
आदित्यमान श्रेष्ठ – विस्तारवाद राजनीतिक शब्दावलीमा एउटा सर्व स्वीकृत सिद्धान्त हो । आधुनिक युगमा यो साम्राज्यवादसित जोडिएको शब्द मानिन्छ । जुन बेला संसारमा साम्राज्यवादको जगजगी थियो त्यो बेला विस्तारवाद एक सर्व स्वीकृत धारणा र व्यवहार थियो । ब्रिटिश, फ्रेन्च, स्पेन, पोर्तुगल आदि युरोपीय देशहरू १७ वीं, १८ वीं शदीमा आफ्ना आफ्ना उपनिवेश खडा गर्न प्रतिस्पर्धामा लागेका थिए । १९ वीं शदीमा आएर ग्रेट ब्रिटेन संसारमा सबभन्दा ठुलो साम्राज्य खडा गर्न सफल भयो । तर २० वीं शदीमा साम्राज्यवादको अन्त हुन आयो । यो सिलसिलामा जित्नेले गर्व गरे भने हार्नेले दागा राखे । साम्राज्यवादको चंगुलमा पर्ने देश र जनता शोसित भए र दुःख पाए । तर जे भए पनि यसले इतिहासमा गहिरो छाप छोड्यो । साम्राज्यवाद एक प्रकारले अन्त भयो तर साम्रज्यवादी चिन्तन जिउँदै रह्यो ।
नेपालको परिपेक्षमा पृथ्वीनारायण शाहलार्इ नेपालको एकिकरण गरेको भनेर प्रशंसा गरिन्छ तर उनका आलोचकहरूले उनलार्इ विस्तारवादीको रूपमा चित्रण गर्द छन् । उनी संसारमा साम्रज्यवाद फैलिरहेको बखत गोर्खाका राजा भएका थिए । उनकै पालामा भारतमा अंग्रेजहरूले आफ्नो साम्राज्य बढाइरहेका थिए । उनले पनि नेपालको पहाडी र तरार्इ प्रदेशमा फैलिएका साना साना राज्यहरूसित लडार्इ गर्दै जितिरहेका थिए । सन् १७६८ याने अठारवीं शदीमा उनले काठमाडौ उपत्यका जिते र नेपालको एकिकरण गरे । हुन त उनको देहावसान भर्इसके पछि पनि नेपालको विस्तारको क्रम जारी रह्यो । नेपाल र अंग्रेजबीच युद्धमा नेपालको हार भयो र सुगौली सन्धि सम्पन्न भयो । आज नेपाल त्यही सुगौली सन्धिले तोकेको र सन् १८५७ पछि अंग्रेजले फर्काएको केही प्रदेशमा अवस्थित भएको छ । चाहे कसैले पृथ्वीनारायण शाहलार्इ नेपालको एकिकरणगरेको भनेर असल ठानोस् या विस्तारवादी भनेर खराब ठानोस् नेपालको अस्तित्व कायम रहिआएको छ । पृथ्वीनारायण शाहलार्इ एउटा विवादित व्यक्तित्व बनाए पनि उनले बनाइदिएको नेपाल विवादित छैन ।
हुन त विस्तारवाद भन्नु विस्तारीकरण हो । विस्तारिकरणलार्इ आधुनिक विज्ञानले प्राकृतिक मानेको छ । पूर्वीय प्राचीन ग्रंथहरूमा यौन कर्मलार्इ सन्तान जन्माउने लक्षसित जोडिएको छ । अर्थात यौन क्रिया प्राकृतिक र स्वाभाविक हो तर त्यसको मुल उद्देश्य सन्तान जन्माउनु नै हो भनेर जोड दिइएको छ । सन्तान जन्माउनुलार्इ मानव जातिको विस्तारिकरणसित जोडिएको छ । यदि यो प्रेरणाबाट प्रेरित नभएकोभए एक जना दार्शनिकले कल्पना गरेका छन् कि संसारका पुरूषहरूले स्त्रीजातिको संहार र नाश गरिदिन्थे । पुरूष र स्त्री जाति बीचको सहअस्तित्व, प्रेम र सद्भावना सन्तानकै खातिर रहेको उनको भनार्इ छ । भनार्इको तात्पर्य मानिसको प्राकृतिक विस्तारवादी स्वभावको कारणले मानव सभ्यता टिकेको छ ।
