
काठमाडौं, असार ६ । कोभिड–१९ का कारण नेपाल प्रज्ञा-प्रतिष्ठानले यही असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगन गरेको छ ।
प्रतिष्ठानले शनिबार सूचना जारी गरी कोभिड–१९ को विश्वव्यापी महामारी र बन्दाबन्दीका कारण ६३औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव स्थगन गरेको जनाएको हो ।
महोत्सवका लागि समसामयिक विषयमा आधारित भएर नेपाली भाषामा लेखिएको १५० शब्दसम्मको आफ्नो कविता जेठ २५ गतेसम्म पठाउन भनिएको थियो ।
कार्यक्रम स्थगित भएपछि तोकिएको मितिमा प्राप्त कवितालाई एकत्रित गरेर गोप्य लाहाछापसहित खामबन्दी गरी सुरक्षित राखिएको प्रतिष्ठानले जनाएको छ ।
प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले कोरोनाको सन्त्रासबाट मुलुक सहज अवस्थामा प्रवेश गरेपछि उपयुक्त समयमा वार्षिकोत्सव र राष्ट्रिय कविता महोत्सव आयोजना गरिने जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्नुभन्दा अगाडि यीमध्ये कुनै कविता प्रकाशन, प्रसारण वा कुनैपनि माध्यमबाट सार्वजनिक भएको पाइएमा प्रतियोगितामा समावेश नगराइने र कार्यक्रमपूर्व प्रकाशन, प्रसारण वा सार्वजनिक भइसकेको प्रमाणित भएमा सम्बन्धित कवितालाई पुरस्कृत सूचीबाट हटाइने जानकारी दिए ।
महोत्सवका लागि पाँच सय दुई कविता प्राप्त भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्