
काठमाडौं, असोज ९ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्तिक ८ गते हुने निर्वाचनका लागि अध्यक्षमा दुई जनाको तथा उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ ।
आइतबार साँझ ५ बजे उम्मेदवारी दर्ता गराउने समय सकिँदा अध्यक्षका लागि हालका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र हालका उपाध्यक्ष कर्माछिरिङ्ग शेर्पाको उम्मेदवारी परेको हो ।
श्रेष्ठले ८ प्रस्तावक र ८ समर्थक तथा अन्तिम दिन उम्मेदवारी दर्ता गराएका शेर्पाले १४ प्रस्तावक र १२ समर्थकसहित उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति संयोजक सुजित केसीले जानकारी दिए ।
त्यस्तै उपाध्यक्षका लागि मणि कुँवर, उपेन्द्रमान सिंह र दीपक खातीको उम्मेदवारी परेको छ ।
उम्मेदवारहरु उपर दाबी विरोध गर्ने समय मंगलबार दिउँसो २ बजेसम्म रहेको छ । त्यस्तै कार्तिक ८ गते हुने निर्वाचनका लागि उम्मेदवारी फिर्ता गर्न चाहनेले कार्तिक ५ गतेसम्म नाम फिर्ता लिन सक्नेछन् ।
एन्फा निर्वाचनमा ४५ जिल्ला, १२ ए डिभिजन क्लव, ५ बी डिभिजन क्लव, ३ सी डिभिजन क्लव तथा खेलाडी, प्रशिक्षक र रेफ्रीबाट एक एकसहित ६९ मतदाताले मत खसाल्ने अधिकार पाउँछन् ।
प्रतिक्रिया दिनुहोस्