
सुविद गुरागाईं –
‘ठूला साना सबैलाई दसैँ अत्यन्त राम्रो छ ।
चलेका चाडमा ज्यादै यही उत्कृष्ट हाम्रो छ ।
सबै अत्यन्त आनन्दी सबै छन् पिङमा दङ्ग ।
सबैको देखिँदै आयो उज्यालो चेहरा रङ !’
कवि शिरोमणि लेखनाथ पौड्यालका शब्दहरू शरद ऋतुको यो समयमा मालाश्री धूनसँगै सुन्दा हाम्रो मस्तिष्कमा गहिरो सकारात्मक भाव सञ्चार हुने गर्छ । मुलुकमा लोकतन्त्रको माग जोर–जुलुमले हुनुअघि कवि–शिरोमणिको यो कविता किताबमा पढ्दै रमाउँथे नानीहरू । तर, अचेल यो कविता पाठ्य–पुस्तक हटाइएको छ । बालबालिकालाई राष्ट्रिय चाडको महत्त्व बोध गराउने यो कविता पाठ्य–पुस्तकबाट हटाइएपछि हटाउनु अघि र पछिको सिकारु मनोविज्ञानमा आएको अन्तर सकारात्मक–नकारात्मक के परेको छ ? यसबारे सरोकारवालाहरूको चासो गएको पाइँदैन । तर, यसबारेमा सरोकारवालाको ध्यानाकर्षण र सार्वजनिक बहस आवश्यक देखिएको छ । सम्भवतः चाडबाडको महत्त्वप्रति आकर्षित हुने, आफ्नो सनातन–संस्कार मान्न दीक्षित हुने यस्ता अवसरहरू शिक्षालयबाट घटाइने क्रम बढ्नाले नै समाजको नैतिक मूल्य–मान्यता कमजोर हुँदै गएको हो । तथापि अनौपचारिक रूपमा हाम्रो अग्रज पुस्ता नयाँ पुस्तालाई सकारात्मक र संस्कारयुक्त बनाउन जानी–नजानी लागिपरेकै छ ।
‘बीसा–सयको आयु होस् हजुरको सूर्यै समानको तेज ।
सधैं सत्मार्गमा हिँडिरहुन् पाइला वायु समानको वेग ।’
दसैंमा मान्यजनबाट दिइने यसप्रकारका आशीषको विशेष अर्थ हुन्छ । शिक्षा र अमङ्गको यो चाडले मान्यजनबाट शिक्षा र दिशानिर्देश लिने–दिने परम्परालाई कायम राख्दै आएको छ । मान्यजनले टीका लगाउँदै खासगरी बालबालिकालाई ‘धेरै पढेर ठूलो मान्छे बन्नू’ भन्ने आशीर्वाद दिने गर्छन् । दसैँमा मान्यजनबाट पाइने यस्ता आशीर्वचन र पाहुना भएर जाँदा पाइने आतिथ्यले बाल मस्तिष्कमा गजबको सकारात्मक प्रभाव पार्छ । आशीर्वाद लिने–दिने विशेष प्रचलन दसैँको विशिष्टता हो । यो पूर्वीय दार्शनिक मान्यतामा आधारित गुरु–शिष्य परम्पराको आधुनिक स्वरूप पनि हो । यो बेला मान्यजनबाट पाएको आशीर्वाद जीवनमा लागू गर्न, सत्य, न्याय र प्रगतिको मार्गमा हिँड्न मान्छे प्रेरित हुने विश्वास गरिन्छ । हजुरबा–हजुरआमा तथा आफूभन्दा ठूला आफन्तले दसैंमा दिएको दक्षिणाले भन्दा पनि ‘नवदुर्गा भवानीको प्रसादले हाकेताकेको पुगोस्, नुहाउँदा केश नझरोस्, हिँड्दा ठेस नलागोस्, सत्रु नलागुन्, ईश्वर दाहिने हुन्…’ आदि शुभ आशीर्वचनले आजसम्म नयाँ–पुस्ता आनन्दित हु“दै आएको छ । सँगै, ‘धेरै पढ्नू, ज्ञानी हुनू, जागीर खानू, राम्रो व्यापार–व्यवसाय गर्नू, आमा–बुबाको हेरचाह गर्नू आदि सकारात्मक शब्दावलीले प्रेरित हुनु अनुकरणीय परम्परा बनेको छ । यसको मर्म विशेषगरी विद्यार्थी वर्गले बुझ्नु, आत्मसात गर्नुपर्छ ।
‘दसैं आयो, पाती फुल्यो,
खाउँला पिउँला, कहाँ पाउँला ?,
चोरी ल्याउँला !, धत् पापी ! छुट्टै बसौंला !’
