
काठमाडौं, असोज ११ । गत भदौ २४ गते तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरको भक्तपुर, सानोठिमीमा रहेको घरमा जबर्जस्ती प्रवेश गरी चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही, पिडाडी गाविस घर भइ हाल पेप्सीकोला बस्दै आएका रञ्जितप्रसाद गुप्ता र महोत्तरी, मेघनाथ घोरन्ना गाविस घर भइ पेप्सीकोलामै बस्दै आएका ‘प्रमानन्द’ भन्ने प्रचण्डप्रताप सिंहलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो ।
सो समूह जबर्जस्ती प्रवेश गरी घरको माथिल्लो तलाको कोठामा रहेको ठाकुरको ‘ब्रिफकेस’ चोरी गरी फरार रहेको थियो ।
ब्रिफकेस चोरी फरार रहनेक्रममा अध्यक्ष ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुर (झा)लाई खुकुरी देखाइ आक्रमण गर्नुकासाथै खुर्सानीको धुलोसमेत फ्याँकेको प्रहरीले जनाएको छ ।
पक्राउ भएका दुबैजनाले योजनाबद्ध तवरबाट जबर्जस्ती घुसेर चोरी गरेको र आएको रकम बाँडेर खाने योजना बनाएको प्रहरीलाई बयान दिएका छन् ।
पक्राउ परेकालाई आवश्यक कानुनी कारबाहीका लागि मंगलबार महानगरीय प्रहरी वृत्त, सानोठिमी, भक्तपुर पठाइएको महाशाखाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्