
काठमाडौं, असोज ८ । नेपाली सांगीतिक क्षेत्रको महाउत्सव १८औं ईमेज अवार्ड शनिबार राजधानीमा भव्यतापूर्वक सम्पन्न भएको छ ।
होटल सोल्टीमा भएको महाउत्सवको पब्लिक च्वाइस अवार्ड चलचित्र ‘वडा नम्बर छ’ को ‘सुर्के थैली खै !’ गीतले जितेको छ । यो अवार्डमा एसएमएस भोटका आधारमा विजेता चयन गरिएको हो ।
त्यस्तै, यस वर्षको सर्वोत्कृष्ट पुरुष गायनको उपाधि ‘धोका दिने’ गीतबाट गायक मनोजराजले तथा महिला गायनको उपाधि ‘आकाश उही’बाट बानिका प्रधानले प्राप्त गरेकी छन् ।
यस्तै, वर्षको सर्वोत्कृष्ट गीत सत्यराज आचार्यको स्वर रहेको ‘गोरी भन्दा’ घोषित भयो ।
यसैगरी, आचार्यकै स्वर रहेको बिन्दवासिनी म्युजिक कम्पनीको एल्बम ‘मधुशाला’ले सर्वोत्कृष्ट एल्बम अवार्ड प्राप्त गरेको छ ।
यसैगरी, सर्वोत्कृष्ट संगीतको अवार्ड सत्यराज आचार्य र सर्वोत्कृष्ट गीत रचनाकारको अवार्ड रमेश बिजीले प्राप्त गरे ।
यस्तै, पप गीततर्फ सर्वोत्कृष्ट गायक–गायिकाको अवार्ड अनिल सिंह र रेश्मा सुनवारले जितेका छन् ।
यस्तै, सर्वोत्कृष्ट नव कलाकारको अवार्ड अर्जन पाण्डेले प्राप्त गरे ।
यस वर्षको सर्वोत्कृष्ट लोकदोहोरी गीतको अवार्ड नीता पुनमगरले जित्दा सर्वोत्कृष्ट लोकगीत गायनको अवार्ड राजु ढुंगेल र नवीन ढुंगेलले प्राप्त गरेका छन् ।
यस्तै, सर्वोत्कृष्ट लोकदोहोरी गीत गायनको अवार्ड कुमार पुन र प्रीति आलेले तथा सर्वोत्कृष्ट लोकगीत संकलनको अवार्ड बसन्त थापाको भागमा गएको छ ।
यसैगरी, सर्वोत्कृष्ट चलचित्र गीतको अवार्ड चलचित्र प्रेमगीतले जित्दा सर्वोत्कृष्ट संगीत संयोजनतर्फ गोपाल रसाइली र सर्वोत्कृष्ट गीत मुद्रणबाट मित्र लामाले अवार्ड हात पारे ।
त्यसैगरी, राष्ट्रिय भावनाले ओतप्रोत गीत रचनातर्फ धमेन्द्र सेवान तथा समूह गायन विधामा रोविन शर्मा र बानिका प्रधानले अवार्ड जिते ।
यस्तै, म्युजिक भिडियोतर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड सतिश श्रेष्ठले प्राप्त गरे भने नितिन थापा सर्वोत्कृष्ट म्युजिक भिडियो अवार्डबाट सम्मानित भए ।
यसैगरी, सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकारको अवार्ड अनिल के मानन्धर र सर्वोत्कृष्ट भिडियो सम्पादनको अवार्ड टेकेन्द्र शाहले प्राप्त गरे ।
यस्तै, ईमेज अवार्डमा गीत–संगीतको क्षेत्रमा योगदान पुर्याउने एकजना कालजयी श्रष्टालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने परिपाटीअनुसार यस वर्ष सर्जक एवं वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटालाई सम्मान गरिएको छ ।
साढे ४ दशकदेखि सांगीतिक क्षेत्रमा रहेका बाँस्कोटाले साढे तीन सय चलचित्रमा संगीत दिएका छन् । उनलाई एक लाख रुपैयाँसहित सम्मान गरिएको हो ।
२०३० सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड भएसँगै उनी निरन्तर अगाडि बढेका छन् ।
नेपाली गीत–संगीतको उत्थान गर्ने उद्देश्यले हरेक वर्ष गरिँदै आएको ईमेज अवार्ड संगीतमै समर्पित संगीतकर्मीहरुको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्ने गरिएको छ ।
२०७२ साल असार १ गतेदेखि २०७३ साल जेठ मसान्तसम्म आधिकारिकरुपमा प्रसारण भएका गीत–संगीतलाई १८औं ईमेज अवार्डमा समावेश गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्