१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


कुमारी फुटसल, बानेश्वर रिक्रिएसन र शंखमुल फुटसल विजयी


0
Shares

काठमाडौं, असोज १२ । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् बुधबारका खेलहरुमा कुमारी फुटसल, बानेश्वर रिक्रिएसन सेन्टर र शंखमुल फुटसल विजयी भएका छन् ।

समूह ‘बी’को दोस्रो खेलमा पकनाजोलको कुमारी फुटसलले बौद्धको हाइवे फुटसललाई ३–१ ले हरायो ।

खेलमा कुमारीलाई विजयी गराउन रुपेश क्षेत्री, अलिग तामाङ र अभिषेक रिजालले एक–एक गोल गरे । पराजित टोली हाइवेका लागि अमित तामाङले एक् गोल फर्काए ।

विजयी टोली कुमारीले अंकतालिकामा तीन अंक जोड्दा पराजित टोली हाइवेका अमित तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।

त्यस्तै, समूह ‘ए’अन्तर्गत्को खेलमा बानेश्वर फुटसलले ह्वाइटहर्स फुटसललाई ५–२ ले हराएको छ ।

नीलोपुलस्थित ह्वाइटहर्सको मैदानमा भएको खेलमा पाहुना टोलीका लागि करुण ज्ञवाली र कर्फु रसाइलीले २–२ गोल गरे । यसैगरी, मनीष रानाले अर्को एक गोल थपे ।

पराजित टोली ह्वाइटहर्सको लागि रितेश लामा र राजिभ भुजेलले एक–एक गोल गरे । यो खेलमा उत्कृष्ट प्रदर्शन गरेका बानेश्वर फुटसलका गोलरक्षक रजत शर्मा ‘म्यान अफ द म्याच’ घोषित भए ।

त्यस्तै, समूह ‘बी’को खेलमा शंखमुल फुटसलले कीर्तिपुर फुटसललाई १०–४ ले हराएको छ ।

कीर्तिपुरमा भएको खेलमा शंखमुललाई विजयी गराउन अभय राना र शेरबहादुर थापामगरले ३–३ गोल गरे भने दिनेश राजवंशीले २ गोल गरे ।

यसैगरी, सहयोग चाम्लिङ राई र विप्लभमानले एक–एक गोल थपे । खेलमा ह्याट्रिक गर्न सफल शेरबहादुर थापामगर म्यान अफ द म्याच घोषित भए ।