
काठमाडौं, असोज २१ । नेपाल टेलिकमले ७५ ओटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सन्चालनमा ल्याएको छ ।
डोल्पाको दुनै र हुम्लाको सिमिकोटमासमेत सो सेवा सन्चालनमा आएपछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।
कम्पनीले दुनैमा असोज १९ गते र सिमिकोटमा असोज २० गते उक्त सेवा सन्चालन आरम्भ गरेको हो ।
टेलिकमले जीएसएम मोबाइलमा थ्रीजी सेवा वि.सं. २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो ।
सुरुमा काठमाडौं उपत्यकाको चक्रपथभित्रका सीमित क्षेत्रमामात्र सन्चालनमा रहेको थ्रीजी सेवा पछि सबै जिल्लामा विस्तार गरेको हो ।
थ्रीजी सेवामामार्फत् उपभोक्तालाई भ्वाइस सेवाको अतिरिक्त उच्चगतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधासमेत उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
दसैं, तिहार र छठमा विशेष छुट
टेलिकमले दसैं, तिहार तथा छठको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए दुबैमा सबैभन्दा सस्तो मूल्यमा डाटा प्याकेज उपलब्ध गराइरहेको छ ।
कम्पनीने हाल प्रतिएमबी ७ पैसासम्ममा रात्रिडाटा प्याकेज उपलब्ध गराइरहेको जनाएको छ ।
रात्रिडाटा अफर राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । सो सेवाअन्तर्गत् रु ४० मा ५०० एमबी र रु ८५ मा एक हजार २०० एमबी डाटा प्रयोग गर्न सकिनेछ ।
रात्रिडाटा अफर आगामी पुस १५ गतेसम्म उपलब्ध गराइने बताइएको छ ।
त्यसैगरी, कम्पनीले उपलब्ध गराएको डाटा अफरअन्तर्गत् १०० एमबीको डाटा रु ५० मा र २५० एमबीको डाटा रु १०० मा उपलब्ध गराइएको छ ।
सो अवधिमा डाटा प्रयोगकर्ताले निःशुल्करुपमा क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० ओटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ ओटा एसएमएस पठाउन सक्नेछन् ।
उक्त अफर आगामी असोज २९ गतेसम्म र कात्तिक १२ गतेदेखि २१ गतेसम्म उपलब्ध गराइने कम्पनीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्