दसैका बेला निकै प्रयोग हुने लोकजीवनमा आधारित यो सूचना पनि विशिष्ट शिक्षाप्रद छ । चोरेर पनि दसैं मनाउन चाहन्छ, मनको एउटा कुनो । तर, अर्को कुनोमा छ, विवेक । त्यसले निरन्तर ‘खबरदार ! चोरी गर्नुहुन्न, पाप लाग्छ,’ भनिरहेको हुन्छ । दसैंको बेला विशेष रूपमा प्रयोग हुने वनस्पति जमराको धार्मिक, सांस्कृतिक र जैविक महत्वलाई पनि हामीले सम्झिरहनुपर्छ । हामी कर्मले जमराजस्तो नरम, फलदार, औषधीय गुणयुक्त र धेरैले शिरमा सजाउन मनगर्ने प्रेरक चरित्रको बन्न शिक्षा लिनु उपयुक्त हुन्छ । दसैं रमाइलो गर्दै, मीठो खानेकुरा खाँदै, पिङ खेल्दै, चङ्गा उडाउँदै मनाइने एउटा चाड मात्र होइन, एक पुस्ताबाट अर्को पुस्तामा जीवनोपयोगी व्यावहारिक शिक्षा र अनुभव हस्तान्तरण गर्ने विशेष अवसर पनि हो । आकासमा उडिरहेको चङ्गाबाट हामी धेरै कुरा सिक्न सक्छौं । जस्तो कि अवसर पाए हामीमा धेरै माथि–माथिसम्म पुग्न सक्ने क्षमता छ । यदि आफ्नो आधार कुनै कारणबाट टुट्यो भने हामी चुँडिएको चङ्गासरह हुनेछौं, जो कहाँ गएर कुन रूखमा अल्झिन्छ, कुन भुइँ वा पानीमा खस्छ भन्न सकिन्न । हामी जति नै माथि पुगे पनि, जति नै परसम्मको दृश्य हेर्न पाए पनि आफ्नो आधार र धरातल कहिल्यै भुल्नुहुन्न भन्ने सन्देश चङ्गा उडाउने परम्परामा निहित छ ।
दसैंको अर्को पाटो विजयको सन्दर्भसँग जोडिने गर्छ । पौराणिक कथामा रामले रावण र देवीले दानवमाथि युद्धमा विजय प्राप्त गरेको प्रसङ्ग आउँछ । यसले हामीलाई असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको विजय निश्चित हुन्छ भन्ने शिक्षा दिन्छ । यो सन्दर्भमा हामीले पनि अज्ञानतालाई ज्ञान र अँध्यारोलाई उज्यालोको हतियार प्रहार गरी विजयोत्सव मनाउन सक्नुपर्छ । मानिस सनातन शक्तिको पुजारी हो । त्यही परम्पराको निरन्तरता अहिलेको पुस्ताले यो बेलामा प्रण गर्नु समीचिन हुन्छ कि हामी ज्ञानको त्यो शक्ति आर्जन गर्नेछौं, जसले हामीलाई समाजमा सधैंका निम्ति माननीय र पूजनीय बनाओस् ।
दसैँका अनेक मिथक र आयामहरू छन् । दुर्गा पूजा, रामलीला, पुतला दहन, टीका, जमरा, दक्षिणा, नयाँ लुगा, नयाँ पैसा, माछा–मासु, लिङ्गे पिङ, चङ्गा, मालाश्री धून, आफन्त तथा बालसखासँगको भेटघाट, अपेक्षित यात्रा, गाउँ–घर सरसफाइ, लामो बिदा, संस्करण प्रकाशन, शुभकामना कार्ड, सेल–अफर, मेला–कन्सर्ट, सांस्कृतिक कार्यक्रम आदि अनेक आयामहरूले दसैँ खुसीयालीपूर्ण भइदिन्छ । तर, दसैँमा मान्यजन, नाता–कुटुम्बबाट टीका–जमरा लगाउने, आशीर्वाद प्राप्त गर्ने अनि शुभेच्छुक, साथी–सङ्गीबाट शुभकामना प्राप्त गर्ने विशेष अवसर सिर्जना हुनु नै यसको सबैभन्दा उल्लेख्य कुरा हो ।
