२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


त्यो माला मेरो गलामा दश सेकेण्ड पनि रहेन : मन्त्री थापा


0
Shares

कोहलपुरको एक सार्वजनिक कार्यक्रममा सहभागी हुन पुगेका स्वास्थ्य मन्त्री गगन थापालाई आयोजकले  एकाउन्न किलोको माला लगाई दिए पछि सामाजिक सञ्जाल र विभिन्न संचार माध्यममा चर्को विरोध भईरहेको छ । प्रस्तुत छ ,यसै विषयमा मन्त्री थापासंग गरिएको छोटो कुराकानी ।
तपाईले लगाएको एकाउन्न किलो मालाको चौतर्फी विरोध भईरहेको छ नि ?
म आफै छक्क परिरहेको छु ।मैले एकाउन्न किलोको माला किन लगाउनु पर्यो । मैले सम्मान कहिल्यै खोजिन । अनावश्यक मानसम्मान र माला संस्कृतिको म घोर विरोधी हुँ । साथीहरुले वास्तविकता नबुझि विरोध गरेको जस्तो लागेको छ । म पनि दुःखी छु ।
त्यसो हो भने , तपाईलाई किन  एकाउन्न किलोको त्यति ठूलो  माला लगाईदिएको त ?
म कोहलपुरको एक कार्यक्रममा सहभागी हुन जाँदै थिए  । साथीहरु स्वागतका लागि ढोकामा बसिरहनु भएको थियो । एकाएक माला लगाई दिनुभयो । त्यो माला मेरो गलामा दश सेकेण्ड पनि रहेन । मैले लौन के गरेको भन्दै माला झिकिहाले । मलाई सम्मानका लागि फूल या  माला  चाहिदैन , साथ भए पुग्छ । दिनै मन लाग्यो भने पनि एक थुङ्गा फूल भए प्रयाप्त हुन्छ ।
कार्यकर्ताहरु नेताको चाकरीमा किन यस्तो हर्कत गर्छन ?
यति ठूला माला लगाईदिने परिपाटीसंग म पटक्कै सहमत छैन् । मलाई कोहलपुरमा साथीहरुले चाकरी गरेर माला लगाईदिएका हुन भन्ने मान्दिन । साथीहरु भावनात्मक रुपमा अलि बढी उदात्त हुनु भएछ ।
नेतालाई ठूलाठूला माला लगाईदिएर सम्मान गर्ने संस्कृतिलाई के भन्नुहुन्छ त ?
हामी नेपालीको एक अर्कालाई सम्मान गर्ने गजवको संस्कार छ । यो राम्रो पनि हो । पछिल्ला समयमा राजनीतिले जनअपेक्षा अनुसार काम गर्न नसकेको अवस्थामा नेताहरुलाई ठूला माला लगाएर स्वागत गर्दा अस्वभाविक देखिएको हो । यसैले विरोध हुनु ठीकै पनि हो ।
कतै कार्यक्रममा पुग्दा कसैले सम्मान गर्दै माला लगाईदिन खोज्दा हुदैन भनेर माला फ्याक्नु पनि राम्रो भएन । कार्यक्रम आयोजना गर्ने साथीहरुमा सम्मान गर्ने सरल चेतना आयो भने राम्रो हुने थियो ।
कोहलपुर घटनाले तपाईलाई कस्तो अनुभव दियो त ?
म आफै दिक्क भएको छु । म आउँदैछु यति किलोको माला गाँस साथीहरु हो, मैले भनेको थिईन । कार्यक्रम स्थल पुग्नासाथ साथीहरुले माला लागाई दिए । मैले लाजमान्दै माला गलाबाट झिके । कसैले खिचेको तस्वीर हेरेर मेरो सामाजिक संजालमा आलोचना भईरहेको छ । यो बुझाईमा गलत भएको मैले बुझेको छु ।