीकै केहीले लगातार आक्रमण गरिरहेको आरोप लगाउँदै कुनै हालतमा चुनावी मैदानबाट नहट्ने अडान लिएका छन् ।

‘वाल स्ट्रिट’ जर्नलसँग कुरा गर्दै ट्रम्पले आफूलाई चुनावी मैदान छोड्न आफनै पार्टीका केही नेताले दबाब दिएपनि यो सम्भव नरहेको प्रतिक्रिया दिएका हुन् ।

महिलाकाबारेमा ट्रम्पले गरेको अश्लील टिप्पणीप्रति उनकै पार्टीमा ठूलो विरोध भएको छ ।

केही दिनअघि एक भिडियोमा ट्रम्पले महिलालाई अपमान गरेको दृश्य सार्वजनिक गरिएको थियो । सो घटनाप्रति ट्रम्पले माफी मागेपनि सर्वत्र आलोचना भएको छ ।

सन् २००५ को भिडियोमा ट्रम्पले चर्चित व्यक्ति भएमा महिलासँग जे गर्नपनि सक्ने बताएका थिए ।

महिलाको अपमान गरेको यस्तै अर्को भिडियो पनि सार्वजनिक गरिएको छ । ट्रम्पले माफी मागेपनि उनको चुनावी अभियानमा भने असर परेको विश्लेषकले बताएका छन् । (एजेन्सी)