
पोखरा, असार २५ । जातीय पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने मागसहित आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले गरेको बन्दका कारण गण्डकी प्रदेशका विभिन्न जिल्ला प्रभावित भएका छन् ।
गण्डकी प्रदेशअन्तर्गत पर्ने जिल्लाहरु बिहानदेखि सुनसानजस्तै देखिएका छन् । प्रदेशको राजधानी पोखरा पनि सुनसान छ । पसलहरु खुलेका छैनन् भने यातायात पनि खासै चलेका छैनन् ।
भित्री बाटोमा निजी सवारी साधन फाट्टफुट्ट चले पनि सार्वजनिक सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । अधिकांश विद्यालय पनि बन्द भएका छन् ।
प्रदेशसभाले साविक ४ नम्बर प्रदेशलाई गण्डकी नामाकरण गरेपछि जातीय संघसंस्था आन्दोलनमा छन् । उनीहरुको आन्दोलनलाई नयाँशक्तिसहित संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चाले समर्थन गरेको छ ।
माग सुनुवाई नभए अनिश्चितकालिन बन्द गर्ने तमुवान–मगरात संघर्ष समितिले चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्