१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


फुटसल लिगमा इम्पेरियल र सामाखुसीको विजयी सुरुआत


0
Shares

काठमाडौं, असोज ११ । रेडबुल फुटसल लिग २०७३ मा इम्पेरियल फुटसल र सामाखुसी फुटसलले विजयी सुरुआत गरेका छन् ।

प्रतियोगिताअन्तर्गत् मंगलबार दोस्रो दिनको खेलमा कौशलटारको इम्पेरियल फुटसलले भैसेपाटीको रजनी फुटसललाई ४–२ ले पराजित गर्‍यो ।

खेलको पहिलो क्वार्टरमै रजनी फुटसलले २–० को अग्रता लियो । रुसन केसी र सुमन कार्कीको गोलमार्फत् अग्रता लिएको रजनीले आफ्नो अग्रता जोगाउन सकेन ।

दोस्रो हाफमा खेलमा फर्किएको इम्पेरियलका लागि निराजन गैरेले ह्याट्रिक गरे । यसैगरी, किसन अधिकारीले अर्को एक गोल थपेपछि खेल इम्पेरियलले ४–२ ले जितेको हो ।

यो जितसँगै इम्पेरियलले रेडबुल फुटसल लिगमा पहिलो खेलबाटै ३ अंक जोडेको छ ।

प्रतियोगिताअन्तर्गत् मंगलबारै भएको अर्को खेलमा सामाखुसी फुटसलले हरिसिद्धि फुटसललाई ७–३ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

हरिसिद्धि फुटसलमा भएको खेलमा सामाखुसीलाई फराकिलो जित दिलाउन नबीन लामा र सन्तोष तामाङले समान २–२ गोल गर्दा सन्दीप थापा, दिनेश कार्की र सुजन महर्जनले १–१ गोल गरे ।

हरिसिद्धिका लागि राजेश तुम्बापो, राफी महर्जन र अरुन लामाले १–१ गोल गरे ।

जितसँगै समूह ‘बी’ मा रहेको सामाखुसीले पहिलो खेलबाटै स्पस्ट ३ अंक जोडेको छ ।

१६ टोली सहभागी राष्ट्रिय लिगमा सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

‘होम एन्ड अवे’को आधारमा सन्चालन हुने लिगको विजेताले १० लाख तथा उपविजेताले ५ लाख नेपाली रुपैयाँ जित्नेछन् ।