११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सावधान ! तपाइँ यसरी हुनुहुन्छ सीसीटीभी क्यामेराको निगरानीमा


0
Shares

किरण भट्टराई (रासस)

काठमाडौं, असोज ८ । के तपाइँ सार्वजनिकस्थानमा गलतकार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपाइँ क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) क्यामेराको निगरानीमा हुनुहुन्छ ।

काठमाडौं उपत्यकाको अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सीसीटीभी जडान गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ ।

२४१ ठाउँमा सीसीटीभी जडान रहेकोमा अब थप ९४ स्थानमा सीसीटीभी जडान गर्ने कार्य भइरहेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रतापसिंह थापाले बताए ।

चक्रपथ क्षेत्रभित्र त्यस्ता क्यामरा राखिँदै आएकोमा अब चक्रपथबाहिर पनि विस्तार गर्न थालिएको उनले बताए । करिब रु दुई करोडको लगानीमा ती क्षेत्रमा क्यामरा जडानकार्य भइरहेको छ ।

जावलाखेल, सातदोबाटो, एकान्तकुना, बूढानिलकन्ठ र महाराजगन्जलगायत स्थानमा नयाँ क्यामेरा जडान गर्न लागिएको बताउँदै आयुक्त थापाले सीसीटीभी जडानले नागरिकलाई सार्वजनिकस्थानमा गलतकार्य नगर्न सचेत गराउने तथा कार्यक्षेत्रमा खटिएका प्रहरीलाईसमेत आफ्नो जिम्मेवारीप्रति सजग बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने विश्वास व्यक्त गरे ।

कतिपय बेला घटना घटिसकेपछि सम्बन्धित घटनाबारे सीसीटीभीको रेकर्डमार्फत् अध्ययन–अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउनसमेत यसको प्रयोग प्रभावकारी भएको उनको भनाइ छ ।

यस्ता रेकर्ड १५ दिनसम्म सुरक्षित राखिने भएकाले अनुसन्धान गर्न उपयोगी सिद्ध भएको बताउँदै आयुक्त थापाले ‘आवश्यकताअनुसार त्यस्तो फुटेज लामो समयसम्मसमेत राख्न सकिन्छ’–भने ।

नघुम्नेस्थिर क्यामरा र घुम्नसक्ने ‘पिटिजेड’ क्यामरा गरी दुई किसिमका सीसीटीभी क्यामरा जडान गरिएको छ । पुराना क्यामराको क्षमता केही कम भएपनि नयाँ जडान गरिएका क्यामरा अत्याधिक क्षमतायुक्त छन् ।

आयुक्त थापाले भने–‘कुनै व्यक्तिले कागजमा के लेखिरहेको छ भन्नेसमेत ‘जुम’ गरेर हेर्न सकिन्छ ।’

कुनै शंकास्पद गतिविधि क्यामेरामा देखिएमा तुरुन्त त्यस स्थानमा प्रहरी परिचालन गर्नेदेखि लिएर सडकको अस्तव्यस्तता र फुटपाथको अतिक्रमण हटाउनसम्मका काममा क्यामेरा सहयोगी बनेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक शरद चन्दले बताए ।

प्रहरीले सीसीटीभी क्यामरा राखेपनि ती स्थानमा क्यामरा राखिएको जानकारी सार्वजनिकरुपमा दिनुपर्नेमा त्यसो नगरेको कारण विवादको घेरामासमेत परेको छ ।

प्रवक्ता चन्दले भने–‘क्यामेरा राखेका ठाउँमा तपाइँ सीसीटीभी निगरानीमा हुनुहुन्छ भन्ने जानकारीसहितको बोर्ड लेखेर राखेका छौं तर कतियप ठाउँमा स्थान अभावका कारण जानकारी दिन नसकेको सत्य हो ।’

प्रहरीले सवारी–साधनबाट अनावश्यक रकम असुल्ने आरोप लागेका स्थान नागढुंगा, थानकोटमासमेत अत्याधुनिक क्षमतायुक्त क्यामरा राखिएको छ ।

आयुक्त कार्यालयको भूइँतल्लाको एक कोठमा उपत्यकाभरिको गतिविधि सीसीटीभीमार्फत् निगरानी गरी राखिएको छ । त्यहाँ आधादर्जनभन्दा बढी प्रहरीले २४ सै घन्टा निगरानी गरिराखेका हुन्छन् ।

आयुक्त थापाकै कार्यकक्षमासमेत ६ स्थानको सीसीटीभी राखिएको छ, जसमार्फत् उनले ती स्थानको निगरानी गरिराखेका हुन्छन् ।

थापाले भने–‘अपराध नियन्त्रण गर्न, घटना घटेपछि तुरुन्त प्रहरी परिचालन गर्न यसले सजिलो भएको छ ।’

त्यसबाहेक सार्वजनिक समारोह, पर्व, प्रदशर्नमासमेत स्थान विशेषमा सो दिनका लागि छुट्टै सीसीटीभी क्यामेरा जडान गरी प्रहरीले निगरानी गर्ने गरेको छ । क्यामराबाट ती स्थानमा खटिएका प्रहरीकोसमेत निगरानी गरिएको हुन्छ ।

प्रहरीबाहेक पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, व्यक्तिको निजी घर, निजी कार्यालय, कारखाना र टोल–टोलमासमेत व्यक्ति वा सामूहिक लगानीमा सीसीटीभी राखिएका छन् ।

विद्युत्भार कटौतीले समस्या
विद्युत्भार कटौतीले रात्रिको समयमा सीसीटीभी क्यामेराबाट काम गर्न समस्या परेको आयुक्त थापाले बताए ।

विद्युत् नहुँदा रेकर्डिङ गर्न समस्या पर्ने र अन्धकारमा खिचेको दृश्य केही नदेखिनेजस्ता चुनौतीको सामना गर्नुपरिरहेको दाबी उनको छ ।

दरबारमार्ग, बानेश्वरलगायत स्थानमा सोलार जडान गरिएका कारण सीसीटीभी सन्चालनमा समस्या नपरेपनि अरु स्थानमा ठूलो समस्या रहेको आयुक्त थापाको भनाइ छ ।