वीरता पुजक, सौर्य उपासक हिन्दू संस्कृतिमा दसैँ हर्ष, उल्लास तथा विजयको प्रतीकात्मक उत्सव हो । दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी गरी १० प्रकारका पापहरू त्याग्ने प्रेरणा दिन्छ भन्ने शास्त्रीय मान्यता छ । दसैँमा गरिने ढोग–भेट पनि शास्त्रीय मान्यतामा आधारित छ । गीतामा भनिएको छ ‘ठूला–बडा ज्ञानीको आदर सेवा गर्ने हो भने तिमीलाई ज्ञानको उपदेश मिल्नेछ ।’ सेवा भाव तथा अभिवादनबाट मनुष्यमा ज्ञानको प्रादूर्भाव हुन्छ । मनुस्मृतिमा पनि ‘अभिवादनशीलस्य नित्यम् वृद्धोपसेवीन, सत्वारि तस्य बर्धन्ते आयुर्विद्या यशो बलम्’ भन्ने श्लोक छ । यसको अर्थ हो – जसले वृद्ध जनलाई अभिवादन गर्छ त्यसलाई आयु, विद्या, यश र बलको आशीर्वाद मिल्छ ।
यतिबेला विद्यार्थीको दसैँ झोलाबाट काँधमा सर्छ । पिङ बनाउन सिक्नु, पूजास्थल, मेला–कन्सर्टहरू आयोजना गर्नु, फुर्सदको समयको उचित व्यवस्थापन गर्नु, विकृति न्यूनीकरणमा सहयोग गर्नु तिनको मुख्य जिम्मेवारीमा पर्छन् । दसैँलाई जीवनोपयोगी परियोजनासँग जोड्न पाउने विशेष अवसर पनि तिनका लागि चुनौतीपूर्ण बनेको हुन्छ । समाजको यथास्थिति र मनोविज्ञान अर्को चुनौतीको विषय हो ।
दसैँले हामीलाई युगौंदेखि विशिष्ट पहिचान मात्र होइन, आफन्तहरूसँग रमाउने सुन्दर अवसर पनि प्रदान गरिहेको हुन्छ । तर, जब यी भेटघाटहरू आडम्बरमा परिणत हुन्छन्, तब हाम्रो संस्कृति, पहिचान र सांस्कृतिक महत्त्व समाप्त हुन्छ । यसर्थ, हामीले दसैँको मौलिकता बचाउँदै एउटा सांस्कृतिक पर्वका रूपमा मनाउन सके सामाजिक सद्भाव र पहिचान कायम राख्न सकिन्छ । दसैं–तिहार मात्र होइन, कुनै पनि चाड–पर्व उपभोक्तावादी सोचबाट मात्र मनाउने प्रयास ग¥यौँ भने त्यो हाम्रा लागि प्रति–उत्पादक हुन सक्छ ।
हाम्रो समाजमा गरिब होस् या धनी जुन समुदायले पनि उत्तिकै तामझामका साथ रमाइलो गर्नुपर्छ भन्ने मानसिकता पाइन्छ । तर, घाँटी हेरी हाड निल्न नजान्दा कतिपयका लागि दसैँ ढोल बजाएर आउने र ऋण बोकाएर जाने गरेको छ । मानिसहरू ऋण गरेर भए पनि दसैँमा एक–आपसमा खुसियाली साटासाट गर्छन् । तर, यस्तो कृत्रिम खुसीमा रमाउने प्रवृति गलत हो । आफ्नो कार्य व्यस्तताले लामो समयसम्म घरबाट टाढा रहेका आफन्तहरू दसैँमा घर फिरेर केही दिन भए पनि सँगै बस्छन् हाँस्छन्, रमाउँछन् । यसैको बहानामा लिङ्गे पिङ झुन्डिन्छन् । मादलहरू घन्किन्छन् । आत्मीय सम्बन्ध र मित्रता चाहनेका लागि यो समय र वातावरण आफैँ उत्तम बन्छ । त्यसैले ऋण गरेर दसैँ मनाउने प्रवृत्तिको हामीले विरोध गर्नुपर्छ । हाम्रो कर्तव्य भनेको परम्परालाई जोगाइराख्नु मात्र होइन, विकृतिहरूको विरोध गर्नु पनि हो ।
