८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


लाखौंको जुवा खेल्छन्, जरिवाना दुई सयमात्र


0
Shares

काठमाडौं, असोज १४ । भक्तपुर सूर्यविनायकको पाण्डुबजारस्थित एक घरमा ३० साउनमा छापा हानी प्रहरीले १० लाख ५४ हजार रकमसहित १६ जुवाडे पक्राउ गर्‍यो ।

अनुसन्धानका क्रममा सो जुवाघरमै दैनिक करोडको हारजित हुने गरेको खुल्यो । पक्राउ परेकालाई प्रहरीले जुवा ऐन, २०२० अनुसार मुद्दा चलायो।

भक्तपुर जिल्ला अदालतले उनीहरूलाई दुई–दुई सय रुपैयाँ जरिवाना लिएर छाड्ने आदेश दियो । मुद्दा चलेकै दिन उनीहरूलाई कम जरिवानाको फैसला भएको हो ।

अदालतले जुवाडेलाई थोरै जरिवाना गरेको होइन, कानुनअनुसार त्यो नै अधिकतम सजाय हो । जुवा ऐन, २०२० अनुसार जुवा खेल्ने तथा खेलाउनेलाई अधिकतम दुई सय रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । कैद सजायको प्रावधान नै छैन ।

५३ वर्षअघिको उक्त कानुन अहिलेसम्म समयानुकूल संशोधन नहुँदा जुवा खेलाउने र खेल्ने सजिलै छुट्ने गरेका छन् । जसका कारण राजधानीमा अवैध जुवाघरहरू मौलाएका छन् ।

जुवा ऐनअनुसार अभियुक्तलाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ । तर, उपत्यकाका प्रहरीको तथ्यांक हेर्दा उनीहरू एक साताभन्दा धेरै हिरासतमा बस्नुपर्दैन ।

प्रहरीलाई समेत प्रभावमा पारी उनीहरू केही दिनमै छुट्ने गरेका छन् । गत ३० साउनमा सूर्यविनायकमा पक्राउ परेका १६ जना जुवाडे चौथो दिनमै छुटेका थिए । प्रहरीले रातभरि बयान लिएर उनीहरूको मुद्दा छिटै बुझाएको थियो । सोही कारण उनीहरू चार दिन मात्र हिरासतमा बस्नुपर्‍यो । आर्थिक प्रभावका आधारमा महानगरीय प्रहरी वृत्त जगातीले उनीहरूको मुद्दा छिटै बुझाएको स्रोत बताउँछ । उनीहरू पेसेवर जुवाडे हुन्, जो पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए । जतिपटक पक्राउ परे पनि उनीहरूले जुवा खेल्न छाडेका छैनन् ।

दसैँ नजिकिँदै गर्दा राजधानीमा जुवातासको खाल बढेको छ । प्रहरीले हरेक दिन जुवा अखडामा छापा हानी जुवाडेलाई पक्राउ गर्न थालेको छ । बुधबार मात्र प्रहरीले राजधानीका दुई जुवा अखडामा छापा हानी ११ जनालाई पक्राउ गरेको थियो । –नयाँ पत्रिका दैनिकबाट