
फाइल फोटो
काठमाडौं, असोज १४ । बडादसैं, तिहार छठ पर्वका समयमा राजधानीको सुरक्षा व्यवस्थालाई त्रुटिरहित र मजबुद् बनाउन प्रहरीले तीन चरणको सुरक्षा योजना अवलम्बन गर्ने भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरी चाडपर्वमा जनतालाई सुरक्षा दिलाउन र विदेशबाट घर फर्कने एवं काठमाडौं उपत्यकाबाट गन्तव्यमा जाने यात्रुसमेतलाई पूर्णसुरक्षाको सुनिश्चितता दिलाउन सुरक्षा रणनीति तय गरिने जानकारी दिएको छ ।
परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाले चाडपर्वका लागि चार हजारभन्दा बढी जनशक्ति खटाइ परिचालन गरिएको बताए ।
सुरक्षाका लागि कुकुरको परिचालनदेखि पैदलगस्ती, सवारीगस्ती, साइकलगस्ती, मोटरसाइकलगस्ती र मोटरगस्ती गरिने उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय तथा सरोकार भएका निकायसँग समन्वय गरी बजार अनुगमन तीव्र पारिएको प्रहरीले जनाएको छ ।
चोरी, जुवातास, गुन्डागर्दी, पाकेटमारी नियन्त्रण गर्न राजधानी भित्रिने र बाहिरिने नाका, अर्थिक कारोबार हुने स्थान, ठूला पसल, गहना पसल, दसैंबजारलगायत स्थानमा सादा पोसाकमासमेत प्रहरी परिचालन गरिनेछ ।
बढी भाडा असुल्ने, अत्यधिक यात्रु राखी सवारी–साधन चलाउने, मिठाइ तथा खाद्यपदार्थमा हुने मिसावटको अनुगमन तथा नियन्त्रणसमेत प्रहरीले तीव्र पार्नेछ ।
यात्रुलाई सहज यात्रा गर्न र सुविधा दिन सुन्धारा, गौशाला र नयाँबसपार्कमा दुई–दुई स्थान तथा कोटेश्वर, बल्खु, कलंकी र बालाजुमा एक–एक स्थानमा गरी ९ स्थानमा प्रहरीको सहयोगकक्ष खडा गरिएको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्