
तस्वीरः गोल नेपाल
काठमाडौं, असोज १० । नेपालको थ्रीस्टार क्लब ६४औं संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारतको गुवाहाटीस्थित नेहरु स्टेडियममा आइतबार अबेर राति भएको खेलमा घरेलु टोली सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टारले यसअघि एक जित र एक बराबरीका साथ सेमिफाइनल पक्का गरेको थियो ।
समूह ‘ए’को अन्तिम निर्णायक खेलमा ल्याएको बराबरीको नतिजाले थ्रीस्टारलाई समूह विजेता बनाएको हो ।
उक्त खेल बराबरीले सिलोङ लाजोङलाई पनि समूह उपविजेताकोरुपमा सेमिफाइनलमा पुर्याएको छ ।
एक गोलले पछि परेको अवस्थामा मिडफिल्डर सुनील बलको फ्रिकिकमा निराजन खड्काले हेडगोल गर्दै थ्रीस्टारलाई समूह बिजेता बनाए । खेलको ७५औं मिनेटमा उनले गोल गरेका हुन् ।
खेलमा अग्रता भने २७औं मिनेटमा सिलोङ लाजोङले मिलन बासुमातरीको गोलबाट लिएको थियो । रिवाउन्ड भएको बल सरोज दाहालले क्लियर गर्न नसकेपछि सिलोङले खेलमा अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ३३औं मिनेटमा पेनाल्टीमार्फत् खेलमा फर्कने थ्रीस्टारले अवसर पाएको थियो । तर, विमल घर्तीमगर गोल गर्न चुकेपछि थ्रीस्टार पहिलो हाफमै बराबरी गर्नबाट चुकेको थियो ।
थ्रीस्टारले सेमिफाइनलको खेल आगामी बुधबार खेल्नेछ । प्रतिद्वन्द्वीको टुंगो सोमबार (आज) हुने समूह ‘बी’अन्र्तगत्को लिग चरणको अन्तिम खेलले लगाउने छ । रासस
प्रतिक्रिया दिनुहोस्