
आदित्यमान श्रेष्ठ – प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भारत भ्रमण, त्यहाँ भएका केही घटनाहरू र नेपालमा भएका प्रतिक्रियाहरू देख्दा मलार्इ केही संस्कृतका उक्तिहरूको सम्झना हुन्छ । ती उक्तिहरूले उनको भ्रमणको उपलब्धि र उनको चरित्रको राम्रो चित्रण गरेको पाइन्छ ।
सबभन्दा पहिले उनको भ्रमणको अवसरमा प्रकाशित गरिएको संयुक्त वक्तव्यले आत्म सम्मान भएका नेपालीहरूलार्इ पुर्याएको चोटसित सम्बन्धित छ । जुन दिन देखि पुष्पकमल दाहाल प्रचण्ड भएका थिए र जनयुद्धको नाउँमा हत्या हिंसा शुरूगरेका थिए त्यसै दिन देखि नेपाली जनताले दुःख र सास्ती मात्र पाएका छन् । उनका हिमायतीहरूले त उनलार्इ ठुलै नेता मान्दा हुन् र देशलार्इ मुक्ति दिलाएका ठान्दा पनि हुन् । तर १७,००० नेपालीहरूको ज्यानको युद्धले दिएको पीडा, हजारौको संख्यामा घाइते भएका र अझ सम्म हराएका परिवारको दुर्दशा र आज सम्म चलिरहेको अशान्तिले नेपालीहरू छटपटि नै रहेका छन् । अंग्रेजीमा भन्ने गरिएको जस्तो दिल्ली भ्रमणमा सो पीडामा बेइज्जति थप्ने काम गरिरहेको नेपालीहरूको दुःखीत मनलार्इ सम्झाउन सक्ने एउटा श्लोकको स्मरण गरिएको छ ।
अजातमृतमूर्खेभ्यो मृतजातौ सुतौ वरम् ।
इतस्तौ स्वल्प दुःखाय यावज्जीवं जडो दहेत् ।। पञ्चतन्त्र ४
नजन्मेको, जन्मेर मरेको तथा मूर्ख यी तीन प्रकारका पुत्रहरुमध्ये नजन्मेको र जन्मेर पनि मरेकोलाई बेस मान्नु पर्द छ किनभने यी दुईले थोरै मात्र दुःख दिन्छन् तर मूर्ख छोराले जन्मभर जलाई राख्द छ । के यो उक्ति उनको भूत र वर्त्तमानलार्इ केलाउँदा चरितार्थ भएको देखिन्न ?
भ्रमण सम्बन्धमा अर्को रोचक खबर सुन्न पाइयो । पुष्प कमल दाहालले नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिलार्इ भारत भ्रमणबारे जानकारी दिए छन् । त्यसमा उनले भने छन् भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले उनलार्इ आफु (मोदी)भन्दा ठुलो नेता तपार्इ हुनुहुन्छ भने छन् । त्यसकारण दाहाल सारै प्रफुल्लित देखिए छन् । उनको भ्रमण सफल भएको एउटा प्रमाण यसलार्इ पनि मानेका रहे छन् । तर उनका साथीहरूले भारतको व्यवहार बदलिएको नदेखिएकोले प्रफुल्लित नहुन सल्लाह दिए छन् तर प्रधानमन्त्री आफ्नो तारिफबाट हौसिएको देखेर आश्चर्य माने छन् । राष्ट्रलार्इ चाहिने कुरामा अंठ्याउने तर नेतालार्इ फुर्क्याइदिने अवस्थाले माहाभारतका विदुरले भनेका केही सांदर्भिक उक्तिहरूको सम्झना दिलाउँ छ । एउटा उक्तिमा उन्ले भनेका छन्ः
न हृषत्यात्म सम्माने नावमानेन तप्यते ।
गांगो हृद इवाक्षोभ्यो यः स पण्डित उच्यते ।। विदुर
जो प्रशंसामा फुल्दैन, निन्दामा पीर लिन्न र गंगाजस्तो गहिरो छ ऊ बुद्धिमान् हो । यसबाट के ज्ञान हुन्छ भने दाहाल एक विद्वान होइनन् । उनी मोदीको प्रशंसाबाट दङ्ग पर्द छन्, नेपालीहरूको आलोचनाबाट पीरोलिन्छन् र खहरे खोला जस्तो गर्जन जानेका छन् । यस्तो मानिस विद्वान हुन सक्दैनन् भन्ने यसको बुझार्इ हो । जो विद्वान छैनन् उसलार्इ के भनिन्छ भनेर त मैले भनिराख्नु पर्दैन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दु धर्म, पुराना हिन्दु ग्रंन्थ र प्राचीन बुद्धिका उपासक हुन् । उनी विदुर जस्तो माहाभारतमा प्रख्यात भएका विद्वानसित अवश्य परिचित छन् । उनले हाम्रा महान् क्रान्तकारी नेतालार्इ आफ्नो बसमा लिन एउटा विदुरकै उक्तिलार्इ प्रयोग गरेको देखिन्छ । त्यो हो —