यदि विस्तारवाद मानव स्वभाव अनुकुल छ भने उही विस्तारवाद मानव समाज र राजनीतिमा अभिव्यक्त हुँदा किन अन्यथा मान्नु पर्ने रु यसैको असरबाट देशले सिमा बढाउनु र प्रभाव फैलाउनुलार्इ विस्तारवादको प्रतिफल मानिन्छ । यसै अनुकुल नीति बनाउनु विस्तारवादको लक्षण हो । यो कुरा सत्य हो कि विस्तारवादले द्वन्द्व, झगडा, लडार्इ निम्त्याउँ छ । फलस्वरूप हत्या, हिंसाको सृखला चल्द छ । मानव सभ्यताको विकासको क्रममा विनाशका साधनहरू पनि विकसित भएका छन् । संसारकै विनाश हुने डरले आज विस्तारवादमा रोक लागेको छ । संयुक्त राष्ट्र संघको मुल उद्देश्य नै यस्तो विनाश रोक्ने हो । यसैबाट प्रेरित भएर साम्राज्यवाद र विस्तारवादमाथि नियन्त्रण गरिएको छ । आजको प्रतिस्पर्धा कसले विनाश गर्न सक्द छ भन्नेमा छैन । जस्ले विनाश रोक्न सक्द छ र जो संग त्यो तागत छ उसलार्इ नै शक्तिशाली राष्ट्र गनिन्छ । अमेरिकालार्इ सर्वशक्तिमान मानिएको कारण पनि यही हो । संसार ध्वस्त पार्न सक्ने शक्ति त्यो देश सित मात्र छैन अरू सित पनि छ । तर ध्वस्तपार्न सक्नेलार्इ रोक्न सक्ने शक्ति भने त्यो देशसंग मात्र छ ।
विस्तारवाद मरेको छैन । यो नियन्त्रित मात्र भएको छ । यसको प्रस्फुटन अर्कै तरीकाले भइरहेको छ । विस्तारवादले विस्तारिकरणको बाटो लिएको छ । सामरिक नीति र रणनीति यसै दिशातिर उन्मुख छन् । यसतो सामरिक संगठनहरूले विस्तारवादलार्इ रोक्ने मात्र गर्दैन यसले विस्तारिकरणलार्इ बढावा दिएको छ । व्यापार विस्तार यही विस्तारिकरणको प्रतिफल हो । आधुनिक युगमा प्रादेशिक विस्तारवाद स्वीकार्य छैन । तर सांस्कृतिक, धार्मिक, शैक्षिक र आर्थिक विस्तारिकरण मान्य भएको छ । अन्तर्राष्ट्रिय सहयोग र गतिविधि यसै लक्ष प्राप्त गर्न जुटेका छन् । यस कार्यमा धनको ठुलो भूमिका छ त्यसैले सानो मुलुक भए पनि धनी छ भने यस्तो कार्यमा गतिशिल र सफल पनि भएको पाइन्छ ।
नेपाल जसतो सानो र गरीब मुलुकले यसबाट के सिक्ने र कसरी अगाडि बढने भन्ने प्रश्न तेर्सिन्छ । आखिर नेपाल नै विस्तारवादबाट उत्पत्ति भएको रहे छ भने यो विस्तारिकरणबाट पनि अछुतो रहन सक्दैन । मुलुक गरीब भएकोले धनको बलले यो अभियानमा लाग्न पनि सक्दैन । तर नेपाल र नेपालीसित केही यस्ता गुणहरू छन् जसबाट उनीहरू विस्तारिकरण तिर लाग्न सक्द छन् । एक किसिमले उनीहरू लागिसकेका पनि छन् । नेपालीहरू संसारका सबै देशहरूमा फैलिनु यही विस्तारिकरणको ध्योतक हो ।
तीन करोड नेपालीमा करीब एक करोड नेपाल बाहिर स्थार्इ या अस्थार्इ तरिकाले बसेका छन् । कतिपय आप्रबासी भएका छन् भने कतिपय श्रम बजारमा व्यस्त छन् । संसारको कुनै कुनामा कुनै नराम्रा घटना भयो भने त्यहाँका नेपालीहरू सुरक्षित छन् या असुरक्षित छन् भन्ने समाचार सुन्न पाइन्छ । आधुनिक संचार प्रविधिको माध्यमले सबै एकै सूत्रमा बाँधिएको मान्न पनि सकिन्छ । नेपाल माथि कुनै आपत्ति आइपर्दा जताततैबाट हारगुहार आउने गर्द छ । ठुला देशले संकट पार्दा या दुःख दिंदा विश्वभर फैलिएका नेपालीहरूले आवाज उठाउने गर्द छन् । उनीहरूले नेपाललार्इ परिचित गराएका छन् । संसारको हरेक भागमा नेपाली चाडवाड धुमधामसंग मनाइन्छ । नेपालको भूविस्तारिकरण नभए पनि नेपालीहरूको भाषा, संस्कृति, भेषभुषाको विस्तारिकरण भइरहेको छ ।
पुरानो युगमा पृथ्वीनारायण शाह विस्तारवादी भएर जुन उपलब्धि भयो त्यसबाट प्रेरणा लिएर आजको युगमा हरेक नेपाली विस्तारिकरणमा संलग्न हुनु पर्दछ ।
प्रतिक्रिया दिनुहोस्