दसैंमा जनावरलगायतको बलि दिएमा धर्म कमाइन्छ भन्ने अन्धविश्वास व्याप्त देखिन्छ । हिन्दू संस्कृति अन्तर्गतको अर्को विकृति हो, बलिप्रथा । अहिलेको पुस्ताले समाजका यस्ता विकृतिहरू उन्मूलन गर्न पनि विशेष अभियान थाल्नु आवश्यक छ । दसैंमा टीकाको रूपमा धेरै मात्रामा अन्न खेर जान्छ । त्यसलाई रोक्न अबिरको टीका प्रयोग गर्न सकिन्छ । चामलकै टीका प्रयोग गरे पनि निधार भरिने गरी होइन, थोरै लगाउँदा अन्नको बचत हुन्छ । भोकमरीले नेपालकै कैयौं ठाउँमा मानिसहरूको मृत्यु भइरहेको समयमा हामी नयाँ पुस्ताले अन्न बचाउन आफ्नै घर–गाउँबाट अभियान सुरु गर्नुपर्छ ।
विशेषतः दसैं सद्भाव साटासाट गर्ने, ठूलालाई आदर गर्ने र आशीर्वाद थाप्ने मुख्य पर्व हो । त्यसैले यो समयमा खान, लाउन र रमाइलो गर्नभन्दा पनि आपसी सद्भाव, मेलमिलाप साटासाटलाई प्राथमिकता दिनु राम्रो हुन्छ । संस्कृति र संस्कारले सिकाएको ज्ञानलाई आफ्नो जीवनमा लागू गर्न सके सुनमा सुगन्ध हुन्छ ।
दसैंमा कसले कति दक्षिणा दियो भन्ने पनि चासोको विषय बन्ने गरेको छ । झन् केटाकेटीहरू त दक्षिणा पाउनेबित्तिकै खुसी हुन्छन् । तर, दक्षिणाभन्दा पनि आशीर्वाद, शुभेच्छा र माया आदानप्रदानको पर्वका रूपमा दसैंलाई मनाउन सक्नुपर्छ । किनकि आशीर्वाद, शुभेच्छा र माया पैसाले प्राप्त हुने कुरा होइनन् ।
दसैँ राष्ट्रिय चाड त भनियो तर त्यो वास्तविकता हो कि होइन ? यसको कति विरोध र कति समर्थन गर्नु उचित छ ? यसबारे गभीर भएर हरेक वर्ष कतिले तथ्यको खोजी गर्छन् ? यस खालका जिज्ञासाहरू मनमा आउँदा चित्त कुँढिने अवस्था छ । भनिन्छ, पढेर भन्दा परेर जानिन्छ । सिकाइमा वातावरण र सिकारुको तत्परताले मूल भूमिका खेलेकै हुन्छ । प्रारम्भिक शिक्षाको सिकाइमा वातावरणको तयारी कारक बन्छ । समय र वातावरणले मानिसलाई परिवर्तनमा अभ्यस्त बनाउँछ । दसैँ अनौपचारिक शिक्षाबाट दीक्षित हुने विशेष संस्कृति भएकाले यसको व्यावहारिक प्रयोगमा जोड दिनुपर्छ । किनकि आजभोलि बच्चालाई किताबी ज्ञान र प्रविधिमा टाठो बनाइँदै लगिए पनि समाजमा नैतिक ज्ञान, अनुशासन र व्यावहारिकताको मात्रा खस्किँदै गएको छ । प्रविधिको विकाससँगै एकाकी जीवनतर्फ उन्मुख अहिलेको पुस्ता संस्कार, सङ्गत र सभ्यतामा कमजोर हुँदो छ । यस्तोमा शिक्षक तथा अभिभावकले दसैँ–तिहारलगायत चाडपर्वको व्यावहारिक र जीवनोपयोगी प्रयोग सिकाउन जान्नुपर्छ । किनकि असल संस्कारले व्यक्ति असल बन्छ, असल व्यक्तिले समाज समुन्नत हुन्छ ।
प्रतिक्रिया दिनुहोस्