अक्रोधेन जयेत् क्रोधम् असाधुं साधुनां जयेत् ।
जयेत् कदर्यं दानेन जयेत् सत्येन चानृतम् ।। विदुर ।
क्रोधीलाई प्रेमी भएर जित्नु, दुष्टलाई सज्जन भएर जित्नु, छुच्चालाई दानी भएर जित्नु, र झूठालाई सत्य बनेर जित्नु ।दिल्ली भ्रमणको दौरानमा नेपाललार्इ केही दिएको जस्तो देखाएर वैदेशिक मामिलामा संगसंगै जाने भनेर नेपालको स्वतन्त्रता नै हरण गर्न खोजेको छ । सहुलियतमा ऋण दिनु आजको संसारमा प्रचलित चलन नै हो । ऋण भनेको फर्काउनु पर्ने रकम हो । त्यस्को ठुलो भाग नेपाली नेताहरूको सुबिधा बढाउन र उनीहरूको पकेटमा नै जाने रकम हो । संयुक्त वक्तव्यमा उल्लेखित आयोजनाहरू भारतले नबनाएर अपुर्ण रहेका हुन् । तीनीहरूलार्इ समयमा सम्पन्न गर्ने काम भारतको हो ।
त्यसमा भएको ढिलार्इ को कारण बारे कुनै चर्चा नगर्ने अनि समयमा सम्पन्न गर्ने भनेर तिनीहरूको अवलोकनमा भारतीय राजदुतावासलार्इ संलग्न गराएबाट नेपाल सरकारको सार्वभौम अधिकार भारतलार्इ सुम्पिदिएको छ । यसतो राष्ट्रघात कार्य गर्दा हौसिएको मानिसलार्इ के भन्ने ? के विदुरले त्यसको सही बयान गरेको होइन ?भारत भ्रमण जानु अगाडि देशका जनतालार्इ म जेल जान तैयार छु तर राष्ट्रघात हुने कुनै काम गर्दिन भन्ने प्रतिज्ञा गर्ने अनि त्यही गल्ति गर्नेलार्इ के भन्ने ? नेपालले लाँभो संघर्ष गर्दै स्वतन्त्र परराष्ट्र निति अपनाइआएकोमा अब देखि भारतसित निकटतम समन्वय गरेर जाने भनेको के हो ? के यो नेपालको परराष्ट्र नीति भारतलार्इ बुझाएको होइन ? विदुरले सिकाएको एउटा कूटनैतिक तरीका यसपालि मोदीले प्रभावकारी रूपमा प्रयोग गरेको कसरी नमान्ने ?
संसारमा अनेक समस्याको एउटा न एउटा समाधान हुने गर्द छ तर केही यस्ता कुरा पनि हुने रहे छन् जसको कुनै उपाय नै नहुने रहे छ । हाम्रो प्रधानमन्त्री पनि यस्तै प्रकारको भएको पाइन्छ । यो सूक्तिले यही सन्देश दिएको छ ।
शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो ।
नागेन्द्रो निशितांकुशेन समदो दण्डेन गोगर्दभौ ।।
व्याधिर्भेषजसङ्ग्रहैश्च विविधैर्मन्त्रप्रयोगैर्विषं ।
सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौधषम् ।।
पानीले आगोलाई, छाताले सूर्यलाई र हातीलाई अंकुशले, गाई भैंसीलाई लट्ठीले, रोगलाई औषधीले रोक्ने उपाय छ । सबैको उपाय शास्त्रले बताएको छ तर मूर्खको औषधी केही छैन ।
यसै सिलसिलामा नेपालीहरूले एउटा अर्को सूक्तिको पनि सम्झना गर्नु उपयुक्त हुने ठानेर यहाँ पेश गरिएको छ ।
पात्रापात्रविवेकोऽस्ति धेनुपन्नगयोरिव ।
तृणात्संजायते क्षीरं क्षीरात्संजायते विषम् ।। सुभाषित भाण्डागार
सुपात्र र कुपात्रको ज्ञान गाई र सर्पबाट लिन सकिन्छ । गाईले घाँस खाएर दूध दिन्छ तर सर्पले दूध खाएर विष दिन्छ । के यसको पनि व्याख्या गरिराख्नु आवश्यक छ र ?
प्रतिक्रिया दिनुहोस्